धानको मूल्य निर्धारण १० प्रतिशतले बढ्यो


प्रकाशित मिति : मंसिर २१, २०७६ शनिबार

सरकारले यस वर्ष किसानबाट धान खरीद गर्न बजार भाउभन्दा करिब १० प्रतिशत बढी समर्थन मूल्य निर्धारण गरेको छ । मूल्य निर्धारणसँगै यसपालि वीरगञ्ज महानगरपालिका–२४ बहुअरीका किसान कपिलदेव यादवले खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड वीरगञ्ज शाखालाई धान बेच्ने सोच बनाएका छन् ।

यसपालि सरकारले किसानबाट धान खरीद गर्ने मूल्य निजीस्तरका गल्ला व्यापारीभन्दा बढी राखेकाले खाद्य व्यवस्था तथा व्यापार कम्पनी वीरगञ्जस्थित कार्यालयमा धान बेच्ने किसानको लर्को लागेको छ । बजार भाउभन्दा प्रतिक्विन्टल ३७३ रुपैयाँ १६ पैसा बढी मूल्यमा कम्पनीले धान खरीद गर्ने भएपछि धान बेच्न कार्यालयमा आएको अर्का किसान शेषमन पण्डितको भनाइ छ । “धान बोकेर गोरुगाडा, ट्र्याक्टरसहित किसान एकाबिहानै कार्यालयमा आइपुग्ने गरेकाले कार्यालय परिसरमै धान खरीद गर्न थालिएको छ”, शाखा प्रमुख नरनाथ अधिकारीले भने, “यस वर्ष राम्रो मूल्य पाएकै कारण सोचेभन्दा धेरै बढी किसान आउने गरेका छन् ।”

सरकारले यस वर्ष सोना मन्सुली धान प्रतिक्विन्टल दुई हजार ६७३ रुपैयाँ १६ पैसा र जिरा मसिनो धान प्रतिक्विन्टल तीन हजार २० रुपैयाँमा खरीद गर्ने मूल्य तोकेको छ । यस वर्ष सोना मन्सुली १५ हजार तथा जिरा मसिनो धान पाँच हजार गरी २० हजार क्विन्टल धान खरीद गर्ने लक्ष्य राखेकामा बुधबारसम्म सोना मन्सुली धान २६१ क्विन्टल ९६ केजी तथा जिरा मसिनो धान पाँच क्विन्टल ८५ केजी खरीद गरिसकेको कार्यालयका वरिष्ठ सहायक मुनिलाल कुशवाहाले बताए । सरकारले यस वर्ष धान खरीदको मूल्य बढाएपछि बारा तथा पर्साका किसान धान बेच्न सो कार्यालयमा आउने गरेका छन् ।

व्यापारीको धानमा मिसावट हुने गरेको तथा किसानको धानमा मिसावट नभएको पाइएकाले कार्यालयले किसानको धान मात्र खरीद गर्ने गरेको छ । कम्पनीको वीरगञ्ज कार्यालयले ठाउँठाउँमा धान खरीद गर्ने व्यवस्था नगर्दा ग्रामीण क्षेत्रबाट धान बिक्री गर्न आउने किसानलाई ट्राफिक प्रहरीबाट सास्ती भोग्नु परेकोले ठाउँठाउँमा काटा राख्नुपर्ने पर्सा हरिहरपुर विर्ताका किसान सञ्जयप्रसाद कुर्मीको भनाइ छ । कार्यालयले चालू आव २०७५/०७६ मा १५ हजार क्विन्टल धान खरीद गर्ने लक्ष्य लिएकामा २४ हजार ५८७ क्विन्टल धान खरीद गरेको थियो । कार्यालयले आव २०७४/०७५ मा रु आठ करोड २५ लाख मूल्य बराबरको तीन हजार मेट्रिक टन सोनामन्सुली र जिरा मसिनो धान खरीद गरेको थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अमेरिकी सरकारले एक हजार मेट्रिक टन धान भण्डारण गर्ने क्षमताको एउटा गोदाम बनाएपछि कार्यालयसँग धान भण्डारण गर्ने चार हजार मेट्रिक टन क्षमताको पाँच वटा गोदाम रहेको छ । कार्यालयसँग अहिले अघिल्लो वर्षको सोनामंसुली, जिरा र जापानी चामल गरि १ हजार ९ सय क्विन्टल ३३ केजी सोना मन्सुली चामल मौज्दात अवस्थामा छ । कार्यालयले धान खरीद गरी उत्पादन गर्ने चामल आवश्यकताअनुसार गोरखा, काठमाडौँ, पोखरा, धनगढी, नेपालगञ्ज, सुर्खेत, भैरहवा, डिपोमा पठाउनुका साथै मकवानपुर, पर्सा र रौतहटमा रहेको कारागारमा पठाउने गरेको छ ।

विगत वर्षसम्म निजी क्षेत्रसँग प्रतिस्पर्धा गर्न नसक्दा कार्यालयलाई लक्ष्य पूरा गर्न धौधौ परिरहेको थियो तर यस वर्ष धानको खरीद गर्ने मूल्य सरकारले १० प्रतिशत बढाएपछि धान उत्पादक किसानले आफ्नो धान कम्पनीको कार्यालय वीरगञ्जमा ल्याएर नगदमै धान बेच्ने गरेकोले तोकिएको लक्ष्य समयमै पूरा हुने विश्वास कार्यालयले लिएको छ । पर्सा जिल्लामा यस वर्ष किसानले ४५ हजार हेक्टर क्षेत्रफलमा धानखेती गरेको जनाइएको छ ।- रासस

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com