आयो आक्रमक नियम, अमेरिकामा नक्कली एसाइलम गर्नेलाई निशाना


प्रकाशित मिति : फाल्गुन १०, २०७३ मंगलबार

अमेरिकी सरकारको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीका सेक्रेटरी जोन केलीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको सिमा सुरक्षा सम्बन्धि कार्यकारी आदेश कार्यान्वयनका लागि जारी गरेको आक्रमकखालको नयाँ मेमोले अमेरिकामा एसाइलमलाई दुरुत्साहन गरेको छ । मंगलबार ल्याइएको यो नियमपछि एसाइलम गर्नेहरु त्रसित भएका छन् ।

यो मेमोको तत्कालिन प्रभाव कस्तो हुने भन्ने निश्चित नभएपनि मेक्सिकोबाट गैरकानुनीरुपमा अमेरिका छिर्नेहरु र अमेरिकामा एसाइलम गर्न खोज्नेहरुलाई मुस्किल हुने भएको छ ।

ओबामा कार्यकालमा सिमाक्षेत्रको १ सय माइल आसपास र अमेरिका छिरेको दुईसाताभित्र पक्राउ परेको व्यक्तिलाई शीघ्र डिपोर्टको प्रकृयामा लगिने नियमको अन्त्य भएको छ भने अमेरिकामा जुनसुकै स्थानमा पक्राउ परेका व्यक्ति अमेरिकामा बस्न थालेको दुईबर्षभन्दा कम अवधी भएको खण्डमा उनीहरुलाई शीघ्र डिपोर्टको प्रकृयामा लगिनेछ ।

८० प्रतिशतभन्दा धेरै एसाइलमका आवेदनहरु नक्कली भएको विश्वास गर्ने ट्रम्प प्रशासनले अब नक्कली एसाइलमका आवेदनबारेको छानविन पनि कडा बनाउने भएको छ । जसका कारण नक्कली एसाइलम गर्नेहरु अब फन्दामा पर्नसक्ने भएका छन् ।

अमेरिकामा पक्राउ परेको व्यक्ति मेक्सिको हुँदै गैरकानुनी रुपमा अमेरिका छिरेको भएमा उसको मुद्दा लिने तर उसलाई मेक्सिकोतिरै फिर्ता पठाइदिने नयाँ निर्देशनमा उल्लेख छ । यसअगाडि अमेरिकामा नै बसेर अदालतको अन्तिम फैसला कुर्न सकिने प्रावधान रहेको थियो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com