ट्रम्पबिरुद्धको महाअभियोग अनुसन्धान सुनुवाईमा युक्रेनका लागि पूर्व अमेरिकी राजदूतको बयान


प्रकाशित मिति : कार्तिक २९, २०७६ शुक्रबार

अमेरिकी संसदको तल्लो सदन प्रतिनिधिसभाकाले गरेको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबिरुद्धको महाअभियोग अनुसन्धानको आजको सुनुवाईमा युक्रेनका लागि पूर्व अमेरिकी राजदूत म्यारी योभानोवीचको बयान लिइएको छ । उनी युक्रेनबाट फिर्ता बोलाइएकी अमेरिकी राजदूत हुन् । उनको प्रतिष्ठामा आँच ल्याउनका लागि ट्रम्पका नीजि वकिल रुडी गिलानीले अभियान संचालन गरेपछि योभानोवीचलाई फिर्ता बोलाइएको थियो ।

सुनुवाईका क्रममा योभानोवीचले आफूलाई ट्रम्प र विदेशमन्त्री माइक पम्पिओले फिर्ता बोलाउनुको कारण आफूलाई थाहा नभएको बताएकी छिन् । टेक्सासका डेमोक्र्याट्स जोक्वीन क्यास्ट्रोको प्रश्नको जवाफ दिदै उनलाई आफूलाई फिर्ता बोलाउनुको कारणबारे ट्रम्प, ह्वाइट हाउसका कुनै कर्मचारी वा विदेशमन्त्री कसैले पनि केही नभनेको बताएकी छिन् ।

तर उनले विदेशमन्त्री माइक पम्पिओले युक्रेनको राजदूतको पदमा राख्नका लागि सकेजति प्रयास गरेको बताएकी छिन् । राष्ट्रपतिसँग मलाई फिर्ता बोलाउने अधिकार भएपनि मेरो प्रतिष्ठामा आँच ल्याउन जरुरी थियो ? पूर्व राजदूत योभानोवीचले प्रश्न गरिन् ।

उच्च अमेरिकी कुटनीतिज्ञ जर्ज केन्टले बुधबारको सुनुवाईको क्रममा बयान दिएकोमा त्यसका लागि उनलाई कसैले पैसा तिरेको थियो कि भनेर रिपब्लिकन सांसद माइन कोनावेले पूर्वराजदूत योभानोवीचलाई सोधेकोमा उनले त्यस्तो नभएको बताएकी छिन् । आजको सुनुवाई पनि अमेरिकाका मुख्य मिडियाहरुले लाइभ प्रशारण गरिरहेका छन् ।

यसअगाडि बुधबार टेलिभिजनहरुमा लाइभ प्रशारण गरिएको सुनुवाईमा युक्रेनका लागि कार्यवाहक राजदूत बिल टेलरले आफ्ना एकजना कर्मचारीले राष्ट्रपति ट्रम्पबाट जो बाइडेनबारे अनुसन्धानका लागि सोधपुछ गरेको फोन कल सुनेको बताएका थिए ।

उक्त फोन कल युरोपियन युनियनकालागि अमेरिकी राजदूत गोर्डन सोनल्याण्डसँगको थियो । गोर्डनले किभको एउटा रेष्टुरेण्टबाट डोनाल्ड ट्रम्पसँगको कुराकानीमा युक्रेनियनहरु अगाडि बढ्नका लागि तयार रहेको बताएका थिए । उक्त फोनकल सुनेका कर्मचारीले गोर्डनलाई युक्रेनका बारेमा ट्रम्पको सोंचबारे सोधेका थिए ।

ती कर्मचारीलाई जवाफ दिदै गोर्डनले राष्ट्रपति ट्रम्पले बाइडेनको अनुसन्धानबारे चासो राखेको बताएका थिए । यसैबीच रेष्टुरेण्टबाट गरिएको फोनकलको सुरक्षाको विषयमा पर्यवेक्षकहरु र पूर्व अधिकारीहरुले सचेत गराउँदै रसियन खुफियाहरुले फोनकल सार्वजनिक गर्नसक्नेबारे चेतावनी दिएका थिए ।

