टेक्सासको पुनरावेदनले रोक्यो नोभेम्बर २० मा तय रिडको मृत्युदण्ड, निर्दोष रहेको दावी पुनरावलोकन गरिने


प्रकाशित मिति : मंसिर २, २०७६ सोमबार

अमेरिकाको टेक्सस राज्यस्थित राज्यको अपिल कोर्टले हत्याको अभियोगमा दोषी ठहर भएर २१ वर्षअघि सजाय सुनाइएका एक व्यक्तिको मृत्युदण्ड अन्तिम समयमा रोकिदिएको छ।  सन् १९९६ मा एउटी युवतीको हत्या गरेको भन्दै रोड्नी रीडलाई मृत्युदण्डको फैसला सुनाइएको थियो। उनलाई त्यति बेलादेखि नै मृत्युदण्डको पालोमा राखिएको थियो।

साथै पुनरावेदन अदालतले आफू निर्दोष रहेको तथा आफूलाई फसाउन राज्यले गलत प्रमाणहरु पेश गरेको भन्दै रिडले गरेको दावीबारे विचार गर्न तल्लो अदालतलाई अनुमति समेत प्रदान गरेको छ । उनलाई आगामी नोभेम्बर २० मा विषालु सुई दिएर मृत्युदण्ड दिने योजना थियो। उनलाई मृत्युदण्ड दिने कुराले अमेरिकामा ठूलो चासो व्यक्त भएको थियो।

उनन्तीस लाखभन्दा बढी मानिसले उनलाई क्षमादान दिन याचना गरेका थिए। विभिन्न चर्चित व्यक्तिहरूले पनि उनको जीवनरक्षाका लागि बोलेका थिए।रीडले आफू निर्दोष भएको बताउँदै आएका छन्। उनका वकिलका अनुसार नयाँ प्रमाणहरूले उनले अपराध नगरेको पुष्टि गर्छन्।

रीडलाई सुनाइएको मृत्युदण्ड १२० दिन थाँती राखिने निर्णय अदालतले गरेको छ। तर मृत्युदण्डको सजायलाई आजीवन कारावासमा परिवर्तन गर्न उनले गरेको निवेदनलाई उक्त बोर्डले अस्वीकार गरिदिएको छ।

सन् १९९६ को एप्रिल २३ को बिहानै १९ वर्षीया स्टेसी स्टाइट्स टेक्सासको अस्टिननजिकै मृत अवस्थामा भेटिएकी थिइन् भने उनकै पेटी प्रयोग गरी घाँटी थिचेर उनको हत्या भएको थियो।उक्त हत्याको दोष रिडमाथि लगाइएको थियो ।

अनुसन्धानकर्ताहरूले उनको योनिमा अतिन्यून मात्रामा वीर्य भेटिएको बताएका थिए। त्यो वीर्य रीडको रहेको बताइएको थियो। यौन दुर्व्यवहारसम्बन्धी एउटा फरक मुद्दामा परिसकेका कारण प्रहरीसँग उनको डीएनए थियो। त्यो पुरानो घटनामा उनी निर्दोष साबित भएका थिए। रीडले स्टाइट्ससँग आफ्नो गोप्य रूपमा सम्बन्धमा रहेको दाबी गरेका थिए।

स्टाइट्सले प्रयोग गरेको ट्रकमा रीडको औँठाछाप फेला परेको थिएन। शुक्राणुका कारण उनीविरुद्ध मुद्दा चलाइएको थियो। हत्याको एक दिनअघि आफूहरूबीच सहमतिमै यौन सम्पर्क भएको उनले बताएका थिए।

तर सुनुवाइका क्रममा विज्ञहरूले स्टाइट्सको शरीरमा त्यति लामो समयसम्म शुक्राणु रहन नसक्ने तर्क गरेका थिए । उनीहरूले स्टाइट्सको बलात्कार गरिएको र त्यसपछि हत्या भएको हुन सक्ने आफूलाई लागेको बताएका थिए। त्यसैका आधारमा अश्वेत वर्णका रीडलाई दोषी ठहर गरिएको थियो। मुद्दा हेर्ने जुरीका सबै सदस्य श्वेत वर्णका थिए।

पहिला विज्ञका रूपमा साक्षी बसेका रोबर्टो बायार्डोले एउटा विज्ञप्तिमा मृत्यु भएको केही दिनसम्म योनिमा शुक्राणु जीवित रहन सक्ने आधार देखिएको बताएपछि अहिले रीडका वकिलले अहिले नयाँ प्रमाण पेस गरेका छन्। त्यसैले स्टाइट्स र रीडबीच सहमतिमा यौन सम्पर्क भएको भन्नुबाहेक अन्य कुराको प्रमाण नपुग्ने उनले बताएका छन्।

स्टाइट्सको एक पूर्वप्रहरी जिमी फेनलसँग विवाह हुन कुरा छिनिएको र फेनलले यदि आफ्नी प्रेमिकाले धोका दिएको थाहा पाए घाँटी थिचेर मारिदिने बताएको बयानहरु आएका छन् । अर्की महिलाको अपहरण र यौन शोषण गरेको अभियोगमा जेल परेका बेलामा फेनलसँग जेलमा बसेका एक व्यक्तिलाई अहिले नयाँ साक्षीका रूपमा प्रस्तुत गरिँदैछ।

जेलमा हुँदा फेनलले आफ्नी प्रेमिकाले अर्का पुरुषसँग सम्बन्ध राखेका कारण हत्या गरेको आफूलाई बताएको उनको दाबी छ। तर फेनलका वकिलले भने उक्त दाबी असत्य भएको बताएका छन्।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com