ग्रिनकार्ड लिंदा झुठो विवरण दिने खानलाई ३० महिना जेल र देशनिकाला
प्रकाशित मिति : कार्तिक २०, २०७४ सोमबार
अमेरिकी अध्यागमनलाई ढाँटेको लगायतका कैयन अभियोग लागेका पाकिस्तानी नागरिक हजरत खालिद खानलाई अमेरिकी अदालतले ३० महिनाको जेल र देशनिकालाको सजाय सुनाएको छ । बोष्टनको संघीय अदालतले उनलाई अध्यागमन जालसाजी, करछली, विमाछलीको अभियोगमा सजाय सुनाएको हो । उनले ३० महिनाको जेलपछि १ बर्ष खुल्ला निरिक्षणमा रहनुपर्नेछ भने त्यसपछि उनलाई देशनिकाला गरिनेछ ।
बोष्टनमा रहेका ११ वटा रेष्टुरेण्टको सन्दर्भमा उनी कर र बिमाछलीमा सहभागी भएका थिए । उनले आईआरएसलाई २३ लाख ४३ हजार १ सय ५५ अमेरिकी डलर जरिवाना तिर्नुपर्नेछ भने दुईवटा इन्सुरेन्स कम्पनीहरुलाई २७ हजार ८६३ डलर जरिवाना तिर्नुपर्नेछ । आइस र होमल्याण्ड सेक्युरिटीको अनुसन्धानले उनले गरेका विभिन्न अपराधहरु पत्ता लगाएको हो ।
गत अप्रिलमा नै खानले आईआरएसलाई झुक्याएको, करछली गरेको, अमेरिकी नागरिकताको आवेदन दिंदा झुठो विवरण पेश गरेको, भिसा फ्रड गरेको लगायतका अभियोगहरु स्वीकारेका थिए ।
खान बोष्टनमा रहेका ११ वटा फ्राइड चिकेन रेष्टेरेण्टका आंशिक मालिक समेत थिए । उनीहरुले कामदारहरुलाई नगदमा काम गराएर ट्याक्स फाइल गर्दा गलत विवरणहरु बुझाएका थिए ।
खानले नागरिकताको आवेदन दिंदामात्र नभई ग्रिनकार्ड लिंदा समेत गलत विवरण बुझाएको अदालतले ठहर गरेको छ । यसअगाडि पनि उनलाई संघीय अदालतले मानव तस्करीको अभियोगमा दोषी ठहर गरेको थियो भने उनी पक्राउ समेत परेका थिए । तर नागरिकताको आवेदन दिंदा उनले यो विवरण ढाँटेका थिए ।