अमेरिकी सिमानाबाट विना कागजपत्र छिर्न खोज्नेलाई ‘पछि आउन’ भन्दै फिर्ता


प्रकाशित मिति : जेष्ठ ३१, २०७५ बिहीबार

अमेरिकी सिमाक्षेत्रबाट अमेरिकामा छिरेर एसाइलम गर्न खोज्नेलाई सीबीपीका अधिकारहरुले पछि आउन भन्दै फिर्ता पठाइदिएका छन् । पोर्ट अफ इन्ट्री भरिभराउ भएको र थप एसाइलमका आवेदन ह्याण्डल गर्न सक्ने स्थीति नभएको भन्दै उनीहरुलाई टेक्सासको सिमाक्षेत्रबाट मेक्सिकोतिरै फिर्ता पठाइएको हो ।

गैरकानुनी रुपमा सिमा पार गरेर एसाइलमको दावी गर्नेहरुलाई अपराधको अभियोग लगाइने तर आधिकारिक सिमा पारक्षेत्रबाट आएर एसाइलम गर्नेहरुका आवेदनमात्र प्रकृयामा लगिने ट्रम्प प्रशासनले चेतावनी दिएपनि कार्यविधि पालना गर्नेहरुलाई अहिले खाली ठाउँ नभएको भन्दै पछि आउन सुझाव सहित फिर्ता पठाउन थालिएको छ । कतिपय सिमा पार गर्ने स्थानमा आप्रवासीहरु कैयन दिनदेखि क्याम्प खडा गरेर समेत बसिरहेका छन् ।

एल पासो लगायतका सिमा क्षेत्रमा अमेरिकी सिमा सुरक्षा अधिकारीहरुले मध्य अमेरिकी देशबाट आउनेहरुलाई फिर्ता पठाइरहेका छन् । उनीहरुले सिमाक्षेत्रबाट छिर्न खोज्ने आप्रवासीहरुलाई अमेरिकामा एसाइलम गर्न नपाइने कुरा नभनेको तर अहिले पोर्ट अफ इन्ट्रीहरु खाली नभएकाले प्रवेश दिन नसक्ने बताएको जनाइएको छ ।

ट्रम्प प्रशासनले अमेरिकी एसाइलमका कानुनहरु ढिलाढिला र छिद्रयुक्त रहेको बताउँदै आएको छ । गत सोमबारमात्र महान्यायाधिवक्ता जेफ सेसनले नयाँ नीति जारी गर्दै घरेलु र गिरोहको हिंशाका पीडितहरु अमेरिकामा एसाइलमका लागि योग्य नहुने बताएका छन् । तर मध्य अमेरिकी देशबाट अमेरिका आउन खोज्ने अधिकांशले आफूहरु गिरोहको हिंशाबाट पीडित भएको भन्दै एसाइलम दावी गर्दै आएका छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com