प्रदेश नं. ४ को मुख्यमन्त्रीको टुंगो आइतबार लाग्ने


प्रकाशित मिति : माघ २७, २०७४ शनिबार

प्रदेश ४ को मुख्यमन्त्रीको टुंगो लगाउन एमालेले आइतबार प्रदेश संसदीय दल बैठक बोलाएको छ ।

आइतबारको बैठकले एमाले संसदीय दलको नेताको टुंगो लगाउने छ । एमाले दलको नेता नै मुख्यमन्त्री बन्नेछन् ।

मुख्यमन्त्रीमा पार्टीका केन्द्रीय सचिव तथा संगठन विभागका प्रमुख पृथ्वीसुब्बा गुरुङ र स्थायी समिति सदस्य तथा प्रदेश संयोजक किरण गुरुङको दाबी छ ।

दलको नेता छान्न निर्वाचन आयोगका अध्यक्ष सोमनाथ अधिकारी प्यासीको अध्यक्षतामा अधिवक्ता सुरेन्द्र थापामगर र कमल अर्याल सदस्य रहने गरी निर्वाचन कमिटी गठन भएको छ ।

निर्वाचन आयोगका अध्यक्ष प्यासीले दुवै पक्षलाई सँगै राखेर सहमतिको प्रयास गर्ने जानकारी दिए ।

‘पहिलो चरणमा सर्वसम्मतिबाट संसदीय दलको नेता छान्ने कोसिस गरिने छ,’ उनले भने, ‘सर्वसम्मतको प्रयास सफल हुन नसके निर्वाचन प्रक्रियामा जाने तयारी छ ।’

एमालेले संसदीय दलको नेता चयन गरेपछि प्रदेश सरकार गठनको प्रक्रिया सुरु हुनेछ ।

प्रदेशसभामा एमालेको २७ सदस्य छन् । एमालेले प्रदेश नम्बर ५ मा वाहेक प्रदेश नम्बर १ र ३ मा आन्तरिक चुनाव गरेर संसदीय दलको नेता चुनेको छ ।

वाम गठबन्धनमा प्रदेश ४ को मुख्यमन्त्री एमाले र सभामुख माओवादीले लिने सहमति भएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com