पोर्चुगल र स्पेन दुवैलार्इ इरानको त्रास


प्रकाशित मिति : असार ११, २०७५ सोमबार

रुसमा जारी २१औं विश्वकप फुटबलमा सहभागी टोलीहरूले सोमबारदेखि समूहगत चरणको तेस्रो खेल खेल्न सुरु गर्नेछन् । समूहगत चरणमा सबैले आआफ्नो दोस्रो खेल खेलिसक्दा केवल ६ वटा टोलीले मात्र नकआउट चरणमा स्थान सुरक्षित गर्न सकेका छन् । आठवटा समूहका ३२ वटै टोलीले अब अन्तिम एक÷एक खेल खेल्न बाँकी रहँदा नकआउट चरणमा पुग्ने अझै १० वटा टोलीको टुंगो लाग्न बाँकी छ ।

यसै क्रममा सोमबार समूह ‘बी’ मा रहेको पोर्चुगोेलले इरानको सामना गर्दैछ भने अर्को खेलमा सोही समूहको स्पेनले मोरक्कोसँग प्रतिस्पर्धा गर्दैछ । यो समूहबाट नकआउट चरणमा पुग्ने दुईवटै टोलीको टुंगो सोमबारकै खेलले लगाउनेछ । यो समूहमा सन् २०१० को विश्वकप विजेता स्पेन र सन् २०१६ को युरोकप विजेता पोर्चुगल बलियो देखिए पनि यी दुवै टोलीका लागि एसियाली प्रतिद्वन्द्वी इरान सबैभन्दा ठूलो टाउको दुखाइको विषय बनेको छ ।

अघिल्ला दुवै खेलमा पराजित भएको मोरक्को यसअघि नै उपाधि होडबाट बाहिरिइसकेको अवस्थामा डिएगो कोस्टाको स्पेन र क्रिस्टियानो रोनाल्डोको पोर्चुगलसामु इरान नै सबैभन्दा ठूलो चुनौती बनेको छ । एक खेलमा जित र एउटा बराबरीको नतिजाबाट समान चार÷चार अंक बटुलेका स्पेन र पोर्चुगल क्रमशः पहिलो र दोस्रो स्थानमा छन् । एक खेलमा जित र एक खेलमा हारको नतिजा निकालेको इरान तीन अंकसहित तालिकाको तेस्रो स्थानमा छ । स्पेन र पोर्चुगलको गोलअन्तर पनि समान नै छ ।

आफ्नो पहिलो खेलमा स्पेन र पोर्चुगलले ३-३ गोलको बराबरी खेलेका थिए भने दोस्रो खेलमा स्पेनले इरानलाई १-० र पोर्चुगलले मोरक्कोलाई पनि १-० गोलले नै हराएका थिए । आफ्नो दुवै खेलमा उत्कृष्ट प्रदर्शन गरेको इरानले भने पहिलो खेलमा मोरक्कोलाई १-० गोलले पाखा लगाएको थियो । घिल्ला दुई खेल र अंकको जोड÷घटाउलाई आधार मान्ने हो भने, यो समूहबाट तीनवटै टोलीको नकआउट चरणमा पुग्ने सम्भावना उत्तिकै छ ।

सोमबारको खेलमा जित हात पार्न सके पोर्चुगल र स्पेन सहजै नकआउट चरणमा प्रवेश गर्ने निश्चित छ । यस्तो स्थितिमा यो समूहबाट घर फर्कने दोस्रो टोली बन्नेछ, इरान । तर, स्पेनले मोरक्कोलाई र इरानले पोर्चुगललाई पराजित गरेको अवस्थामा भने स्पेन र इरान नकआउट चरणमा पुग्नेछन् । यसैगरी पोर्चुगलले इरानलाई पराजित गरेमा भने मोरक्कोसँग हारे पनि स्पेन प्रिक्वार्टरफाइनलमा पुग्न सफल हुनेछ ।

