कुचो छुदा दलित बच्चालाई कुटपिट गर्ने महिला पक्राउ


प्रकाशित मिति : असार २६, २०७५ मंगलबार

पर्वत, बाथरुमको कुचो छोएको भन्दै बच्चालाई कुटपिट गर्ने एक महिला प्रहरी खोरमा पुगेकी छन् । उनलाई जतीय विभेदको उजुरीका आधारमा प्रहरीले पक्राउ गरेको हो । यो समाचार अनलाइन डबलीबाट लिएको हो ।

पटकपटक दलितमाथि विभेद गर्दै आएकी पर्वतको फलेवास नगरपालिका–८ ठानामौला निवासी मिना कुवँरले कुचो छोएको निहुँमा बच्चालाई निर्घात कुटपिट गरेपछि पीडित बच्चाकी आमाले प्रहरीमा उजुरी दिएकी थिइन् । प्रहरीले मिनालाई असार २४ गते पक्राउ गरेको छ ।

डेरामा बसेर कस्मेटिक पसल संचालन गरिरहेकी मिनाले लामो समयदेखि आफूमाथि जातीय विभेद गर्दै आएको स्थानीय मनिसा रसाईली बिक बताउँछिन् । धेरैपटक सहेको तर कुचो छोएको निहुँमा बच्चालाई नै निर्घात कुटपिट गरेपछि उजुरी दिन बाध्य भएको मनिसाले बताइन् ।

“धेरै पटक सहियो तर अहिले अपशब्द प्रयोग र गालीबेइज्जत गर्दै बच्चालाई नै कुटपिट गरेपछि उजुरी दिन बाध्य भएँ” मनिसाले भनिन् । मिनाले आफू बारीमा काम गरिरहेको बेला बच्चाले समान छोएको भन्दै कुटपिट गर्नुको साथै सामाजिक र व्यक्तिगत प्रतिस्ठामा आघात पुग्नेगरी दुर्व्यवाहार र जातीय विभेद गरेको मनिसाले उजुरीमा बताएकी छन् । मिनाले लामो समयदेखि विभेद गर्दै आएको तर आफूले एउटै घरमा बसेकोले नराम्रो गर्नु हुँदैन भनेर सहँदै आएको समेत मसिनाले बताएकी छन् । मिना र मनिसाको परिवार एउटै घरमा भाडामा बस्दै आएका छन् ।

सुरुमा मिनाले जातीय विभेद गरेको उजुरी प्रहरीले दर्ता गर्न आनाकानी गर्दै आएको थियो । दलित अगुवा सुरु सुनारको नेतृत्वमा काठमाडौँबाट गएको टोलीको दबाबपछि मात्रै प्रहरीले असार २१ गते प्रहरीले उजुरी दर्ता गरेको थियो ।

मनिसाले दिएको किटानी जाहेरीका आधारमा २४ गते मिनालाई पक्राउ गरेर आवश्यक अनुसन्धान भइरहेको पर्वत प्रहरीले बताएको छ । प्रहरीले मिनालाई जिल्ला अदालतबाट म्याद थप गरेको छ ।

पीडकलाई जातीय भेदभाव तथा छुवाछुत ९कुसुर र सजाय० ऐन २०६८ को आधारमा कारवाही चलाउने तयारी प्रहरीले गरेको छ । पर्वतमा २०६८ साल यता जातीय छुवाछुतबिरुद्ध एउटा पनि उजुरी परेको थिएन् । मिनाले जातीय विभेद गरेको ठहर भएमा एक वर्षदेखि ३ वर्षसम्म जेल सजाय र एक हजारदेखि २५ हजार जरिवाना हुन सक्छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com