अाज एघाराैँ गणतन्त्र दिवस : संविधान र कानूनद्वारा निर्दिष्ट दायित्व पूरा गर्न राष्ट्रपतिको जोड


प्रकाशित मिति : जेष्ठ १५, २०७५ मंगलबार

राष्ट्रपति विद्यादेवी भण्डारीले गणतन्त्र दिवसकाे अवसरमा सबै नेपालीलाई संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा राष्ट्रिय एकता प्रवद्र्धन र समृद्ध राष्ट्र निर्माणमा एक जुट हुन प्रेरणा प्रदान गर्न सकोस् भन्ने शुभकामना व्यक्त गर्नुभएको छ ।

गणतन्त्र दिवसका अवसरमा शुभकामना सन्देश दिँदै उहाँले जनभावनाको कदर गर्दै संविधान र कानूनद्वारा निर्दिष्ट दायित्व पूरा गर्न कटिबद्ध हुनुपर्ने महत्वपूर्ण घडी आएको बताउनुभएको छ । सन्देशमा भनिएको छ, “मुलुकमा सुदृढ शान्ति कायम गर्ने, राजनीतिक स्थायित्व हासिल गर्ने र आर्थिक विकास गर्ने नेपाली जनताको उत्कृष्ट चाहनालाई साकार पार्ने अवसर प्राप्त भएको छ ।”

नेपालीको आर्थिक-सामाजिक रुपान्तरण हुनुपर्छ : उपराष्ट्रपति

यसै उपलक्ष्यमा उपराष्ट्रपति नन्दबहादुर पुनले गणतन्त्र प्राप्तिका लागि विभिन्न कालखण्डमा भएका जनान्दोलन, सशस्त्र संघर्ष, जनयुद्व र २०६२/०६३ को ऐतिहासिक जनआन्दोलनमा जीवन बलिदान दिने सम्पूर्ण शहीदलाई श्रद्धाञ्जली अर्पण गर्दै संघर्षका क्रममा घाइते हुनुभएका योद्धाको स्वाथ्यलाभको कामना गर्नुभएको छ ।

उपराष्ट्रपति पुनले प्रत्येक नेपालीको आर्थिक – सामाजिक रुपान्तरणसहितको समुन्नत र समृद्व नेपाल निर्माणमा राष्ट्रको ध्यान केन्द्रित हुनुपर्ने बताउँदै भौगोलिक अखण्डता, सार्वभौमिकता, स्वाधीनता र राष्ट्रिय एकतालाई सुदृढ गर्न तथा देशलाई आर्थिक विकासको मार्गमा अगाडि बढाउन गणतन्त्र दिवसले प्रेरणा दिने विश्वास व्यक्त गर्नुभएको छ उहाँले यस दिवसमार्फत गणतन्त्रको सुदृढीकरण तथा आर्थिक समृद्धिका लागि सबै नेपालीलाई ऐक्यबद्वता र हातेमालो गर्न आह्वानसमेत गर्नुभएको छ ।

नेपाल सङ्घीय लोकतान्त्रिक गणतन्त्र घोषणा भएको एघाराैं वर्ष प्रवेश गरेकाे छ । यस अवसरमा अाज (मंगलबार) विभिन्न कार्यक्रम अायाेजना गरी देशैभरि गणतन्त्र दिवस भव्यताका साथ मनाइँदै छ ।
दोस्रो लोकतान्त्रिक जनआन्दोलन २०६२/०६३ को जगमा भएको निर्वाचनबाट गठित तत्कालीन संविधानसभाको पहिलो बैठकले २०६५ जेठ १५ गते नेपाललाई सङ्घीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरेको थियाे । साेही दिनलाई प्रत्येक वर्ष गणतन्त्र दिवसका रुपमा मनाइँदै आएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com