पपायेज चिकेन स्याण्डवीच क्रेज : कतै हानाहान, स्याण्डवीच सकिएपछि रेष्टुरेण्टबिरुद्ध मुद्दा
प्रकाशित मिति : कार्तिक ३०, २०७६ शनिबार

अमेरिकामा पपायेज चिकेनले अत्यन्तै चर्चित चिकेन स्याण्डवीच सुरुवात गरेपछि त्यसले बढेको क्रेजका कारण कतै हानाहान भएका छन् त कतै स्याण्डवीच आउट अफ स्टक हुँदा ग्राहकले रेष्टुरेण्टबिरुद्ध नै मुद्दा दायर गरेका छन् । दक्षिणी क्यालिफोर्नियामा पपायेज चिकेनको ड्राइभ थु्रमा एकघण्टाभन्दा लामो लाइनमा बस्नुपरेपछि ग्राहकहरुबीच हानाहान नै भएको छ ।
झ्यालमा एकजना ग्राहकले आफूले अर्डर गरेको खानेकुरा गलत भएको भन्दै रेष्टुरेण्टका कर्मचारीसँग तर्क गरिरहेका थिए । कर्मचारीले उनलाई रेष्टुरेण्टभित्र आउन आग्रह गरेका थिए । त्यहीबेला झण्डै १ घण्टादेखि लाइनमा बसेको कारले हर्न बजाउन थालेको थियो ।
त्यसपछि उनीहरु कारबाहिर निस्केर बाझाबाझमात्र गरेनन्, हातै हालाहाल गरे । केहीबेरमा प्रहरी घटनास्थलमा पुगेपछि लडाई साम्य भएको थियो ।
अमेरिकामा पपायेज चिकेनले सुरुवात गरेको स्याण्डवीचका कारण कैयन घटना भएका छन् । हालै टेक्सासका एकजना व्यक्तिले रेष्टुरेण्टमा चिकेन स्याण्डवीच सोल्ड आउट भएपछि कर्मचारीलाई बन्दुक देखाएका थिए । घटनास्थलमा तत्काल प्रहरी पुगेकाले कुनै अप्रिय घटना भने हुन पाएन ।
पपायेज चिकेनको गत अगस्तमा नयाँ स्याण्डवीच सुरुवात गरेको थियो । तर उच्च मागका कारण तत्काल देशभर सोल्डआउट भएको थियो । उक्त स्याण्डवीच नोभेम्बर ३ देखि पुन बिक्रि गर्न थालिएको छ ।
चिकेन सोल्डआउट भएपछि टेनिसीका एकजना ग्राहकले आफूले चिकेन नपाएको भन्दै रेष्टुरेण्टबिरुद्ध नै मुद्दा दायर गरेकाथिए । उनले ५ हजार डलर क्षतिपूर्तिको माग गर्दै मुद्दा दायर गरेका थिए । उनले स्याण्डवीचका लागि विभिन्न ठाउँ चहार्दा १५ सय डलरको रिम र टायर क्षति भएको बताएका थिए ।
उक्त चिकेन स्याण्डवीच खानका लागि लाइनमा बसेको बेलामा मेरिल्याण्डमा एकजनालाई चक्कु प्रहार गरिएको थियो । अक्सन हिलमा स्याण्डवीच किन्न लाइनमा बसेको बेलामा लाइन मिच्दा भएको झगडामा चक्कु हानिएको थियो । चक्कु हान्ने व्यक्तिलाई बिहिबार प्रहरीले नियन्त्रणमा लिएको छ ।
न्युजर्सीमा पपायेज चिकेनको स्याण्डवीच किन्नका लागि ड्राइभ थु्रमा लामो लाइन लागेपछि बाटो नै जाम हुँदा रेष्टुरेण्टले सुचना नै टाँस्नु परेको छ । एउटा स्याण्डवीचका कारण टिकट नखानुहोला भन्ने सुचना रेष्टुरेण्टले नै टाँसेपछि प्रहरीले त्यसको प्रशंसा गरेको छ ।
पपायेज चिकेनको स्याण्डवीच किन्न लामो लाइन लाग्नुपर्दा र चिकेन सोल्ड आउट हुँदा फ्लोरिडा लगायतका क्षेत्रमा पनि झगडाहरु भएका भिडियोहरु सार्वजनिक भएका छन् । यसैबीच कामदारको अभाव भएको भन्दै एकजना ९ बर्षीय बालकलाई पपायेज चिकेनमा काममा लगाइएको भिडियो समेत सार्वजनिक भएको छ ।
शुक्रबारमात्र एकजना जेलभित्र रहेका कैदीले पपायेज चिकेनको स्याण्डवीच खाएको फोटो भाइरल भएको थियो । जेलभित्र कसरी स्याण्डवीच पुग्यो र कसरी फोटो खिचेर हालियो भन्ने विषयले सामाजिक सञ्जाल तातेको थियो ।