तिलिचो पुगेपछि एलेक्सले भन्यो – ‘म पो भाग्यमानी रहेछु !’


प्रकाशित मिति : मंसिर १८, २०७६ बुधबार

– शुभशंकर कँडेल

एलेक्सले भन्यो – ‘म पो भाग्यमानी रहेछु ।’

‘किन ?’ भन्ने मेरो प्रश्नको जबाफ पूरा नहुँदै भन्यो – ‘तिमीहरुको पनि तिलिचो लेकका लागि शायद यो नै पहिलो यात्रा होला । मेरो झण्डै दुई वर्षको नेपाल बसाई र हेलिकप्टर उडाइमा पनि मलाई अहिलेसम्म तिलिचो पुग्ने साइत जुरेको थिएन । आज तिमिहरुले गर्दा मैले पनि तिलिचो हेर्न पाउने भएँ ।’

‘त्यसमाथि तिमीले तिलिचो लेक नै ‘विश्वको सबैभन्दा अग्लो स्थानमा रहेको सबैभन्दा ठूलो ताल ‘हो भनेपछि त मेरो समेत एउटा विशेष रेकर्ड नै बन्ने भयो ।’ –  हामीलाई तिलिचो उडाउने ब्राजिलियन पाइलट एलेक्स अर्थात् एलेक्सान्द्रेको अभिव्यक्ति थियो यो ।

उनलाई मैले पछि मेरो क्यामेरामेन समेत बनाएँ क्षणिकरुपमा भएपनि ।

यो हवाई सम्वादले समेत हामीलाई कता हिमाल हेर्न छुट्ला कि भन्ने हुटहुटीका बीच हामी संसारकै अग्लो स्थानमा रहेको सबैभन्दा ठूलो ताल तिलिचो ताल पुग्यौं २०७६ मंसिर ९ गते ।

हिमालय पर्वत शृंखला अन्तर्गत नेपालको मनाङ जिल्लामा पर्ने यो ताल समुद्र सतहदेखि ४९१९ मिटर उचाईमा छ । यस तालको लम्बाई ४ किलोमिटर, चौडाइ १ दशमलव २ किलोमिटर र गहिराई करिब २०० मिटर छ ।

हिमालय पर्वत शृंखला अन्तर्गत नेपालको मुस्ताङ र मनाङ जिल्लाको अन्नपूर्ण क्षेत्रभित्र तिलिचो ताल पर्दछ । तिलिचो ठ्याक्कै भने मनाङ जिल्लामा नै पर्दछ ।

तिलिचो ताल वरिपरी तिलिचो, निलगिरी, खंग्सार तथा मुक्तिनाथ हिमाल पर्दछन् । तिलिचो हिमालको उचाई भने ७,१३४ मिटर मात्र छ ।
तिलिचो ताल विश्वको सबैभन्दा उचाईंमा रहेको मानिएका दक्षिण अमेरिकी देश पेरु तथा बोलिभियाको सिमानामा रहेको टिटीकाका ताल भन्दा ११०७ मिटर अग्लो स्थानमा रहेको छ ।

तिलिचो ताल जानको लागि काठमाडौंबाट लमजुङका बेशी शहर भएर मनाङको खाङसारसम्म गाडीमा जान सकिन्छ । तिलिचो ताल माथिल्लो मनाङ अर्थात् तिलिचोका लागि बेस क्याम्प भनिने ठाउँबाट तिलिचो ताल पुग्न ४५ किलो मिटरको दूरी पार गर्नु पर्दछ । तिलिचो तालका लागि मात्र बेशीं शहरदेखि ट्रेकिङ गरेर पुग्नका लागि हाइ अल्ट्च्यिुड एडप्ट गर्दै जानु पर्ने हुनाले ५ दिन लगाउनु राम्रो मानिन्छ ।

तिलिचो बेस क्याम्पबाट तीन घण्टाको उकालोपछि तिलिचो ताल पुग्न सकिन्छ । त्यसरी जानुको मज्जा नै विचित्र र अलौकि नै हुने गर्दछ ।

तिलिचो तालको विशेषता केवल संसारको सवैभन्दा अग्लो स्थानमा रहेको ताल मात्र होइन । तिलिचोको वरिपरि हिमाल र बीचमा सफा कञ्चन नीलो तालको मनमोहक दृश्यले मानिसहरुले कल्पना गर्ने स्वर्ग यही हो कि जस्तो बनाउनु पनि हो ।

ट्रेकिङ गरेर जाँदा जसरी गयो, त्यही तरिकाले फर्किने चलन छ । तर आकाशबाट जाँदा साँच्चिकै स्वर्गानुभूति हुन्छ । कतिवेला हिमालका काखमा त कतिवेला हिमालमाथि कहिले कुहिरो माथि त कहिले कुहिरोलाई छलेर हेलिकप्टरमा उड्दा मानिसको मनमा थोरै पनि भयको अनुभूति नै हुँदैन । हिम श्रृङ्खलामा आँखा डुलाउँदा डुलाउँदै काठमाडौंबाट ४५ मिनेटमा तिलिचो पुगिन्छ ।

