६ मंसिर २०८३, आइतबार| Sunday, November 22, 2026
अमेरिका

दशकौंको मौनता तोड्दै न्युयोर्कले सार्वजनिक गर्‍यो ९/११ को वायु प्रदूषण र स्वास्थ्यसम्बन्धी थप ८४ हजार गोप्य फाइल

२५ वर्षदेखिको पर्खाइ र दशकौंको प्रशासनिक ढिलासुस्तीपछि न्युयोर्क सहरले ९/११ स्वास्थ्यसम्बन्धी तेस्रो चरणका दस्तावेज सार्वजनिक गरेको छ। विषाक्त हावा र स्वास्थ्य असरबारे पीडित, उद्धारकर्मी तथा परिवारलाई स्पष्ट जानकारी दिन आगामी महिनाहरूमा थप फाइलहरू पनि बाहिर ल्याइनेछ।

यो समाचार सुन्नुहोस्0:00 / --:--

Photo: Todd Quackenbush/ Unsplash

न्युयोर्क सहरले सेप्टेम्बर ११ को आतंकवादी आक्रमणपछिको वायुको गुणस्तर र स्वास्थ्यसम्बन्धी थप ८४ हजार गोप्य फाइलहरू सार्वजनिक गरेको छ। सरोकारवाला अभियन्ताहरूसँगको अदालती सम्झौताअनुसार मेयर जोहरान ममदानीको प्रशासनले गत सेप्टेम्बरयता तेस्रो चरणमा यी दस्तावेजहरू बाहिर ल्याएको हो। यससँगै सार्वजनिक गरिएका कुल दस्तावेजहरूको संख्या ४ लाख ४० हजार पृष्ठभन्दा बढी पुगेको छ।

‘९/११ हेल्थ वाच’ र ममदानी प्रशासनबीच भएको सहमतिअनुसार आगामी महिनाहरूमा थप दस्तावेजहरू पनि सार्वजनिक गरिँदै जानेछ। तर, ९/११ हेल्थ वाचका कार्यकारी निर्देशक बेन्जामिन चेभाटले अहिलेसम्म सार्वजनिक भएका दस्तावेजहरू ‘समुद्रमा एक थोपा’ बराबर मात्र रहेको र कुल दस्तावेजको ५ प्रतिशतभन्दा कम मात्र बाहिर आएको अनुमान गरेका छन्। वर्षौंसम्म पूर्वमेयरहरूले यी विवरणहरू लुकाउन खोजेपछि चेभाटको समूहले दस्तावेज सार्वजनिक गर्न माग गर्दै मुद्दा दायर गरेको थियो। सर्वसाधारणले सहरको आधिकारिक पोर्टल nyc.gov/sept11docs मार्फत यी दस्तावेजहरू हेर्न सक्नेछन्।

अदालती सम्झौताअनुसार यी रेकर्डहरू सार्वजनिक गर्न सहमत हुने ममदानी पहिलो मेयर हुन्। एक विज्ञप्ति जारी गर्दै मेयर ममदानीले भने, सेप्टेम्बर ११ को भयानक आतंकवादी आक्रमण र त्यसपछिका विनाशकारी स्वास्थ्य परिणामहरूपछि न्युयोर्कवासीले सरकारसँग पारदर्शिताको माग गरेका थिए, तर उनीहरूलाई मौनताले जवाफ दिइयो। दशकौंदेखि उत्तरको पर्खाइमा रहेका नागरिकका लागि हामीले सहरको पहिलो सार्वजनिक पोर्टल सुरु गर्‍यौं। १ करोड १० लाखभन्दा बढी पटक पोर्टल हेरिसकिएको छ र ४ लाख ४० हजार पृष्ठ सार्वजनिक भइसकेका छन्, तर हाम्रो काम अझै सकिएको छैन। जीवित बचेकाहरू, उद्धारकर्मी र पीडित परिवारले पाउनुपर्ने स्पष्ट जानकारी नपाएसम्म हामी रेकर्डहरू सार्वजनिक गरिरहनेछौं।

