कस्तो छ राष्ट्रपति ट्रम्पको स्वास्थ्य ? रक्तचाप : ११८ /८०, तौल २४३ पाउण्ड, कोलेस्ट्रोल उच्च


प्रकाशित मिति : मंसिर २, २०७६ सोमबार

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प शनिबार पूर्वतालिका विना नै अस्पताल गएपछि उनको स्वास्थ्यबारे टिकाटिप्पणी भइरहेको छ । वाल्टर रिड अस्पतालमा स्वास्थ्य परिक्षण र ल्याब टेस्ट गरिएको तर राष्ट्रपतिको स्वास्थ्य एकदम राम्रो रहेको ह्वाइटहाउसले जनाएको छ ।

तर ७३ बर्षका राष्ट्रपति ट्रम्पको स्वास्थ्यको बारेमा ह्वाइटहाउसको भनाई विश्वास गरिहाल्ने अवस्था भने नभएको विश्लेषण गरिएको छ । विगतमा चुनावमा बेलामा ट्रम्पले तयार पारेको स्वास्थ्य रिपोर्ट कुनै चिकित्सकले नभई आफैले तयार पारेको पुष्टी भएको थियो ।

ट्रम्पको शनिबारको स्वास्थ्य परिक्षण नियमित वार्षिक स्वास्थ्य परिक्षण भएको बताइएको छ । यसअगाडि गत फरबरीमा उनको स्वास्थ्य परिक्षण गरिएको थियो । त्यतीबेला उनको तौल २४३ पाउण्ड पुगेको थियो । उनको रक्तचाप भने ११८ /८० रहेको थियो ।

सन् २०१८ का परिक्षणहरुमा ट्रम्पमा साधारण खालको मुटुरोग र कोलेस्ट्रोलको मात्रा उच्च देखिएको थियो । त्यतीबेला डाक्टर सञ्जय गुप्ताले राष्ट्रपतिमा ३ देखि ५ बर्षको बीचमा सामान्यखालको हृदयघात हुनसक्ने जोखिमबारे उल्लेख गरेका थिए ।

ट्रम्पका चिकित्सक रोनी ज्याक्सनले सन् २०१८ मा ट्रम्पले आहारविहारमा ध्यान दिन र खानपानमा परिवर्तन ल्याउन सुझाव दिएका थिए । साथै नियमित व्यायामका लागि पनि सुझाव दिएका थिए ।

श्रोतका अनुशार एकवर्षपछि ट्रम्पले खाना र व्यायाममा सामान्य परिवर्तन गरेका थिए । तर त्यसलाई नियमित रुपमा भने नगरेको ट्रम्पले स्वीकार गरेको ह्वाइटहाउसका कर्मचारीले बताएका छन् ।

शनिबारको ट्रम्पको अस्पताल भ्रमणका क्रममा अस्पतालका कर्मचारीहरुलाई भीआईपी बिरामी आउँदै गरेकोबारे जानकारी गराइएको थिएन ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com