अमेरिकाको ‘मोस्ट वान्टेड’ सूचीमा रहेका कुख्यात मेक्सिकन लागूऔषध तस्कर पक्राउ
विगत दुई दशकभन्दा लामो समयदेखि अमेरिकामा ठूलो मात्रामा लागूऔषध तस्करी गर्दै आएको आरोप लागेका बेल्ट्रान लेभा कार्टेलका नेता शुक्रबार राति विशेष सैन्य कारबाहीमा पक्राउ परेका हुन् । पक्राउको विरोधमा कार्टेलका लडाकुहरूले राजमार्गमा आगजनी र गोलीबारी गरे पनि सुरक्षा बलले अवस्था नियन्त्रणमा लिएको जनाएको छ ।
Photo:Oscar De La Lanza/ Unsplash
मेक्सिकोको सैन्य बलले अमेरिकाको सङ्घीय जाँच ब्युरोको १० सर्वाधिक खोजीको सूचीमा रहेका कुख्यात लागूऔषध तस्कर फाउस्टो इसिद्रो मेजा फ्लोरेस अर्थात् ‘एल चापो इसिद्रो’ लाई पक्राउ गरेको छ । शुक्रबार राति सिनालोआ राज्यमा चलाइएको विशेष कारबाहीका क्रममा मेजा फ्लोरेससहित उनको आपराधिक सञ्जालका अन्य दुई शीर्ष नेताहरूलाई नियन्त्रणमा लिइएको मेक्सिकोका सुरक्षा प्रमुखले शनिबार जानकारी दिएका छन् ।
अमेरिकी विदेश मन्त्रालयका अनुसार मेजा फ्लोरेस र उनको गिरोहले विगत २० वर्षभन्दा बढी समयदेखि अमेरिकामा ठूलो मात्रामा हेरोइन, मेथाम्फेटामाइन, कोकिन र गाँजा तस्करी गर्दै आएका थिए । उनी बेल्ट्रान लेभा कार्टेलका प्रमुख नेता मानिन्छन् । सन् २०२४ मा सिनालोआ कार्टेलका संस्थापक इस्माएल ‘एल मायो’ जाम्बाडा अमेरिकी हिरासतमा परेपछि कार्टेलको नियन्त्रणका लागि ‘लस चापितोस’ र ‘लस मायोस’ समूहबीच आन्तरिक द्वन्द्व सुरु भएको थियो । सुरक्षा विज्ञहरूका अनुसार मेजा फ्लोरेसको बेल्ट्रान लेभा समूहले पछिल्लो समय ‘लस मायोस’ समूहसँग गठबन्धन गरेको थियो ।
लागूऔषध तस्करविरुद्ध कडा कदम नचाले मेक्सिकोभित्र एकतर्फी सैन्य कारबाही गर्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चेतावनीपछि मेक्सिकन सरकारले उच्च तहका तस्करहरूलाई पक्राउ गर्ने र कारबाही गर्ने क्रमलाई तीव्रता दिएको छ ।
शुक्रबार राति सिनालोआ राज्यको गुआसाभेमा मेजा फ्लोरेस पक्राउ परेपछि सुरक्षाकर्मी र कार्टेलका सदस्यहरूबीच भीषण सशस्त्र झडप भएको छ । कार्टेलका लडाकुहरूले विभिन्न राजमार्ग तथा क्षेत्रमा सवारीसाधनमा आगजनी गर्दै अवरोध खडा गरेका थिए । सामाजिक सञ्जालमा सार्वजनिक भिडियोहरूमा मेक्सिकन सुरक्षा बलको हेलिकप्टरले जमिनमा रहेका लक्ष्यमा गोली प्रहार गरिरहेको, बेसबल खेल हेरिरहेका दर्शक र रात्रिकालीन बजारमा रहेका सर्वसाधारण ज्यान जोगाउन भागदौड गरिरहेको देखिन्छ ।
मेक्सिकोको रक्षा मन्त्रालयका अनुसार उक्त भिडन्तमा मेक्सिकन सेनाका चार जना पैदल सैनिकको मृत्यु भएको छ । सुरक्षाकर्मीको जवाफी कारबाहीमा सात जना आक्रमणकारी मारिएका छन् भने आठ जना संदिग्ध अपराधी पक्राउ परेका छन् । पक्राउ परेकामध्ये मेजा फ्लोरेस, सङ्गठनका दोस्रो वरीयताका नेता मानिने उनका काकाका छोरा र आर्थिक कारोबार सम्हाल्ने उनका सालो/जेठानलाई शनिबार बिहान मेक्सिको सिटी लगिएको छ । अन्य पाँच जनालाई सिनालोआको कुलियाकानस्थित महान्यायाधिवक्ताको कार्यालयमा बुझाइएको छ । कारबाहीका क्रममा सुरक्षाकर्मीले ५० क्यालिबरको राइफल, ग्रिनेड लन्चर र दुई वटा ह्यान्ड ग्रिनेडलगायतका हतियार बरामद गरेको सुरक्षा मन्त्री ओमार गार्सिया हार्फुचले बताएका छन् ।
मेक्सिकोको रक्षा मन्त्रालयले अमेरिकी र मेक्सिकन गुप्तचर निकायहरूको समन्वयमा सेना र नेसनल गार्डको विशेष फौजले यो अपरेसन सफल पारेको जनाएको छ । मेक्सिकोका लागि अमेरिकी राजदूत रोनाल्ड जोनसनले सामाजिक सञ्जाल ‘एक्स’ मार्फत मेक्सिकन सुरक्षा बलको प्रशंसा गर्दै दुई देशबीचको रणनीतिक गुप्तचर सूचना आदानप्रदान र निरन्तरको सहकार्यले यो सफलता सम्भव भएको उल्लेख गरेका छन् । अमेरिकी होमल्यान्ड सेक्युरिटी इन्भेस्टिगेसन र यूएस नर्दर्न कमान्डले पनि यसलाई मेक्सिकोको शक्तिशाली कार्टेल सञ्जालमाथिको ठूलो प्रहार भन्दै स्वागत गरेका छन् ।
शुक्रबार रातभर आगजनी र गोलीबारीका कारण तनावग्रस्त बनेको सिनालोआको अवस्था शनिबारबाट निकै साम्य भएको छ । राज्यका अधिकारीहरूले स्थिति पूर्ण रूपमा नियन्त्रणमा रहेको र राजमार्ग तथा सहरहरूमा आवागमन सहज बनाउने काम भइरहेको बताएका छन् । यद्यपि, रातभरको त्रासका कारण गुआसाभे सहरका पसलहरू बन्द रहेका र सडक सुनसान देखिए पनि हाल व्यापक हिंसाका घटना रोकिएको स्थानीय सुरक्षा अधिकारीले जनाएका छन् ।





