न्युयोर्क र न्युजर्सी लगायतका राज्यमा सलाद संक्रमित, १७ बिरामी, २ को किड्नी फेल


प्रकाशित मिति : मंसिर ६, २०७६ शुक्रबार

अमेरिकाको न्युजर्सीमा रहेको एउटा खाद्य कम्पनीले वितरण गरेको सलादमा ब्याक्टेरिया संक्रमण भएको पाइएपछि झण्डै ७५ हजार पाउण्ड सलाद फिर्ता गरिएको छ । उक्त कम्पनीले विभिन्न २२ वटा राज्यमा सलाद वितरण गरेको थियो भने सलाद खाएका कारण १७ जना बिरामी भएका छन् ।

सलाद खाएका कारण इकोलीको महामारी फैलिएपछि सलाद फिर्ता गर्नु परेको अमेरिकी सरकारको कृषि मन्त्रालयले जनाएको छ । स्वीडेसबोरोको मिसा बे एलएलसी नामको कम्पनीले सप्लाई गरेको प्याक गरेको सलादमा समस्ष देखिएको हो । उक्त सलाद टार्गेट, अल्दी र वालमार्ट लगायतका स्टोरमा बिक्रि गरिएको थियो ।

बिरामी हुनेहरुमा विभिन्न ८ राज्यका १७ जना छन्, जसमा तीनबर्षका बालक समेत छन् । सातजनालाई अस्पतालमा नै भर्ना गरिएको छ भने दुईजनाको मृगौलाले काम नगर्ने अवस्था श्रृजना भएको जनाइएको छ ।

मेरिल्याण्डमा २ जना अस्पताल भर्ना हुनु अगाडि मिसा बेले उत्पादन गरेको चिकेन शिजर सलाद खाएका थिए । बिरामीहरुको घरबाट संकलन गरिएका सलादका नमुनाहरु परिक्षण गर्दा इकोली भेटिएको थियो ।

उक्त संक्रमित सलाद अलाबामा, कनेक्टिकट, फ्लोरिडा, जर्जिया, इलिनोय, इन्डियाना, लुजियाना, मेन, मेरिल्याण्ड, मासाचुसेट्स, मिसिगन, मिनेसोटा, मिसिसिपी , मिजौरी, न्युजर्सी, न्युयोर्क, नर्थ क्यारोलिना, ओहायो, पेन्सिलभेनिया, साउथ क्यारोलिना, भर्जिनिया र विसकन्सिनका स्टोरहरुमा बिक्रिका लागि वितरण गरिएको थियो ।

इकोलीको संक्रमण भएमा बान्ता हुने, रिंगटा लाग्ने, पेट दुख्ने, ज्वरो आउने हुनेगर्छ । यदि कोही ग्राहकले उक्त सलाद किन्नुभएकोमा भएमा नखान, फिर्ता गर्न वा फ्याक्न सुझाव दिइएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com