कृष्णबहादुर महरालाई छुटाउन पीडित भनिएकी रोशनी उच्च अदालत


प्रकाशित मिति : मंसिर १९, २०७६ बिहीबार

जबरजस्ती करणी प्रयासको अभियोगमा जेलमा रहेका पूर्वसभामुख कृष्णबहादुर महरालाई छुटाउन पीडित भनिएकी रोशनी शाहीले उच्च अदालत पाटनमा निवेदन दर्ता गराएकी छन् । जिल्ला अदालतको थुनामा पठाउने आदेश बेरीतको भएको भन्दै महराबाटै बलात्कृत भएकी भनिएकी शाहीले हिजो उच्च अदालत पाटनमा निवेदन दिएकी हुन् ।

उच्च अदालत पाटनका रजिष्ट्रार बाबुराम दाहालका अनुसार रोशनीको सो निवेदनलाई अदालत प्रशासनले दरपीठ अर्थात दर्ता गर्न अस्वीकार गरिदिएको छ । रोशनीले निवेदनमा महराविरुद्धको जाहेरीमा आफूलाई जबर्जस्ती हस्ताक्षर गर्न लगाएको, जिल्ला अदालतले थुनामा राख्न गरेको आदेश कानुनसम्मत नभएको लगायतका कारण उल्लेख गर्दै थुनामा राख्ने आदेश बदर गर्न माग गरेकी छन् ।
निवेदनलाई प्रशासनले दरपीठ गरेपछि रोशनी दरपीठ आदेशविरुद्ध हिजो इजलासमा निवेदन दिन पुगेकी हुन् । रजिष्ट्रार दाहालका अनुसार उनको निवेदन आज इजलासमा पेश हुनेछ ।

प्रशासनले गरेको दरपीठ आदेशविरुद्ध इजलासमा निवेदन दिन सकिने कानुनी व्यवस्थालाई टेकेर रोशनीले निवेदन दिएकी हुन् । महरा स्वयमले समेत थुनामा पठाउने जिल्ला अदालतको आदेशविरुद्ध गत ५ मंसिरमा उच्च अदालत पटनमा निवेदन दिइसकेका छन् ।

जिल्ला अदालत काठमाडौंले गत १८ कात्तिकमा महरालाई बलात्कार प्रयासको अभियोगमा पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com