पोर्चुगलमा नेपाली राजदूतावास स्थापना गर्न माग


प्रकाशित मिति : श्रावण ९, २०७५ बुधबार

पोर्चुगलमा रहेका प्रवासी नेपालीले पोर्चुगलमा नेपाली राजदूतावास स्थापना हुनुपर्ने माग गरेका छन् ।

प्रवासी नेपाली मञ्च पोर्चुगल, नेपाली जनप्रगतिशील मञ्च पोर्चुगल र एनआरएन पोर्चुगलको संयुक्त आयोजनामा मंगलबार राजधानी लिस्बनमा भएको छलफल तथा अन्तक्र्रियामा सहभागीले परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीसमक्ष दूतावास नहुँदा पोर्चुगलमा रहेका नेपालीले धेरै प्रकारका समस्या झेल्नुपरेको बताए ।

अन्तक्र्रियामा सहभागी अधिकांश वक्ताले राजदूतावास स्थापनाका लागि सरकारले तत्काल पहल गर्नुपर्नेमा जोड दिएका थिए । उनीहरुले नेपालमा पोर्चुगल दूतावास स्थापनाका लागि पहल गर्न समेत मन्त्रीसमक्ष आग्रह गरे ।

दूतावास नभएकै कारण कागजी प्रमाणीकरण, परिवार ल्याउने कामलगायत सामान्य कागजी प्रक्रियाका लागि समेत नयाँ दिल्लीस्थित पोर्चुगली दूतावास धाउनुपर्ने बाध्यता रहेको गुनासो गरे । यस्तै पोर्चुगलमा रहेका नेपाली राहदानीलगायत कागजी प्रक्रियाका लागि फ्रान्सस्थित नेपाली दूतावास पुग्नुपर्ने बाध्यता रहेको दुखेसो पनि पोखे ।

सो अवसरमा परराष्ट्रमन्त्री ज्ञवालीले दूतावास स्थापनाका लागि सम्भाव्यता अध्ययन गरिने बताउँदै दुई देशबीचको व्यापार, पर्यटन र लगानीले मात्रै दूतावास स्थापनाको औचित्य पुष्टि हुने छ भन्नुभयो ।

कार्यक्रममा सहभागीको जिज्ञासालाई स्पष्ट पार्दै फ्रान्सका लागि नेपाली राजदूत अम्बिकादेवी लुइँटेलले फ्रान्समा रहेको दूतावासले सकेसम्म सेवा प्रदान गरेको बताउनुभयो । पोर्चुगलका लागि अवैतनिक वाणिज्यदूत मकरबहादुर हमालले अवैतनिक वाणिज्यदूतावासले सेवा प्रवाहमा कुनै कञ्जुस्याइँ नगरेको जिकिर गर्नुभयो ।

सो अवसरमा एनआरएन पोर्चुगल, दूतावास स्थापनार्थ संघर्ष समिति, नेपाली जनसम्पर्क समिति, प्रवासी नेपाली मञ्च, जनप्रगतिशील मञ्चलगायत संस्थाले दूतावास स्थापनाको माग गर्दै परराष्ट्रमन्त्रीलाई ज्ञापनपत्र बुझाएका थिए ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com