चितवनको सभाः प्रकाशलाई श्रद्धाञ्जली, प्रचण्डलाई भोट !


प्रकाशित मिति : मंसिर ५, २०७४ मंगलबार

५ असोज, चितवन । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका एकमात्र छोरा प्रकाश दाहालको मंसिर ३ गते निधन भएपछि चितवनमा पूर्वनिर्धारित जनसभा स्थगित हुने धेरैले अनुमान गरेका थिए । छोराको निधनमा विछिप्त बनेका प्रचण्ड परिवारसहित सभामा सहभागी हुन्छन् होला भन्ने धेरैको अनुमानभन्दा बाहिरको कुरा थियो ।

जनसभाको तयारी पहिले केही सामान्य ढंगबाट गरिए पनि प्रकाशको निधन भएपछि सभा नगर्ने सोचसमेत वाम गठबन्धनको निर्वाचन परिचालन समितिले बनाएको थियो । तर, प्रचण्डकै इच्छावमोजिम सभा गर्ने भनिएपछि छोटो तयारीमै सभा सम्पन्न भयो ।

एमाले अध्यक्ष केपी ओलीसँगै मञ्चमा उक्लिएका प्रचण्डले हात हल्लाएर सहभागीहरुलाई अभिवादन गरे । हजारौं सहभागितामा भएको सभाको सञ्चालन एमाले नेता देवी ज्ञवालीले गरे ।

पुत्रशोकको दुई दिन पनि नबित्दै अध्यक्ष प्रचण्डकै आग्रह र अनुरोधमा आयोजित सार्वजनिक कार्यक्रममा सहभागी बनेका प्रचण्डले सभामा समेत आफ्ना आँशु लुकाउन सकेनन् । पत्नी सीता दाहाल, बुहारी विना मगर, छोरीहरुसहित भरतपुरमा हुने चुनावी सभामा सहभागी हुन आएका प्रचण्ड निकै भावुक देखिन्थे । उनका अनुहारमा पीडाहरु भित्रैबाट मडारिएर आएका देखिन्थे ।

पत्नी सीतासँगै मञ्चमा बसेका प्रचण्डले बेलाबेलामा आफू सम्हालिएर पत्नीलाई सान्त्वना दिएको देखिन्थ्यो । उनलाई एमाले नेता माधव नेपालले समेत सान्तवना दिइरहेका थिए ।

छोरी रेणु दाहालसमेत बेला बेलामा सम्झाइरहेको अवस्थामा देखिन्थिन् । मञ्चका उद्घोषकले प्रकाशको नाम लिँदा प्रचण्ड, सीता र उनको परिवार भक्कानिन्थ्यो ।

सभामा श्रद्धाञ्जली मन्तव्य दिएका माओवादी नेता सूर्य सुवेदीले प्रचण्डले आफैंले जन्माएको छोराको निधन भए पनि यो देशमा हजारौं लाखौं अरु प्रकाशहरु छन् । उनीहरु सबैको अविभावकत्व ग्रहण गर्न सक्ने क्षमता प्रदान होस् भन्ने कामना गर्दछाैं भन्दा सभामा सन्नाटा छायो ।

सुवेदीले श्रद्धाञ्जली र एमाले नेता केशवलाल श्रेष्ठले स्वागत मन्तव्य दिएपछि मञ्चको अगाडि प्रकाश दाहालको तस्वीरमा फूलमाला चढाउने कार्यक्रम राखियो । एमाले अध्यक्ष ओली, माओवादी अध्यक्ष प्रचण्डसहित मञ्चमा रहेका प्रचण्ड परिवारका सदस्यहरुले श्रद्धाञ्जली दिने कार्यक्रम अझै बढी शोकमा बदलियो ।

प्रकाश पत्नी विना मगर भक्कानो छाडेर रुँदा त्यहाँको माहौल अझै भावुक बन्यो ।

कात्तिक २८ गतेसम्म चितवनमा नै रहेर चुनावी कार्यक्रममा सहभागी भएका प्रकाश दाहालको अप्रत्यासित निधनले धेरैलाई आश्र्चायचकित बनाएको छ । पछिल्लो समयमा बाक्लो गरी चितवन आएका प्रकाशले धेरैसँग आत्मियतासमेत गाँसेका थिए ।

मंसिर २१ गतेको निर्वाचन आउन १६ दिन मात्रै बाँकी रहँदा प्रकाशलाई श्रद्धाञ्जली र प्रचण्डलाई भोट माग्ने उद्देश्यले सभा आयोजना गरिएको थियो । सभामा जिल्लाका विभिन्न भागबाट हजारौं मानिसहरु सहभागी भएका थिए ।

मूलतः माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका पुत्र प्रकाशलाई श्रद्धाञ्जली र प्रचण्डसहितका नेताहरुलाई भोट माग्ने उद्देश्यले सभा आयोजना गरिएको थियो ।

देश चलाउने भनेको डोजर चलाएजस्तो होइनः ओली

सभामा सहभागीहरुबाट प्राप्त उत्साहले प्रचण्ड परिवारलाई मन भुलाउन केही सान्त्वना पक्कै पनि दिएको हुनुपर्छ । वाम गठवन्धन र प्रचण्डलाई भोट माग्न र जिताउन एमाले अध्यक्ष केपी ओलीले सभाको भरमग्दुर प्रयास गरे ।

उनले प्रचण्डलाई १०/१५ हजारले मात्रै नभई २० हजारभन्दा बढीले निर्वाचन जिताउन आग्रह गरे । ओलीले भने, ‘प्रचण्डजस्तो नेतालाई १०/ १५ हजार मात्रै मतले जिताउँदा नेता र कार्यकर्तालाई लाज हुन्छ ।’

प्रचण्डको तर्फबाट समेत आफैंले सम्वोधन गरेको र प्रचण्डका भनाई नै आफ्नै भएको भन्दै ओलीले प्रचण्डजस्तो दुईपटक प्रधानमन्त्री भएको नेता चितवनले पाउनु गर्वको विषय भएको बताए ।

उनले प्रचण्डलाई भोट मात्रै मागेनन्, विपक्षी गठवन्धन र त्यसका उम्मेदवार विक्रम पाण्डेमाथि कटाक्षसमेत गरे । ‘बाटो ठेक्का लिने र डोजर चलाउने जस्तो हो र देश बनाउने कुरा ?’ ओलीले भने, ‘प्रचण्ड देश बनाउने नेता हुन् ।’

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com