पैसा छैन, न्याय पनि छैैन

‘श्रीमान् हुँदा मात्र सबैले साथ दिने रै’छन् । श्रीमानले वास्ता गर्न छोड्यो, घरपरिवारले पनि निकालिदिए । अहिले सुर्खेतमा सानो नानी बोकेर आफन्तको शरणमा छु,’ बेलमती राना 

गीता थापा
सुर्खेत । साटाखानीनिवासी वसन्ती चपाईले दुई वर्षअघि जुम्लाका एकजना दलित केटासँग विवाह गरिन् । अन्तरजातीय विवाह घरमा स्वीकार नगरिएपछि उनी श्रीमान्सहित सुर्खेत आइन् । दुई वर्षपछि उनका श्रीमान् पढ्ने बहानामा काठमाडौं गए । लामो समयसम्म सम्पर्कविहीन भएका उनका श्रीमान्ले काठमाडौंमै दोस्रो बिहे गरेर घरजम गरेको खबर उनले पाइन् । त्यसपछि उनी काठमाडौं आइन् । काठमाडौंमा भेट्न नसकेपछि उनले फेरि सुर्खेत फर्केर प्रहरीसमक्ष श्रीमान्लाई झिकाइदिन आग्रह गर्दै निवेदन दिइन् । जिल्ला प्रहरी कार्यालय सुर्खेतमा श्रीमान्विरुद्ध निवेदन दिए पनि प्रहरीले आफ्नो क्षेत्रमा नपर्ने भन्दै वसन्तीका श्रीमान्लाई जिल्लामा झिकाइदिएन । ‘पढ्न गएका श्रीमान् उतै घरजम गरेर बसे,’ उनले थपिन्, ‘अब साथमा डेढ वर्षकी छोरी छ, उसलाई कारबाही गर्नकै लागि काठमाडौं खोज्न म कसरी जाऊँ । जान–आउन, बस्न पैसा धेरै लाग्छ । बरु होस् भनेर छोडिदिएँ ।’

‘प्रहरीले बिहे भएको ठाउँमा उजुरी दिन भन्छ,’ उनले थपिन्, ‘तर म जुम्ला जाने अवस्था छैन, अब के मैले चाहेकै ठाउँमा न्याय पाउन नसक्ने हो त ?’ राजधानीमा पुगेर श्रीमान्लाई पक्राउ गर्ने आर्थिक अवस्था र पहुँच नभएको भन्दै उनले महिला अधिकारका क्षेत्रमा क्रियाशील संस्थाहरूलाई सहजीकरण गरिदिन आग्रह गरे पनि पहल नभएको बताउँछिन् ।

वीरेन्द्रनगर– १० की मनकुमारी विकको कथा पनि वसन्तीको भन्दा कम्तीको छैन । बिहे गरेको केही वर्षमै उनका श्रीमान्ले लगातार सातवटा बिहे गरे । श्रीमान्ले यति धेरै बिहे गरेपछि आफू र बालबच्चालाई हेर्न छोडेको उनको गुनासो छ । श्रीमान्को बेवास्ता र उपचार अभावमा एक छोरीसमेत उनले गुमाउनुप¥यो । ‘साँझ–बिहान के खाऊँ, के लाऊँ भन्ने अवस्था भयो,’ उनले भनिन्, ‘त्यसकै कारण बिरामी छोरीको उपचार गर्न नसक्दा मृत्यु भयो ।’ आर्थिक अवस्था कमजोर हुँदा महिला हिंसा बढ्नुका साथै पीडा सहेर बस्नुपर्ने बाध्यता आउने मनकुमारीको अनुभव रहेको छ ।

सहारेकी बेलमती रानाको पनि पाँच वर्षअघि दैलेखका दिलबहादुर रानासँग प्रेम बस्यो । एक वर्षको प्रेमसम्बन्धलाई उनीहरूले विवाहको सम्बन्धमा परिणत गरे । विवाह भएको सुरु सुरुको एक–दुई वर्षसम्म त दुवैको सम्बन्ध राम्रै थियो । घरको आर्थिक अवस्था कमजोर भएका कारण दिलबहादुर विवाह गरेको दुई वर्षमा कमाउनका लागि भारततिर लागे । भारत गएको केही समयसम्म त बेलमतीलाई श्रीमान्ले पैसा पनि पठाए । तर, समय बित्दै जाँदा न त श्रीमान्को खबर नै आयो न त पैसा नै । दिलबहादुर भारत जाँदा बेलमतीको साथमा डेढ वर्षको छोरा थियो । श्रीमान्ले वास्ता नै गर्न छोडेपछि घरपरिवारले पनि बेलमतीलाई घरबाट नै निकाले । उनलाई पछि थाहा भयो कि उनका श्रीमान्ले भारतमा नै नेपाली केटीसँग विवाह गरेर बसेका रहेछन् । उनले भनिन्, ‘श्रीमान् हुँदा मात्र सबैले साथ दिने रै’छन्, श्रीमान्ले नै वास्ता गर्न छोड्यो, घरपरिवारले निकालिदिए अहिले सुर्खेत आफन्तकोमा बस्दै आएकी छु ।’ उनले विभिन्न सरोकारवाला निकाय तथा प्रहरीमा उजुरीसमेत दिइन् श्रीमान्लाई झिकाइपाऊँ भन्दै तर, उनको कुरा कसैले सुनेनन् ।

