एनआरएनको नागरिकता, सम्पत्ति सुरक्षा र लगानीका समस्या समाधान गर्ने रास्वपा सांसद बोहराको प्रतिबद्धता
न्यूयोर्कमा आयोजित एक कार्यक्रममा बोल्दै रास्वपा सांसद दीपकराज बोहराले गैरआवासीय नेपालीको नागरिकता, सम्पत्ति तथा लगानीको सुरक्षा र सरकारी सेवामा सहज पहुँचका लागि आवश्यक कानुनी तथा नीतिगत सुधार गर्ने प्रतिबद्धता जनाएका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टीका प्रतिनिधिसभा सदस्य दीपकराज बोहरा न्यूयोर्कमा आयोजित कार्यक्रममा बोल्दै। तस्बिर: राजन काफ्ले/खसोखास।
न्यूयोर्क — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रतिनिधिसभा सदस्य दीपकराज बोहराले गैरआवासीय नेपालीको नागरिकता, सम्पत्ति तथा लगानीको सुरक्षा र सरकारी सेवामा सहज पहुँच सुनिश्चित गर्न आवश्यक कानुनी तथा नीतिगत सुधार गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
न्यूयोर्कमा आयोजित एक कार्यक्रममा बोल्दै बोहराले विदेशमा रहेका नेपालीको ज्ञान, सीप, पुँजी र प्रविधिलाई नेपालको विकाससँग जोड्नुपर्ने बताए। रास्वपाले चुनावी वाचापत्रमा अघि सारेको ‘एक पटकको नेपाली, सधैंको नेपाली’ भन्ने प्रतिबद्धतालाई व्यवहारमा उतार्न गैरआवासीय नेपालीले लामो समयदेखि भोग्दै आएका समस्या समाधान गर्नुपर्ने उनको भनाइ थियो।
न्यूयोर्क आउनुअघि पार्टी सभापति रवि लामिछानेसँग घोषणापत्रमा गैरआवासीय नेपालीका लागि गरिएका प्रतिबद्धताको कार्यान्वयनबारे छलफल गरेको उनले बताए। आफूले ती प्रतिबद्धताबारे स्पष्ट पार्न सभापतिसँग आग्रह गरेको उल्लेख गर्दै उनले विदेशमा रहेका नेपालीका प्रमुख सरोकारलाई चार विषयमा प्रस्तुत गरे—गैरआवासीय नागरिकताको सहज उपलब्धता, सम्पत्ति तथा लगानीको सुरक्षा, सरकारी सेवा-सुविधामा सहज पहुँच र नयाँ पुस्तालाई नेपालसँग जोड्ने प्रयास।
बोहराले संविधान र नागरिकता ऐनअनुसार आवश्यक कागजात पूरा गरेका गैरआवासीय नेपालीले सहज रूपमा नागरिकता पाउने व्यवस्था सरकारले मिलाइसकेको दाबी गरे। नागरिकता प्राप्तिको प्रक्रियामा अनावश्यक ढिलासुस्ती वा समस्या भए आफूहरूलाई प्रत्यक्ष जानकारी गराउन उनले आग्रह गरे।
“कानुनबमोजिम हुने काममा ढिलासुस्ती भए हामीलाई प्रत्यक्ष रूपमा पनि भन्न सक्नुहुन्छ,” उनले भने, “तत्काल गर्न सकिने काम गर्न हामी प्रतिबद्ध छौं।”
गैरआवासीय नेपालीलाई आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारसहितको नागरिकता उपलब्ध गराउने कानुनी व्यवस्थाको प्रभावकारी कार्यान्वयन महत्त्वपूर्ण रहेको उनको भनाइ थियो।
नेपाल आउजाउ गर्दा भिसा प्रक्रियामा सहजता र शुल्क छुटको व्यवस्था गर्ने विषय पनि उनले उठाए। कम्पनी र घरजग्गासम्बन्धी पुराना कानुनी प्रावधानका कारण केही अवरोध कायम रहेको उल्लेख गर्दै उनले ती कानुनमा सुधार गरी सरकारी सेवा-सुविधामा गैरआवासीय नेपालीको पहुँच सहज बनाउने विषयमा छलफल भइरहेको बताए।
नेपालमा रहेका नेपाली र विदेशमा बस्ने नेपालीबीचको सम्बन्धलाई सामाजिक तथा भावनात्मक रूपमा पनि बलियो बनाउनुपर्नेमा उनले जोड दिए।
बोहराले नेपालमा गैरआवासीय नेपालीको पैतृक सम्पत्ति तथा आफ्नै कमाइबाट जोडेको घरजग्गा र अन्य सम्पत्तिको सुरक्षा सुनिश्चित गर्ने प्रतिबद्धता जनाए। विदेशमा आर्जित ज्ञान, सीप, पुँजी र प्रविधि नेपाल भित्र्याउन सके देशमा पुँजीको अभाव कम हुनुका साथै लगानीकर्ताले पनि उचित प्रतिफल पाउन सक्ने उनको भनाइ थियो।
उनका अनुसार गैरआवासीय नेपालीलाई नेपालको सेयर बजारमा लगानी गर्न दिने विषयमा सरकारले आवश्यक तयारी गरिरहेको छ। विशेषगरी जलविद्युत् र पर्यटन क्षेत्रमा बिमासहितको लगानी सुरक्षा तथा आर्जित नाफा सहज रूपमा विदेश लैजान सकिने नीतिगत व्यवस्था गर्न सरकार तयार रहेको उनले बताए।