तर हामी तनहुँको बन्दीपुरबाट तिलिचोका लागि उडेका थियौं । रमाइलो के भयो भने माओन्टेन एअरका ब्राजिलियन क्याप्टेन एलेक्स समेत बन्दीपुर र तिलिचो नै हामी जस्तै पहिलो पटक जाँदै रहेछन् । तर हामी भने बन्दीपुर पटक पटक गएका थियौं । उनका लागि उडान भन्दा बढी भ्रमण भइरहेको थियो हामीसँगको तिलिचो यात्रा ।

पछिल्ला दिनहरुमा तिलिचो ताल भ्रमण गर्न स्वदेशी तथा विदेशी पर्यटकहरुको समेत लहर नै चलेको छ। तर जुन मात्रामा राज्यका तर्फबाट तिचिलोको प्रचारले महत्व पाउनु पर्ने थियो पाउन सकेको छैन । राम्रो पक्ष गाडीको सुविधाले गर्दा काठमाडौं – तिलिचो यात्रा अवश्य नै छोटो तथा सहज बनाएको छ ।

हामी तीनजना गैरआवासीय नेपाली संघका सचिव तथा मित्र आरके शर्मा र कतारी मित्र मिस्टर इशा पोखराको तीन दिने भ्रमणका लागि पहिले पोखरा पुगेका थियौं । त्यहीं गएपछि अन्नपूर्ण बेस क्याम्प जाने योजना बन्यो । आजकल पोखराको मौसम रुन्चे भइरहेको रहेछ । दिनभर पनि घाम नलाग्ने अचम्मको अवस्था देखियो । त्यही पनि अघिल्लो शनिबार एबीसी जानका लागि हामी ठिक्क परेर विमानस्थलको हेलिकप्टरको गेटमा पुग्ने बेलामा टावरमा खबर आयो ।

हिमाललाई बादलले छाप्यो अब जान सकिंदैन । त्यो दिन त्यसै जाने अवस्था आएपछि हामी त्यही साँझ बन्दीपुर बास बस्न आयौं ।

त्यसको भोलिपल्ट आइतबार काठमाडौंबाट हामीलाई पिकअप गर्न हेलिकप्ट त्यहीं पुग्यो । हामी ३० मिनेटमा तिलिचो पुग्यौं । तिलिचो पुग्नु अघि हेलिमा नै बोकिएका तेलका ग्यालनबाट मनाङको हुम्दी नामक हेलिमात्र बस्न मिल्ने विमानस्थलमा रिफ्युलिङ गर्नु पर्दो रहेछ । हुम्दीबाट १२ देखि १५ मिनेटमा तिलिचो तालमा हिमश्रृंखलाको आनन्द उठाउँदै एक फन्को ताल छोइला छोइला जस्तो गरेर तालको छेउमा पुगिन्छ।
हामी पुगेका बेला गज्जब के भइदियो भने लोभलाग्दो घाम लाग्यो ।

त्यसैले तालको पानीसँग जिक्किनेदेखि हिउँसँग खेल्न पाइयो । हामीले झण्डै एक घण्टाभन्दा बढी तालको एक कुनाबाट अर्को कुनामा पुगेर वितायौं । तर परिक्रमा निकै बाक्लो हिउँ भएका कारण सम्भव भएन ।

सरकारले भिजिट ट्वान्टी ट्वान्टी घोषणा गरेका कारण हामीले पनि नेपाली, कतारी र भिजिट नेपालको तुल व्यानर तिलिचोको किनारामा राखेर क्यामेरामा कैद गर्न पायौं । जुन तपाईंहरुले देखिरहनु भएको छ ।

विश्वमै ट्रेकिङका लागि एबीसी अर्थात अन्नपूर्ण बेस क्याम्प प्रसिद्ध मानिन्छ । त्यहाँबाट पनि अघि बढेर तिलिचोको समेत अवलोकन गरेर लमजुङ फर्कने झण्डै २१ दिनको प्याकेज पनि छ । एबीसी पुग्न सबैभन्दा अग्लो र रिस्की मानिने ५७०० मिटिरको थोरङ्ला पास क्रस गर्नु पर्दछ । त्यसका तुलनामा ७०० मिटर भन्दा अलिक कमीमा छ तिलिचो ताल ।

विश्व प्रसिद्ध मानिने कैलाश पर्वतको फेदमा रहेको मानसरोवर ताल ४,६५० मिटरको मात्र उचाइमा पर्दछ । मानसरोवर भन्दा तिलिचो ताल झण्डै ३ सय मिटर अग्लो उचाइमा रहेको छ ।

नेपाल यस्तो भाग्यामानी र प्राकृतिक रुपमा बरदान प्राप्त देश हो कि नेपालमा नै सबैभन्दा अग्लो हिमाल माउन्ट एभरेष्ट छ भने सबैभन्दा अग्लो ताल तिलिचो पनि छ । अझ विेशषेत संसारकै ८ हजार मिटरभन्दा अग्ला १५ वटा हिमालमध्ये सबैभन्दा अग्लो माउन्ट एभरेष्ट सहित ८ वटा हिमाल नेपालमा नै पर्दछन् । त्यसैमध्येको अन्नुपूर्ण हिमाल पनि एक हो । अन्नपूर्ण हिमालको उचाई ८,०९१ मिटर रहेको छ । यो विश्वकै दशौं तहको अग्लो हिमाल हो । त्यसकै काखमै भने पनि हुने स्थानमा तिलिचो ताल रहेको छ अरु चारवटा हिमालले घेरिएर ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com