ट्रम्पबिरुद्धको महाअभियोग छानविन सुनुवाई : कुटनीतिज्ञ केन्टपछि टेलर बोल्दै (लाइभ)


प्रकाशित मिति : कार्तिक २७, २०७६ बुधबार

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबिरुद्धको महाअभियोग छानविनबारेको संसदीय सार्वजनिक सुनुवाईमा अमेरिकी विदेशमन्त्रालयका डेपुटी एसिस्टेन्ट सेक्रेटरी जर्ज केन्टले प्रारम्भिक मन्तब्य दिएपछि युक्रेनका लागि कार्यवाहक अमेरिकी राजदूत बिल टेलरले आफ्नो प्रारम्भिक मन्तब्य दिइरहेका छन् । यसअगाडि प्रतिनिधिसभाको अनुसन्धान समितिका अध्यक्ष आदम सिफले सुरुवाती मन्तब्य दिएका थिए भने त्यसपछि रिपब्लिकन सांसद डेभिड नुन्सले बोलेका थिए ।

अमेरिकी संसदको प्रतिनिधिसभाको छानविन समितिले गरेको सुनुवाई अमेरिकामा प्रमुख टेलिभिजनहरुले प्रत्यक्ष प्रशारण गरिरहेका छन् ।
एबीसी, सीएनएन, फक्स, एमएसएनबीसी ,सीबीएस, एनबीसी र पीबीएस लगायतका टेलिभिजन च्यानलले विभिन्न प्लेटफर्महरुमार्फत छानविनको प्रत्यक्ष प्रशारण गरिरहेका छन् । महाअभियोग अनुसन्धानको सार्वजनिक सुनुवाईमा युक्रेनका लागि कार्यवाहक अमेरिकी राजदूत र अमेरिकी विदेशमन्त्रालयका डेपुटी एसिस्टेन्ट सेक्रेटरी जर्ज केन्टको बयान लिइदै छ ।

आजको सार्वजनिक सुनुवाईपछि अर्को सुनुवाई नोभेम्बर १५ तारिख शुक्रबार गर्ने जनाइएको छ । अनुसन्धानको केन्द्रमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत जुलाईमा युक्रेनका राष्ट्रपतिलाई फोन गरेर जो बाइडेनबारे अनुसन्धान गर्न दवाव दिएको विषय रहेको छ ।

अमेरिकी इतिहासमा महाअभियोग छानविनको सार्वजनिक सुनुवाईको टेलिभिजनबाट प्रत्यक्ष प्रशारण गरिएको यो नै पहिलोपटक भने होइन । राष्ट्रपति रिचर्ड निक्सन र बिल क्लिन्टनबिरुद्धको महाअभियोग छानविनको पनि टेलिभिजनमा प्रत्यक्ष प्रशारण गरिएको थियो । ट्रम्पबिरुद्धको महाअभियोग छानविनको सन्दर्भको प्रत्यक्ष प्रशारण अमेरिकी इतिहासमा तेश्रो हो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com