अघिल्ला दुई खेलको प्रदर्शनलाई हेर्दा पनि मोरक्कोको तुलनामा इरान केही बलियो देखिएको छ । त्यसैले अन्तिम चरणको खेलमा स्पेनभन्दा पोर्चुगलमाथि केही बढी दबाब देखिन्छ । पोर्चुगल र इरानले बराबरी खेलेको र मोरक्कोले स्पेनलाई हराएको अवस्थामा भने स्पेनमाथि पनि दबाब बढने छ । यस्तो अवस्थामा पोर्चुगल पाँच अंकसहित नकआउट चरणमा पुग्नेछ भने स्पेन र इरानको समान चार÷चार अंक हुनेछ । त्यसपछि गोलअन्तरका आधारमा स्पेन र इरानमध्ये एक टोली अघिल्लो चरणमा प्रवेश गर्नेछन् ।

जारी विश्वकपमा पोर्चुगलका कप्तान रोनाल्डो र स्पेनका कोस्टा दुबै लयमा देखिएका छन् । आफ्नो पहिलो खेलमा पोर्चुगलका लागि रोनाल्डो एक्लैले तीन गोल गरेका थिए भने दोस्रो खेलमा पनि टोलीका लागि निर्णायक गोल उनले नै छिराएका थिए । उनले जारी प्रतियोगितामा चार गोल गरिसकेका छन् । यसैगरी आफ्नो पहिलो खेलमा स्पेनका लागि दुई गोल गरेका कोस्टाले दोस्रो खेलमा पनि एक गोल गरेका थिए । जारी प्रतियोगितामा उनले तीन गोल गरिसकेका छन् । पोर्चुगल र इरानबीच यसअघि भएको एकमात्र खेलमा पोर्चुगल २-० गोलले विजयी बनेको थियो । स्पेन र मोरक्को भने विश्वकपमा पहिलो पटक भिड्न लागेका हुन् ।

यसैगरी इरान र मोरक्कोले पनि जारी प्रतियोगितामा विपक्षीलाई गतिलो चुनौती दिँदै केवल एक गोलको अन्तरले हार÷जितको नतिजा निकालेका छन् । लगातार दुई खेलमा पराजित भए पनि मोरक्कोले विपक्षीलाई एकभन्दा बढी गोल गर्ने अवसर दिएको छैन । त्यसैले पनि जारी विश्वकपमा अगाडिको यात्रा र आफ्नो अस्तित्व रक्षाका लागि समूह ‘बी’ मा रहेका यी टोलीबीच सोमबार मैदानमा हुने घम्साघम्सीले फुटबलप्रेमीलाई भने गतिलै मनोरञ्जन दिनेछ ।

 

प्रभाव पार्न सक्ने खेलाडी 

डिएगो कोस्टा (स्पेन)

जारी विश्वकपमा स्पेनिस टोलीका लागि महŒवपूर्ण खेलाडी सावित भएका छन्, डिएगो कोस्टा । २९ वर्षीय कोस्टा प्रेरित स्पेनले रुस विश्वकपको पहिलो खेलमा बलियो पोर्चुगललाई ३–३ गोलको बराबरीका रोक्दा कोस्टा एक्लैले दुई गोल गरेका थिए । खेलमा दुईपटक पोर्चुगलले अग्रता बनाउँदा स्पेनलाई खेलमा फर्काउने भूमिकामा उनै कोस्टा थिए ।

विश्वकपको पहिलो खेलमै आफूलाई प्रमाणित गरेका कोस्टाले इरानविरुद्धको दोस्रो खेलमा पनि निर्णायक गोल गरेका थिए । दुई खेलमा व्यक्तिगत तीन गोल गरिसकेका कोस्टा टोलीलाई आवश्यक पर्दा कुनै पनि बेला गोल गर्न सक्षम खेलाडी हुन् । स्पेनिस टोलीका मुख्य स्ट्राइकर उनी एट्लेटिको म्याड्रिडबाट व्यावसायिक फुटबल खेल्छन् ।

कोस्टा आफंै गोल गर्न र साथीलाई गोल निकाल्न पनि उत्तिकै खप्पिस छन् । त्यसैले उनी जारी विश्वकपमा स्पेनिस टोलीको मुख्य खेलाडी हुन् । एक जित र एक बराबरीपछि स्पेन अन्तिम खेलमा जित हात पार्दै प्रतियोगिताको अघिल्लो चरण प्रवेश गर्ने योजनामा छ । टोलीको लक्ष्य सफल बनाउन सोमबार हुने मोरक्कोविरुद्घको खेलमा पनि कोस्टाकै भूमिका महŒवपूर्ण रहने अनुमान गरिएको छ ।

