आगलागी पीडितले भने ‘हाम्रो नाममा उठाएको राहत खोई ?


प्रकाशित मिति : बैशाख १४, २०७५ शुक्रबार

 

‘ए हजुर तपाई काँ देखि आका हौ ? राहत ल्याएर आउने मान्छे भेटाउ कि नाई ? राहत आउँछ भन्छन् कसैले गतिलो सहयोग गरेका नाई तँमि किन आका हौ ?’ डोल्पाको होर्त गाउँमा पुग्ने जो कोही नौलो मानिसलाई सोधिने प्रश्न हो यो ।

आगलागीबाट भग्नावशेष भएको आफ्नो घरमा दिनभर टोलाएर बस्नु र गाउँमा आएका नयाँ मानिसलाई आफ्नो भग्नावशेष घर देखाएर प्रतिप्रश्न गर्नु डोल्पा मुड्केचुला गाउँपालिका–९ होर्तका ३९ वर्षीय दत्त बुढाको आजभोली दैनिकी जस्तै बनेको छ ।

‘हाम्रो नाममा धेरैले राहत उठाएको सुनेका छौँ, तर अहिले सम्म कसैले पनि राम्रो सहयोग गरेका छैनन्, हाम्रो नाममा उठाएको राहत पनि काठमाडौँ लगायतका शहरमा बेचेर खाइसके रे, खै कहिले राहत पाइएला हामी त घर न घाटका भयौँ’ अर्की आगलागी पीडित नैनासरा बुढाले दुखेसो पोखिन् ।

०७४ पुस २४ गते भएको भीषण आगलागीबाट मुड्केचुला गाउँपालिका–९ होर्त गाउँका नैन बुढा, दत्त बुढा, कन्नगिरी बुढा, पुन्न बुढा र दलजीत बुढाको पाँच ओटा घर पुर्णरुपमा भग्नाबशेष बनेका थिए ।आगलागीबाट घर, घरभित्र राखिएको अन्नपात, लत्ताकपडा र चलअचल सम्पत्ती सबै गुमाएर बेघर बनेका अग्नीपीडितहरु यत्तिखेर आफन्त र गाउँलेहरुबाट उठाउँदै आएको मानोपिठोबाट बिहान बेलुकाको गर्जो टार्दै आएका छन् ।

आगलागी भएको चार महिनासम्म पनि ओत लाग्ने सम्मको टहरो बनाउन नसकेपछि पीडितहरु आफन्तकै घरमा बसेर सहरा लिइरहेका छन् । सदरमुकाम दुनै देखि दुई दिनको पैदल यात्रा पछि पुगिने विकट र पिछडिएको गाउँ होर्तमा बसोबास गर्ने आर्थिक बिपन्न समुदायका आगलागी पीडितहरु यत्तिखेर राहतको प्रतिक्षामा छन् ।

जिल्ला प्रशासन कार्यालय डोल्पाबाट अहिलेसम्म आफुहरुले राहत बापत २७ हजार ५ सय, नेपाल तरुणदल डोल्पाबाट कम्बल र बालबालिकाहरुलाई कपिकलम लगायतका शैक्षिक सामाग्रीहरु पाएको बताए ।

वार्ड–९ होर्तका अध्यक्ष जयप्रसाद बुढाले आगलागी पीडितको नाममा धेरैले धेरैठाउँबाट नगद तथा जिन्सी सामाग्री उठाएको खबर आफुले पाएको तर अहिले सम्म कसैले पनि पीडितहरुलाई उपलब्ध नगराएकाले छानबिन थालनी गरिएको र को कसले कसरी राहत उठाइरहेका छन् भनेर बुझनुका साथै उठाएको राहत पीडित कहाँ सजिलो संग पुगोस् र दुरुपयोग नहोस् भनेर राहत वितरण प्रकृया एकद्वार प्रणलीमा ल्याइएको बताए ।

मुड्केचुला गाउँपालिकाका प्रमुख दत्तबहादुर शाहीले अग्नी पीडितहरुलाई प्रति घर ७० हजारका दरले घरको जग उठाउनको लागि राहत स्वरुप सहयोग गरिने नगरसभाले निर्णय गरेको बताए ।डोल्पा आफैँमा बिकट तथा दुर्गम भएकाले निमार्ण सामग्री जम्मा गर्न समस्या पर्नुका साथै महँगो समेत भएकाले घर ठड्याउन अग्नीपीडितहरुलाई गाह्रो भएको बताउँदै सबै सहयोगी हातहरुको सहयोगको खाँचो रहेको पनि गाउँपालिका प्रमुख शाहीले बताए ।

जिल्ला प्रशासन कार्यालयले राहत वितरण गर्दा आफुहरुलाई अन्याय गरेको अग्नी पीडित कन्नगिरी बुढाले बताए । ‘हाम्रो लागि भनेर बिभिन्न निकायबाट राहत उठाईयो तर पुर्ण क्षति र आंशिक क्षतिको मुल्यांकन नै नगरि हचुवा र राजनीतिक दवावमा आगोले पीडित नभएकालाई पनि पूर्णक्षति सरह राहत उपलब्ध गराइयो ।’ उनले भने ।

डोल्पालीहरुको वर्ष भरीको खर्च आम्दानीको स्रोत मानिने बहुमुल्य जडिबुटी यार्सागुम्बा संकलनको तयारीमा गाउँलेहरु जुटीरहेको बेला आगलागी पीडितहरु भने कहिले घर ठड्याउने भन्ने चिन्तामा छन् ।
आगलागी पीडित पुन्न बुढाले भने ‘हाम्रो बर्षभरीको खर्च आम्दानी गर्ने सिजन यही हो अहिले कमाइएन भने कहिले कमाउने बरु घर रहन्छ तर रिनसापट गरेर भएपनि यार्सागुम्बा संकलन गर्न बनमा जाने तयारीमा जुटीरहेका छौँ ।’

जिल्लामा बग्रेल्ती रुपमा मानवीय सेवा गर्ने भनेर दर्ता भएका गैरसरकारी संस्थाहरुका कार्यक्रमहरु सदरमुकाम दुनै र दुनै आसपासका स्थानीय तहहरुमा केन्द्रित भए पनि मुड्केचुलाका अग्नी पीडितहरुको समस्या प्रति भने उनीहरुको ध्यान पुग्न सकेको छैन ।

आगलागीबाट बेघर बनिरहेका होर्त गाउँका पीडितहरु र उनीहरुका बालबालिकाहरुको शैक्षिक समस्या समाधानको लागि जिल्ला दैबिप्रकोप उद्दार समिति, जिल्ला रेडक्रस र मानवीय सेवा गर्ने भनेर चर्को नारा दिँदै आएका गैससहरुको ध्यान सम्बन्धित पीडितहरु समक्ष पुग्नु जरुरी छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com