इराकलाई सुचीबाट हटाउँदै ट्रम्पले गरे नयाँ कार्यकारी आदेशमा हस्ताक्षर


प्रकाशित मिति : फाल्गुन २३, २०७३ सोमबार

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आज पुरानो सुचीबाट इराकलाई हटाउँदै यात्रा प्रतिबन्ध लगाउने नयाँ कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन् ।

नयाँ कार्यकारी आदेशले सिरिया, इरान, लिबिया, सुडान, यमन र सोमालियाका नागरिकलाई ९० दिनसम्म अमेरिकी भिसामा प्रतिबन्ध लगाइएको छ । यसअघि अदालतले कार्यान्वयनमा रोक लगाएको कार्यकारी आदेशमा इराक समेत भिसा प्रतिबन्ध लगाइएको मुलुकमा थियो ।

नयाँ कार्यकारी आदेश अनुशार अमेरिकाको शरणार्थी कार्यक्रम १२० दिनका लागि खारेज गरिएको छ भने बर्षमा ५० हजार भन्दा धेरै शरणार्थी स्वीकार नगर्नेगरी सिमाबन्दी तोकिएको छ । यसअगाडि ओबामा प्रशासनले १ लाख १० हजारको सिमाबन्दी तोकेको थियो ।

ट्रम्पको नयाँ कार्यकारी आदेश मार्च १६ बाट लागु हुनेछ ।

यो कार्यकारी आदेश केहीदिन अगाडि नै हस्ताक्षर हुने अपेक्षा गरिएको थियो । तर इराकमाथिको प्रतिबन्ध हटाउने वा नहटाउने भन्ने विषयमा पुनरावलोकनका लागि केही समय लागेको बताइएको छ ।

नयाँ कार्यकारी आदेशले अमेरिकाको ग्रिनकार्ड लिइसकेकाहरुलाई कुनै प्रभाव पार्नेछैन । ट्रम्पले नयाँ कार्यकारी आदेशमार्फत यात्रा प्रतिबन्ध लगाउने पुरानो आदेश फिर्ता लिएका छन् । नयाँ आदेश पूर्वीय समय अनुशार मार्च १५ को मध्यरातपछि मार्च १६ सुरु हुनासाथ लागु हुनेछ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com