वर्ल्ड ट्रेड सेन्टरका टावरहरू भत्किएपछि तल्लो म्यानह्याटनमा फैलिएको विषाक्त हावाबारे आवाज उठाउँदै आएका स्वास्थ्य अभियन्ताहरूका लागि यो निरन्तरको प्रकाशन ठूलो जित मानिएको छ। विभिन्न अध्ययनहरूले सन् २००१ को आक्रमणमा मारिएका २ हजार ९ सय ९७ जनाभन्दा बढी उद्धारकर्मीहरूको मृत्यु ९/११ सँग सम्बन्धित क्यान्सर र अन्य रोगका कारण भइसकेको देखाएका छन्। सहरका कर्पोरेसन काउन्सिल स्टिभन बैंक्सले २५ वर्षदेखि उद्धारकर्मी र पीडित परिवारले पर्खिरहेको जानकारी उपलब्ध गराउन दशकौंको प्रशासनिक ढिलासुस्ती हटाउँदै लगिएको बताए।

सार्वजनिक गरिएका दस्तावेजहरूमध्ये सन् २००१ अक्टोबरको ‘हार्डिङ मेमो’ सबैभन्दा चर्चित छ। तत्कालीन मेयर रुडी जुलियानीको कार्यकालमा आर्थिक विकाससम्बन्धी उपमेयर बब हार्डिङलाई सहरका वकिलहरूले लेखेको उक्त पत्रमा आक्रमणको केही हप्तापछि विषाक्त हावाको सम्पर्कमा आएका मानिसहरूबाट सहरले दशौं हजार मुद्दाको सामना गर्नुपर्ने हुनसक्ने स्वीकार गरिएको थियो।

यसका साथै, सार्वजनिक रेकर्डहरूले अन्य अप्रत्याशित रहस्यहरू पनि उजागर गरेका छन्। अघिल्लो चरणमा सार्वजनिक दस्तावेजअनुसार बासिन्दाहरूको हावा र पानीको सुरक्षा गर्ने जिम्मेवारी पाएको सहरको वातावरण संरक्षण विभाग नै ९/११ आक्रमण हुनुभन्दा केही हप्ताअघि संघीय वातावरणीय अपराधमा दोषी ठहर भएको खुलेको थियो।

तत्कालीन मेयर जुलियानीकै पालामा सन् २००१ अगस्टमा उक्त विभागले एक गम्भीर अपराधसहित दुईवटा वातावरणीय अपराध स्वीकार गरेको थियो। सन् १९९८ मा सहरको पिउने पानी आपूर्ति गर्ने न्युयोर्कको एक जलाशयको सहायक नदीमा पारो मिसिएको दूषित पानी मिसाएर ‘स्वच्छ पानी ऐन’ उल्लंघन गरेको विभागले स्वीकार गरेको थियो। त्यस्तै, वेस्टचेस्टर काउन्टीमा संचालित पानी आपूर्ति केन्द्रमा ‘पीसीबी’रसायनयुक्त मेसिनहरू अनधिकृत रूपमा प्रयोग गरी विषाक्त पदार्थ नियन्त्रण ऐन उल्लंघन गरेकोमा पनि विभाग दोषी ठहर भएको थियो।

लेखक रमेश फुल्लेल

रमेश फुल्लेलले खसोखासका लागि समसामयिक विषयमा रिपोर्टिङ गर्छन्। नेपालका अनलाइन सञ्चारमाध्यममा रिपोर्टिङको अनुभव बटुलेका उनले राजनीति, अध्यागमन लगायतका विषयमा समाचार लेख्दै आएका छन्। साथै, उनले स्थानीय जनसरोकारका विषयमा समेत रिपोर्टिङ र विश्लेषण प्रस्तुत गर्दै आएका छन्।

यस लेखकका थप समाचार →