ग्रिनकार्ड लगायतमा नयाँ शुल्क पठाउन कानुन व्यवसायीहरुको सुझाव


प्रकाशित मिति : पुस ९, २०७३ शनिबार

न्युयोर्क निवासी चर्चित कानुन व्यवसायी खगेन्द्र जीसीले डिसेम्बर २३ देखि लागु हुनेगरी युएससीआईएसले शुल्क बढाएकाले कुनै फारम युएससीआईएसमा पठाउँदा तोकिएको दर्ता शुल्क पठाउनमा सजगता अपनाउन आवेदकलाई अनुरोध गर्नुभएको छ । आवेदन पठाउँदा नयाँ शुल्क नपठाएमा आवेदन फिर्ता हुन सक्ने भएकाले विशेष सजगता अपनाउन उहाँले सजग गराउनुभएको हो ।

त्यस्तै न्युयोर्क निवासी अर्का चर्चित कानुन व्यवसायी रमेश श्रेष्ठले कुनै कुनै आवेदनमा ३ सय प्रतिशतसम्म दर्ता शुल्क बढाइएको जानकारी दिदै आफ्नो आवेदन र बढेको दर्ता शुल्क चेक गरेर आवेदन पठाउनुपर्ने बताउनुभएको छ । कतिपय पहिले शुल्क नलाग्ने आवेदनमा पनि यसपटकदेखि दर्ता शुल्क तोकिएको बताउँदै आगामी दिनमा एसाइलमका आवेदनमा पनि दर्ता शुल्क लाग्नसक्ने बताउनुभएको छ । तर मानवियताका आधारमा दिइने भएकाले अहिलेसम्म एसाइलमका आवेदनहरु युएससीआईएसले निशुल्क लिदै आएको उहाँले जानकारी दिनुभयो ।

सरकारी बजेट विनियोजन नहुँदासमेत सरकारका अन्य निकायहरु बन्द हुँदासमेत युएससीआईएस खुल्ने र आवेदन शुल्कहरुबाटै युएससीआईएस धानिने भएकाले ६ बर्षको अवधिमा शुल्कबृद्धि गर्नु त्यती अस्वभाविक नभएको श्रेष्ठको भनाई छ ।

कानुन व्यवसायी श्रेष्ठसँग युएससीआईएसको शुल्कबृद्धि र नयाँ राष्ट्रपति निर्वाचित भएसँगै अध्यागमनका क्षेत्रमा आउनसक्ने परिवर्तनबारेको विशेष कुराकानी हेर्न यहाँ क्लिक गर्नुहोला ।

२२ तारिखसम्म युएससीआईएसले प्राप्त गरेका आवेदनका हकमा मात्र पुरानो शुल्क लागु हुने तर डिसेम्बर २३ मा युएससीआईएसले प्राप्त गरेका आवेदनमा नयाँ शुल्क लिने भएकाले नयाँ शुल्कसहित आवेदन पठाउन कानुन व्यवसायी श्रेष्ठको सुझाव छ । अन्यथा आवेदन फिर्ता हुने र फेरी पठाउँदा आवेदनको प्रकृया लम्बिने उहाँको भनाई छ । युएससीआईएसको वेवसाइटमा तोकिएको शुल्क अनुशार चेक काटेर पठाउनुपर्ने श्रेष्ठले बताउनुभयो ।

कुन कुन फारममा कति शुल्क बृद्धि ?

