अमेरिकामा बढ्दो महँगी र स्वास्थ्य बीमाको पहुँच घट्दा करोडौँ नागरिक मेडिकल ऋणको चपेटामा
विगतमा बीमा नभएकाहरू मात्र मेडिकल ऋणमा पर्ने गरेकोमा अहिले निजी बीमा भएका करिब एक चौथाइ नागरिकसमेत उपचार बिल तिर्न नसक्ने अवस्थामा पुगेका छन्। ऋणको भारका कारण बिरामीहरूले समयमै उपचार रोक्ने तथा खाना र आवासजस्ता आधारभूत आवश्यकतासमेत कटौती गर्नुपर्ने बाध्यता बढेको छ।
Photo: Marek Studzinski/ Unsplash
बढ्दो महँगी र आकाशिएको स्वास्थ्य उपचार खर्चका कारण घरायसी बजेटमा चर्को दबाब परिरहेको र लाखौँले स्वास्थ्य बीमा गुमाउँदै गएको अवस्थामा अमेरिकामा उपचार खर्च तिर्न नसकेर लाग्ने ऋणको समस्या झन् भयावह बन्दै गएको विज्ञहरूले चेतावनी दिएका छन् ।
विगतमा स्वास्थ्य बीमा नभएका व्यक्तिहरू मात्र मेडिकल ऋणमा पर्छन् भन्ने बुझाइ रहे तापनि पछिल्लो समय बीमा भएका नागरिकहरूसमेत यसको उच्च जोखिममा पर्न थालेका छन् । रोबर्ट वुड जोनसन फाउन्डेसनकी वरिष्ठ नीति सल्लाहकार क्याथी हेम्पस्टेडका अनुसार रोजगारदाताले उपलब्ध गराउने स्वास्थ्य बीमाको प्रिमियम महँगो हुनुका साथै बिरामीले आफैँ तिर्नुपर्ने हिस्सा तथा औषधिको मूल्य बढ्दा बीमा भएकाहरूलाई समेत उपचार खर्च धान्न मुस्किल परेको छ ।
सन् २०२५ को अन्त्यमा ‘अफोर्डेबल केयर एक्ट’ अन्तर्गतको कर छुट समाप्त भएपछि करिब २६ लाख अमेरिकीले स्वास्थ्य बीमा गुमाएका छन् । यसका साथै राष्ट्रपति डोनाल्ड ट्रम्पको कर तथा खर्चसम्बन्धी विधेयकले ‘मेडिकेड’ कार्यक्रममा कामको अनिवार्य सर्त, आप्रवासीहरूको नाम हटाउने र बारम्बार विवरण प्रमाणीकरण गर्नुपर्ने नियम लागू गरेपछि थप लाखौँ मानिस बीमाको दायराबाट बाहिरिने अनुमान गरिएको छ ।
जोन्स हप्किन्स ब्लुमबर्ग स्कुल अफ पब्लिक हेल्थकी प्राध्यापक क्याथरिन एटम्यानका अनुसार बीमाविहीनको सङ्ख्या बढ्दा अस्पतालहरूले निःशुल्क उपचार गर्नुपर्ने बाध्यता बढ्छ, जसको अप्रत्यक्ष भार शुल्क तिर्ने बिरामीमाथि पर्न गई समग्र स्वास्थ्य सेवा थप महँगो बन्छ । जर्जटाउन युनिभर्सिटीकी प्राध्यापक मानसा कोनाले इन्धन र आवासजस्ता अत्यावश्यक वस्तुको महँगीसँगै अस्पतालको बिलिङ प्रणालीमा पारदर्शिता नहुँदा बिरामीहरू ऋणको जालोमा फस्ने गरेको बताइन् ।
अर्बन इन्स्टिच्युटको सन् २०२५ को सर्वेक्षणअनुसार २७ प्रतिशत अमेरिकी वयस्क वा तिनका परिवार मेडिकल ऋणको बोझमा छन् । यस्तै, केएफएफको सन् २०२६ अक्टोबरको सर्वेक्षणले बीमा नभएका ३९ प्रतिशत र बीमा भएका २४ प्रतिशत नागरिकलाई उपचार बिल तिर्न समस्या भइरहेको देखाएको छ । कम आय भएका, महिला, अश्वेत तथा हिस्पानिक समुदाय र क्यान्सरजस्ता गम्भीर रोगका बिरामीहरू यसबाट सबैभन्दा बढी प्रभावित छन् । कमनवेल्थ फन्डको सर्वेक्षणअनुसार निजी बीमा भएका ऋणीमध्ये ४६ प्रतिशतले २ हजार वा सोभन्दा बढी र करिब २० प्रतिशतले ५ हजार डलर वा सोभन्दा बढी ऋण तिर्न बाँकी छ ।
मेडिकल ऋणको दीर्घकालीन असर गम्भीर देखिएको छ । ऋणको डरले बिरामीहरूले समयमै उपचार नगराउँदा रोग झन् जटिल बन्ने गरेको छ भने खाना, भाडा र बिजुलीजस्ता आधारभूत आवश्यकता कटौती गर्नुपर्दा आवास असुरक्षा र अन्य ऋणको भारसमेत थपिने गरेको छ । यद्यपि, मध्यावधि निर्वाचनमा महँगी मुख्य मुद्दा बनेपछि नयाँ कंग्रेसले संघीय नीतिमा सुधार गर्ने अपेक्षा गरिएको छ । प्राध्यापक कोनाका अनुसार यो विषयमा दुवै प्रमुख राजनीतिक दलको चासो रहेकाले राज्य स्तरबाटै नागरिकलाई मेडिकल ऋणबाट जोगाउने कानुनी सुरक्षा कवच निर्माण हुने आशा पलाएको छ ।





