प्रहरी र सरकारी वकिलहरुको सम्मेलन हुने


प्रकाशित मिति : पुस २, २०७६ बुधबार

अनुसन्धानकर्ता प्रहरी र अभियोजनकर्ता सरकारी वकीलहरुको दोस्रो सम्मेलन पौष ४ देखि ६ गतेसम्म काठमाडौंमा आयोजना हुने भएको छ । अनुसन्धानकर्ता र अभियोजनकर्ताहरुलाई एकै ठाउँमा जम्मा गरी अपराध अनुसन्धान र अभियोजनको विद्यमान अवस्थाको समीक्षा गरी सुधारका लागि साझा दृष्टिकोण विकास गर्ने तथा कानूनको प्रभावकारी कार्यान्वयन गर्ने उद्देश्य सहित महान्यायाधिवक्ताको कार्यालय र प्रहरी प्रधान कार्यालयको संयुक्त आयोजनामा सम्मेलन गर्न लागिएको हो ।

सम्मेलनको समुद्घाटन प्रधानमन्त्री के.पी. शर्मा ओलीले गर्नेछन् भने न्याय प्रशासनसँग सम्बन्धित सबै निकायका उच्च तहका पदाधिकारीहरुको समेत उपस्थिति रहनेछ । बुधबार आयोजित पत्रकार सम्मेलनमा महान्यायाधिवक्ता अग्नि प्रसाद खरेलले फौजदारी न्याय प्रणाली र प्रशासनसँग सम्बन्धीत सम्मेलन भएकाले न्यायीक कार्यहरुसँग जोडिएका सबै पक्षको समस्टिगत सहभागिता रहने बताए ।

सम्मेलनमा सर्वोच्च अदालतका न्यायाधिसहरुको समेत सहभागिता रहने हुँदा विद्यमान कानूनी व्यवस्था र दैनिक जीवनमा आएका घटना र समस्याहरुमाथि छलफल हुने उनले बताए । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले प्रहरी र सरकारी वकीलहरुसँग भएका कानूनी र व्यवहारीक अनुभवहरुको विश्लेषण सम्मेलनमा हुने बताए । उनले सम्मेलनबाट आगामी दिनमा गरिने अनुसन्धानलाई थप प्रभावकारी बनाउन सकिने आधारहरु आउने विश्वास समेत व्यक्त गरे ।

तीन दिन सम्म सञ्चालन हुने सम्मेलनमा ३ सय २० जना अनुसन्धानकर्ता प्रहरी अधिकृतहरु, २ सय ७० जना अभियोजनकर्ता सरकारी वकिलहरु र ३५ जना पर्यवेक्षकहरु सहित ६ सय २५ जनाको सहभागिता रहनेछ । सम्मेलनमा मुलुकी अपराध संहिताको कार्यान्वयनको अवस्था, मुलुकी फौजदारी कार्यविधि संहिताको कार्यान्वयनको अवस्था, अपराध अनुसन्धान तथा नियन्त्रण कार्ययोजना कार्यान्वयनको अवस्था लगायतका विषयमाथि छलफल हुने छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com