उनले थपिन्, ‘जहाँ पनि पैसा भए सबै हुने रै’छ, मसँग पैसा नै छैन त्यसैले कसैले मेरो कुरा सुनेन ।’ उनलाई आफ्नोभन्दा पनि साथमा रहेको छोराको भविष्यको चित्ता छ । उनी भन्छिन्, ‘माइतीमा जाउँ भने पनि आफैँ भागेर विवाह गरेको थिए कुन मुखले जाउँ, आर्थिक अवस्था कमजोर भएपछि आफ्ना नि पराई हुने रै’छन् ।’

अधिकांश महिलाले आर्थिक अवस्था सुदृढ नभएकै कारण पुरुषले हेप्ने र न्याय नपाएर भौँतारिनुपर्ने अवस्था आउने गरेको छ । महिलाको कमाउने माध्यम नहुँदा नै पुरुषले महिलामाथि गर्ने घरेलु हिंसा वृद्धि भइरहेको महिला अधिकारकर्मी बताउँछन् । महिला अधिकारकर्मी निशा पौडेलले घरेलु मदिरा उत्पादन र बिक्री–वितरणका कारण महिला हिंसा नियन्त्रण हुन नसकेको बताइन् । ग्रामीण क्षेत्रका महिला घरेलु हिंसाबाट पीडित भएको, तर आफू सक्षम नहुँदा वर्षौंदेखि पीडा सहेर बस्नुपरेको उनको भनाइ छ । ‘महिलाहरू वर्षौंदेखि पीडित छन्,’ उनले भनिन्, ‘न्यायका लागि घर छोड्दा उनीहरूसँग अर्को विकल्प हुँदैन । त्यसैले अधिकारका साथै आत्मनिर्भर हुने कुरामा जोड दिनसके मात्रै हिंसा नियन्त्रण गर्न सकिन्छ ।’

समाजमा रहेका शिक्षित मानिसबाट नै विभिन्न कारणले महिलामाथि हिंसा हुने गरेको जिल्ला शिक्षा अधिकारी जितबहादुर शाहले बताए । शिक्षित वर्गले नै कुसंस्कारलाई अँगालेको र त्यही कुसंस्कारभित्र विभिन्न तरिकाले महिलामाथि नै अत्याचार हुने गरेको उनको भनाइ थियो । ‘पढेलेखेकाहरू पनि कुरीतिको सिकार भएका छन्,’ उनले भने, ‘जबसम्म पढेको र बुझेको कुरा व्यवहारमा लागू हुँदैन तबसम्म यस्ता कुरीतिले कुनै न कुनै ठाउँबाट महिलामाथि प्रहार गरिरहन्छन् ।’ उनले महिला हिंसाको दोस्रो कारण बालविवाह भएकाले यसको नियन्त्रणका लागि विद्यालयस्तरबाट नै प्रभावकारी कार्यक्रम सञ्चालन गर्नुपर्ने बताए ।

राष्ट्रिय महिला आयोगकी कार्यवाहक अध्यक्ष भगवती घिमिरेले पीडित महिलालाई न्याय पाउनका लागि सरकारले वकालत गर्ने व्यक्तिको व्यवस्था गर्ने र न्याय पाउनेबेलासम्मको आर्थिक सहायतासमेत प्रदान गर्ने गरेको बताइन् । यस्तै, उनले केही ऐनहरू पुराना भएको र संशोधन गर्नुपर्ने भएकाले महिला हिंसाविरुद्धको नियम कडाइका साथ कार्यान्वयन र बलियो कानुन निर्माणका लागि दबाब सिर्जना गर्ने बताइन् ।  (संचारिका फिचर सेवा)(गीता, सुर्खेतमा कार्यरत पत्रकार हुन् ।)

 

बिहिबार, असार १५, २०७४ मा प्रकाशित

सम्बन्धित सामाग्री



अमेरिकामा नेपाली र नेपाली सम्बन्धित कानुनी कार्यालयहरु

क्षेत्री एण्ड एसोसिएट्स पीसी

ल अफिस अफ बासुदेव फूलारा

मुनगोभन एण्ड एसोसिएट्स 

श्रेष्ठ ल फर्म

ल अफिस अफ केशवराज सेडाई

ल अफिस अफ गिरिजा प्रसाद गौतम



Like us on Facebook
error: Content is protected !!