नेपालमा लगानी गर्दा पुँजी डुब्ने हो कि, सरकारी कार्यालयमा घुस नदिई काम हुन्छ कि हुँदैन र भ्रष्टाचार नियन्त्रण हुन्छ कि हुँदैन भन्ने चिन्ता विदेशमा रहेका नेपालीमा रहेको आफूले बुझेको बोहराले बताए। नेपालमा विगतमा भ्रष्टाचार र प्रशासनिक बेथितिका कारण गैरआवासीय नेपालीले समेत समस्या भोग्नुपरेको उनको भनाइ थियो।
“लगानीको वातावरण बनाउने जिम्मेवारी हाम्रो हो, सरकारको हो,” उनले भने, “तपाईंहरूले रोजगारी सिर्जना गर्ने हो। तपाईंहरूका लागि सहज नीति र नियम बनाउने जिम्मेवारी हाम्रो हो।”
नेपालमा लगानीको वातावरण निर्माण गर्ने विषयमा आयोजना गरिएको कार्यक्रमलाई उनले त्यस दिशाको एउटा सुरुवातका रूपमा व्याख्या गरे।
विदेशमा रहेका नेपाली विज्ञको ज्ञान र अनुभव नेपालमा उपयोग गर्न ‘ब्रेन गेन सेन्टर’लाई व्यवस्थित र प्रभावकारी बनाउनुपर्नेमा बोहराले जोड दिए। त्यस्तो संयन्त्रको स्वरूप र सञ्चालनबारे प्रवासी नेपालीकै सल्लाह र सुझाव लिनुपर्ने उनले बताए।
विदेशमा हुर्किरहेका नयाँ पुस्तालाई नेपाली भाषा, संस्कार र संस्कृतिसँग जोड्न नेपाली दूतावासमार्फत कार्यक्रम सञ्चालन गर्ने प्रस्ताव पनि उनले राखे। नेपालसँगको सम्बन्धलाई लगानीमा मात्र सीमित नराखी सामाजिक, सांस्कृतिक र भावनात्मक रूपमा समेत बलियो बनाउनुपर्ने उनको धारणा थियो।
विदेशमा बसिरहेका धेरै नेपालीमा स्वदेश फर्केर परिवार र आफन्तसँगै बसेर देश विकासमा योगदान गर्ने चाहना रहेको उल्लेख गर्दै बोहराले त्यस्तो चाहनालाई व्यवहारमा उतार्न अनुकूल वातावरण निर्माण गर्नुपर्ने बताए।
बोहराले रास्वपाले झन्डै दुई तिहाइ जनमतसहित सरकार सञ्चालन गर्ने जिम्मेवारी पाएको उल्लेख गर्दै जनताको विश्वास पूरा गर्न पार्टी र सरकार निरन्तर काम गरिरहेको बताए। प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारले सुशासन कायम गर्ने र राज्यका नीति तथा संस्थालाई पारदर्शी बनाउने प्रयास गरिरहेको उनको दाबी थियो।
सरकारले प्रतिबद्धता जनाएका सय दिनका केही काम ढिला भएको र प्रशासनिक संयन्त्रमा समेत केही अलमल रहेको उनले स्वीकार गरे। तर सुधारको प्रक्रिया सुरु भइसकेको दाबी गर्दै उनले विगतमा राज्यका निकायमा प्रभाव जमाउने बिचौलियाहरूको भूमिका घटेको र भ्रष्टाचारविरुद्ध काम भइरहेको बताए।
“गलत गर्दैनौं, गलत हुन दिँदैनौं,” उनले भने।
उनले नेपाललाई भारत, मलेसिया, सिंगापुर र दक्षिण कोरियाजस्ता देशको विकाससँग तुलना गर्दै अब नेपालको विकासका लागि छिमेकी भारतले हासिल गरेको प्रगतिबाट पनि सिक्नुपर्ने बताए। भारतको सडक, शिक्षा, स्वास्थ्य प्रणाली र विमानस्थलको विकास उदाहरणीय रहेको उनको भनाइ थियो।
नेपालमा पहुँचका आधारमा नभई क्षमता र नियमका आधारमा काम हुने वातावरण बनाउनुपर्नेमा जोड दिँदै उनले युवालाई बाध्यताले विदेशिनुपर्ने अवस्थाको अन्त्य गर्नुपर्ने बताए। विशेषगरी मासिक २० देखि ३० हजार रुपैयाँ कमाउन खाडी मुलुकमा श्रम गर्न बाध्य युवाले स्वदेशमै रोजगारी पाउने वातावरण निर्माण गर्नुपर्ने उनको भनाइ थियो।
“हामी यस्तो नेपाल बनाउन चाहन्छौं जहाँ व्यवहारमा पहुँच होइन, क्षमता चलोस्; जहाँ काम गर्न नियम पालना गरे पुगोस्; र जहाँ युवाले भविष्य खोज्न बाध्यताले विदेश जान नपरोस्,” उनले भने।
नेपालको विकासमा विदेशमा रहेका नेपालीको साथ र योगदान अपरिहार्य रहेको उल्लेख गर्दै बोहराले स्वदेश फर्कन वा विदेशबाटै देश निर्माणमा जोडिन चाहनेहरूका लागि अनुकूल वातावरण बनाउन रास्वपाले जिम्मेवारी लिने प्रतिबद्धता जनाए।