युएससीआईएसले दर्ता शुल्क बृद्धि गरेका ४६ वटा फारममध्ये सबैभन्दा धेरै अमेरिकामा रहेका नेपालीहरुलाई सरोकारको विषय ग्रिनकार्ड र नागरिकताको फारमको दर्ता शुल्क हो । त्यो बाहेक ग्रिनकार्ड हराएमा वा ड्यामेज भएमा अर्को ग्रिनकार्ड चाहिएमा आई ९० आवेदन दर्ता गराउँदा अब ४५५ अमेरिकी डलर तिर्नुपर्ने भएको छ । यसअघि यो आवेदनका लागि ३६५ अमेरिकी डलर तिर्नुपथ्र्यो । गैरआप्रवासीहरुले अमेरिकामा प्रवेश र प्रस्थानको कागजातका लागि वा पुरानो कागजात प्रतिस्थापनका लागि आवेदन दिनुपरेमा ३३० डलरमात्र तिरे पुग्थ्यो । तर अब भने यसका लागि ४४५ अमेरिकी डलर तिर्नुपर्ने भएको छ ।

कुनै व्यक्तिको मंगेतरलाई अमेरिकामा ल्याउनुपरेमा दिइने आवेदनका लागि यसअगाडि दर्ता शुल्क ३४० डलर लाग्दै आएको थियो । आई १२९ एफ नामको यो आवेदनका लागि अब दर्ता शुल्क ५३५ डलर लाग्ने भएको छ । त्यस्तै आफन्तका लागि दिइने आवेदन आई १३० का लागि अब दर्ता शुल्क ४२० बाट बढेर ५३५ पुगेको छ । त्यस्तै ट्राभल डकुमेन्टका लागि आवेदन दिनु परेमा आई १३१ वा आई १३१ ए नाममा फारम भर्दा दर्ता शुल्क ३६० डलर लाग्दै आएकोमा अबदेखि भने ५७५ डलर तिनुृपर्ने भएको छ । ईबी क्याटेगोरीका लागि आवेदन दिन आवश्यक पर्ने फारम आई १४० का लागि अब दर्ता शुल्क ५८० बाट बढेर ७०० डलर पुगेको छ । अधिकांश नेपालीहरुले असाधारण योग्यताको ग्रिनकार्डका लागि ईबी वान अन्तरगत यो फारम भर्दै आएका छन् ।

अमेरिकामा गैरआप्रवासी भिसाको अवधि बढाउनुपरेमा यसअगाडि आई ५३९ को दर्ता शुल्क जम्मा २९० अमेरिकी डलर लाग्दै आएकोमा अब यो शुल्क बढेर ३७० अमेरिकी डलर पुगेको छ । त्यस्तै अमेरिकामा रहेका ठूलो संख्याका नेपालीहरुले वर्क परमिटका लागि आवेदन दिदै आएकोमा अबदेखि यो फर्मको दर्ता शुल्क ४१० अमेरिकी डलर पुगेको छ । यसअगाडि वर्क परमिटका लागि आवेदन दिंदा ३८० अमेरिकी डलर तिर्नुपर्ने थियो । कसैको अमेरिकी नागरिकतासम्बन्धि कागजात हराएमा त्यसको प्रतिस्थापनका लागि ३४५ अमेरिकी डलर शुल्क रहेकोमा अबदेखि यो शुल्क बढेर ३५५ अमेरिकी डलर पुगेको छ ।

कानुन व्यवसायी खगेन्द्र जीसीसँग युएससीआईएसको शुल्कबृद्धि र नयाँ राष्ट्रपति निर्वाचित भएसँगै अध्यागमनका क्षेत्रमा आउनसक्ने परिवर्तनबारेको विशेष कुराकानी हेर्न यहाँ क्लिक गर्नुहोला । 

त्यस्तै नागरिकताको प्रमाणपत्रका लागि आवश्यक फारम एन ६०० वा एन ६०० केका लागि यसअगाडि ६ सय र ५ सय ५० अमेरिकी डलर शुल्क तोकिएकोमा अब यो शुल्क बढेर ११७० पुगेको छ । त्यस्तै अमेरिकामा आप्रवासी भिसाका लागि आवेदन दिनेहरुले यसअगाडि युएससीआईएसको शुल्क बापत १६५ अमेरिकी डलर तिर पुग्नेमा अबदेखि भने २२० अमेरिकी डलर तिर्नुपर्नेछ । युएससीआईएसले औंठाछाप लिनका लागि लिदै आएको ८५ डलरमा भने बृद्धि गरेको छैन ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com