हालै राजदूत गोर्डन सोनल्याण्डबारे ट्रम्पलाई सोधिएकोमा ट्रम्पले भने अफूले गोर्डनलाई मुस्किलले चिन्ने बताएका थिए । आफूलाई त्योबारे कुनै कुरा थाहा नभएको र यस्तो कुरा पहिलोपटक सुनेको ट्रम्पले बताएका थिए । ट्रम्पले आफूलाई त्यस्तो फोनकलबारे कुनै याद नभएको बताएका थिए । आगामी साताको सुनुवाईमा गोर्डन सोनल्याण्डलाई नै उपस्थीत गराइने भएको छ ।

बुधबारको सुनुवाईमा अर्का उच्च कुटनीतिज्ञ जर्ज केन्टसँग समेत बयान लिइएको थियो । उनले ट्रम्पका नीजि वकिल रुडी गिलानीले युक्रेनका लागि अमेरिकी राजदूत मेरी योभानोवीचको बदनाम गर्न अभियान चलाएको बताएका थिए । योभानोवीचलाई युक्रेनबाट फिर्ता बोलाउनु अगाडि यस्तो अभियान चलाइएको केन्टको भनाई छ ।

महाअभियोग अनुसन्धानको केन्द्रमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत जुलाईमा युक्रेनका राष्ट्रपतिलाई फोन गरेर जो बाइडेनबारे अनुसन्धान गर्न दवाव दिएको विषय रहेको छ ।

अमेरिकी इतिहासमा महाअभियोग छानविनको सार्वजनिक सुनुवाईको टेलिभिजनबाट प्रत्यक्ष प्रशारण गरिएको यो नै पहिलोपटक भने होइन । राष्ट्रपति रिचर्ड निक्सन र बिल क्लिन्टनबिरुद्धको महाअभियोग छानविनको पनि टेलिभिजनमा प्रत्यक्ष प्रशारण गरिएको थियो । ट्रम्पबिरुद्धको महाअभियोग छानविनको सन्दर्भको प्रत्यक्ष प्रशारण अमेरिकी इतिहासमा तेश्रो हो ।

रिपब्लिकन र डेमोक्र्याट दुवै पक्षले यो प्रक्रियाभरि उत्तेजक भाषा प्रयोग गर्दै आएका छन्। रिपब्लिकनहरूले ट्रम्पले कार्यभार सम्हालेकै दिनदेखि उनलाई कू गर्ने प्रयास गरेको आरोप डेमोक्र्याटहरूमाथि लगाएका छन्।

संसद्‌को तल्लो सदनको जासुसीसम्बन्धी समितिका अध्यक्ष डेमोक्र्याटिक नेता एडम शिफले यसअघि ट्रम्पले युक्रेनी नेता भोलोदिमिर जेलेन्स्कीबीचको फोन संवादलाई परम्परागत गुन्डाहरूबीच भएको कुराकानीको सङ्ज्ञा दिएका थिए। सुनुवाइमा संलग्न उक्त समितिका रिपब्लिकन सदस्य एरिक साल्वेलले त्यस्तै भाषा प्रयोग गरेका थिए ।

महाभियोग कंग्रेसले राष्ट्रपतिलाई पदबाट हटाउन सक्ने दुईवटा राजनीतिक प्रक्रियाको पहिलो भाग हो। यदि तल्लो सदनले महाभियोग प्रस्ताव पारित गरेमा त्यसमा माथिल्लो सदनले सुनुवाइ गर्नुपर्ने बाध्यता हुनेछ। तर माथिल्लो सदनमा त्यो पारित गर्न दुईतिहाइ बहुमत आवश्यक पर्नेछ।

यो मुद्दामा ट्रम्पको दलको पकड रहेको उक्त सदनबाट त्यो पारित हुने सम्भावना कमजोर देखिन्छ। केवल दुई राष्ट्रपतिलाई अमेरिकाको इतिहासमा महाभियोग लगाइएको थियो। तर दुवै जनाविरुद्ध न अभियोग पुष्टि भयो न उनीहरू पदमुक्त भए।

ट्रम्पबिरुद्धको महाअभियोगको मामला हजारौं पृष्ठका बयानहरु र घण्टौंका सार्वजनिक जटिल भएको छ । धेरै अमेरिकीहरूलाई युक्रेनको सहभागिताबारे जानकारी छैनभने डेमोक्र्याटहरुले यो विषय पाच्य बनाउन थप संघर्ष गर्नुपर्ने देखिन्छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com