इङ्लिस प्रिमियर लिगको समेत अनुभव बटुलेका कोस्टा टोलीका अनुभवी खेलाडी पनि हुन् । चेल्सीबाट इङ्लिस प्रिमियर लिग उपाधि जितेका कोस्टाले यो सिजन एट्लेटिको म्याड्रिडबाट युरोपा लिग पनि जितेका छन् । विश्वकपको अघिल्ला दुई खेलमा उत्कृष्ट प्रदर्शन गरेका कोस्टा आफ्नो अनुभव र कलालाई मोरक्कोसँगको खेलमा पनि दोहो¥याउन चाहन्छन् । सन् २०१४ मा स्पेनिस सिनियर राष्ट्रिय टोलीमा ‘डेब्यु’ गरेका कोस्टाले २२ खेलबाट १० गोल गरिसकेका छन् ।

क्रिस्टियानो रोनाल्डो (पोर्चुगल)

पछिल्लो पुस्ताका महान् फुटबलरमध्येका एक हुन्, क्रिस्टियानो रोनाल्डो । स्पेनिस क्लब रियल म्याड्रिडबाट व्यावसायिक फुटबल खेल्ने रोनाल्डोले क्लब र राष्ट्रिय टोलीबाट धेरै कीर्तिमान आफ्नो नाममा लेखाएका छन् । अग्रपंक्तिमा सधैं उत्कृष्ट प्रदर्शन गर्ने रोनाल्डो बललाई आफ्नोे इच्छाअनुसार खेलाउन सक्ने क्षमता र छुट्टै खेल्ने शैलीका कारण निकै सफल र चर्चित छन् ।

जारी विश्वकपमा पनि रोनाल्डोले आफ्नो प्रतिभालाई थप प्रमाणित गरिसकेका छन् । समूहगत चरणको पहिलो खेलमा बलियो स्पेनविरुद्ध ह्याट्रिक पूरा गरेका रोनाल्डोले मोरक्कोविरुद्धको दोस्रो खेलमा पनि निर्णायक गोल गरेका थिए । हालसम्म चार गोल गरिसकेका रोनाल्डो बेल्जियममा रोमेलु लुकाकुसँगै सर्वाधिक गोल गर्ने खेलाडीको सूचीमा दोस्रो स्थानमा छन् । इङ्ल्यान्डका हेरी केनले हालसम्म पाँच गोल गरेका छन् ।

उनी मैदानमा आफ्नो टोलीका लागि गोल मेसिनकै रूपमा प्रस्तुत हुने गर्छन् । समूह ‘बी’ को आफ्नो अन्तिम खेलमा पोर्चुगलले इरानको सामना गर्दा पनि रोनाल्डोको प्रभाव अझ स्तरीय हुने अनुमान गरिएको छ । जारी विश्वकपमा लयमा देखिएका रोनाल्डो आफ्नो गोलसंख्या अझ बढाउने धुनमा पनि छन् । रोनाल्डो खुट्टा र हेडिङ दुवैबाट गोल गर्न पनि खप्पिस फुटबलर हुन् । उनले यसलाई अघिल्ला खेलमा पनि देखाइसकेका छन् ।

युरोपेली क्लब फुटबलमा रियल म्याड्रिडको पछिल्लो सफलतामा मुख्य भूमिका निर्वाह गरेका रोनाल्डोले आफ्नो नेतृत्वमा पोर्चुगललाई अहिलेसम्मकै ठूलो उपाधिका रूपमा सन् २०१६ को युरोकप दिलाएका थिए । पोर्चुगिज राष्ट्रिय टोलीबाट सर्वाधिक गोल गर्ने खेलाडीको सूचीमा शीर्ष स्थानमा रहेका रोनाल्डोले एक सय ५२ खेलबाट ८५ गोल गरिसकेका छन् । पाँच पटक फिफा वर्ष खेलाडी रोनाल्डो पोर्चुगलका कप्तान पनि हुन् । विश्वकपमा ३३ वर्षीय रोनाल्डोको चौथो सहभागिता हो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com