राज्यदेखि केन्द्रीय संसदसम्म रिपब्लिकनले जित्दै आएको केन्टकीमा डेमोक्रेटिक गभर्नर
प्रकाशित मिति : कार्तिक १९, २०७६ मंगलबार
Democratic gubernatorial candidate and Kentucky Attorney General Andy Beshear speaks at the Kentucky Democratic Party election night watch event, Tuesday, Nov. 5, 2019, in Louisville, Ky. (AP Photo/Bryan Woolston)
राज्यको संसददेखि केन्द्रीय संसदसम्म रिपब्लिकनले जित्दै आएको केन्टकीमा गभर्नर पदमा डेमोक्रेटिक उम्मेदवारले जित्नुलाई निकै अर्थपूर्ण रुपमा हेरिएको छ । त्यसमा पनि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका प्रियपात्र मानिने म्याट वेभिन केन्टकीमा गभर्नर पदमा चुनाव हारेका छन् भने डेमोक्रेटिक उम्मेदवार एण्डी बशीरले गभर्नर पदमा विजय हासिल गरेका छन् ।
निकै कम मतान्तरले चुनाव जितेपनि केन्टकीमा डेमोक्र्याटको यो जीतलाई ठूलो जीतका रुपमा लिइएको छ । यद्यपी केन्टकीमा डेमोक्रेटिक गभर्नरले विजय हासिल गरेको इतिहास यस अगाडि पनि लामै छ ।
गभर्नर पदमा नै रहेका रिपब्लिकन म्याट वेभिनका पक्षमा मत माग्न राष्ट्रपति ट्रम्प सोमबार आफै केन्टकी पुगेका थिए । तर ट्रम्पको यो प्रयास पनि काम लागेन । वेभिनले दोश्रो कार्यकालका लागि आफ्नो पद सुरक्षित गर्न सकेनन् ।
केन्टकीमा सन् २०१६ को राष्ट्रपतीय निर्वाचनमा ट्रम्पले हिलारी क्लिन्टन भन्दा ३० प्रतिशत बढी मत ल्याएर विजय हासिल गरेका थिए । अमेरिकी सिनेटका मेजोरिटी लिडर रिपब्लिकन सिनेटर मिच म्याक्नलको गृह राज्य पनि केन्टकी हो ।
केन्टकी त्यस्तो राज्य हो जहाँको राज्य संसदमा रिपब्लिकनहरुको अत्याधिक बहुमत रहेको छ । राज्य सिनेटका ३८ मध्ये २९ सिट रिपब्लिनका छन् भने राज्यको तल्लो सदनका १ सय सिटमध्ये ६१ सिट रिपब्लिकनका छन् ।
त्यस्तै केन्टकीबाट केन्द्रीय सिनेटमा मिच म्याक्नलले सन् १९८५ देखि चुनाव जित्दै आएका छन् भने अर्को सिनेटको पदमा पनि सन् १९९८ देखि रिपब्लिकनले जित्दै आएका छन् । केन्टकीबाट केन्द्रीय संसदको प्रतिनिधिसभामा ६ मध्ये ५ सिट रिपब्लिनले नै जितेका छन् ।
यस्तो स्थानमा डेमोक्रेटिक उम्मेदवार बशीरले ७ लाख ११ हजार ९ सय ५५ मत ल्याएका छन् भने पराजित रिपब्लिकन उम्मेदवार म्याट बेभिनले ७ लाख ७ हजार २ सय ९७ मत ल्याएका छन् । त्यस्तै अर्का उम्मेदवार जोन हिक्सले २८ हजार ४ सय ७५ मत ल्याएका छन् । यसअगाडि बशीर सन् २०१५ मा केन्टकीको एटोर्नी जनरलमा निर्वाचित भएका थिए ।








