१३ औं साग : पुरुष क्रिकेटमा नेपाल ८४ रनले विजयी


प्रकाशित मिति : मंसिर २०, २०७६ शुक्रबार

१३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) अन्तर्गत पुरुष क्रिकेटमा नेपाल विजयी भएको छ । शुक्रबार भएको तेस्रो खेलमा नेपालले माल्दिभ्सलाई ८४ रनले पराजित गरेको हो । किर्तिपुरस्थित त्रिवि मैदानमा १ सय ६४ रनको लक्ष्य पछ्याएको माल्दिभ्सले २० ओभारमा ६ विकेट गुमाएर ७९ रन बनायो ।

उसका मोहमद आजमले सर्वाधिक १७ रनको अविजित इनिङस खेल्दा मोहमद रिस्वानले १३ रन बनाए । यस्तै अलि इभानले ११ रन बनाए । माल्दिभ्सका अन्य खेलाडीले दोहोरो अंक छुन सकेनन् । नेपालले सुशन भारी र ललित राजबंशीले समान २र२ विकेट लिए । पवन सर्राफले १ विकेट हात पारे । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ७ विकेट गुमाएर १ सय ६३ रन बनायो ।

नेपालका करण केसीले अविजित रहदै सर्वाधिक ४० रन बनाए । यस्तै उपकप्तान दिपेन्द्र सिंह ऐरीले ३९, बिनोद भण्डारी र कप्तान ज्ञानेन्द्र मल्लले समान १९÷१९ रन बनाउँदा आरिफ शेखले १७, पारस खड्काले ११ र रोहित पौडेलले १० रन बनाए । माल्दिभ्सका लिम शफिगले ३ तथा अमील मौरुफले २ विकेट हात पारे ।

जितसंगै नेपालले फाइनल पुग्ने सम्भावन जिवितै राखेको छ । तीन खेलमा दुई जित हात पारेको नेपाल अंक तालिकाको तेस्रो स्थानमा रहेको छ । समान खेलमा माल्दिभ्सले भने कुनै अंक जोड्न नसक्दा एक खेल अगावै फाइनल सम्भावना समाप्त पारेको छ । टेष्ट राष्ट्र श्रीलंका यू २३ संग पराजित भएको नेपालले भुटानमाथि कीर्तिमानी जित हात पारेको थियो । फाइनल पुग्न अब अन्तिम खेलमा नेपालले बंगलादेश यू २३ लाई जित्ने पर्ने दबाब रहने छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com