३ मंसिर २०८३, बिहिबार| Thursday, November 19, 2026
अन्तर्राष्ट्रिय

आप्रवासी कामदारको श्रम शोषणको आरोपमा इन्टरकन्टिनेन्टल होटल्स ग्रुपविरुद्ध न्युयोर्कमा मुद्दा

कामदारमाथि बाध्यकारी श्रम र अमानवीय व्यवहार भएको भन्दै न्युयोर्कका महान्यायाधिवक्ताद्वारा क्षतिपूर्ति र जरिवानाको मागसहित कानुनी कारबाही सुरु

Photo: Karl Callwood/ Unsplash

न्युयोर्कका महान्यायाधिवक्ता लेटिसिया जेम्सले बिहीबार इन्टरकन्टिनेन्टल होटल्स ग्रुप र डाउनटाउन रोचेस्टरस्थित पूर्व होलिडे इन होटलका मालिकविरुद्ध दर्जनौं आप्रवासी कामदारको श्रम शोषण गरेको आरोपमा मुद्दा दायर गरेकी छिन् ।

महान्यायाधिवक्ता जेम्सका अनुसार सन् २०२३ को वसन्त ऋतुमा उक्त होटलको मर्मतसम्भार सुरु भएपछि भर्ती गरिएका कामदारहरूलाई हप्तामा ११२ घण्टासम्म काम गर्न बाध्य पारिएको थियो भने कतिपय कामदारले कम्तीमा आठ महिनासम्म पारिश्रमिक पाएका थिएनन् ।

जेम्सले कामदार र बालबालिकासहित उनीहरूका परिवारलाई होटलको प्रयोगविहीन सातौं तलामा रहेका किरा र मुसाको प्रकोप भएका कोठाहरूमा बस्न बाध्य पारिएको बताइन् । ती कोठाहरूमा न्यानो बनाउने उपकरण, बिजुली, काम गर्ने शौचालय र धाराको पानीसमेत नभएको उल्लेख छ । पारिश्रमिक माग गर्ने कामदारहरूलाई होटल मालिक र मर्मत ठेकेदारले कोठाबाट निकालिदिने र देश निकाला गरिदिने धम्की दिने गरेको महान्यायाधिवक्ताको आरोप छ ।

होटल मर्मतबाट आईएचजीले फाइदा लिएको र निरीक्षणका क्रममा केही कामदारसँग कुराकानी गरेका प्रबन्धकहरूमार्फत उक्त धम्की तथा बाध्यकारी श्रमबारे कम्पनी जानकार रहेको दाबी गरिएको छ । बेलायती कम्पनी आईएचजीको वेबसाइटमा आधुनिक दासत्व, मानव बेचबिखन र बाध्यकारी श्रमविरुद्ध लड्न प्रतिबद्ध रहेको उल्लेख गरिए पनि व्यवहारमा ठीक उल्टो देखिएको जेम्सले बताइन् ।

आफूलाई मानव बेचबिखनविरुद्धको लडाइँको अगुवा भन्न रुचाउने कम्पनीले आफ्नै होटलभित्रका कामदारले मद्दत माग्दा आँखा चिम्लन मिल्दैन, जेम्सले एक विज्ञप्तिमा भनेकी छिन् ।

आईएचजीले एक विज्ञप्ति जारी गर्दै कुनै पनि प्रकारको मानव बेचबिखनको कडा निन्दा गर्ने र मुद्दामा लगाइएका आरोपहरू कम्पनीको मूल्य, मान्यता र अपेक्षाको गम्भीर उल्लंघन भएको जनाएको छ ।

कानुन उल्लंघन गर्ने होटल मालिक र ठेकेदारलाई जवाफदेही बनाउनुपर्छ भन्नेमा हामी सहमत छौं,आईएचजीले भनेको छ, तर मुद्दामा दाबी गरिएझैं होटल मालिक वा ठेकेदारको गम्भीर दुर्व्यवहारबारे आईएचजीलाई कुनै जानकारी थियो भन्ने कुरा हामी दृढतापूर्वक अस्वीकार गर्छौं ।

उक्त मुद्दामा न्युयोर्कको श्रम तथा कार्यकारी कानुन र मानव बेचबिखन पीडित संरक्षणसम्बन्धी संघीय कानुन उल्लंघन गरेको आरोपमा विभिन्न क्षतिपूर्ति र देवानी जरिवानाको माग गरिएको छ ।

खसोखासका समाचार नछुटाउनुहोस्Follow Khasokhas for immigration, green card, tax and community news.Facebook मा Follow गर्नुहोस् →

मुद्दामा सन् २०२० डिसेम्बरमा उक्त होटल खरिद गरी आईएचजीको इजाजतपत्रअन्तर्गत सञ्चालन गर्दै आएका नयन पटेल र ठेकेदार रोमन पेट्रिकलाई पनि प्रतिवादी बनाइएको छ । उनीहरूले कानुनी प्रतिरक्षाका लागि वकिल राखेका छन् वा छैनन् भन्ने स्पष्ट भइसकेको छैन । सार्वजनिक अभिलेखमार्फत प्राप्त ठेगानामा फोन सन्देश छोडिए पनि पटेलले तत्काल प्रतिक्रिया दिएनन् भने पेट्रिकसँग पनि सम्पर्क हुन सकेन ।

उक्त होटललाई सन् २०२५ जनवरीमा ‘विन्डम’ ब्रान्डमा रूपान्तरण गरिएको थियो । तर अग्नि सुरक्षा मापदण्ड र अन्य नियम उल्लंघन गरेको भन्दै रोचेस्टरका अधिकारीहरूले सन् २०२६ जुनमा उक्त होटल बन्द गरिदिएका थिए । आईएचजीको १०० भन्दा बढी देशमा ७ हजारभन्दा धेरै होटल तथा क्यान्डलवुड सुइट्स, क्राउन प्लाजा, होटल इन्डिगो र किम्प्टनजस्ता दर्जनौं ब्रान्डहरू सञ्चालनमा छन् ।

लेखक रमेश फुल्लेल

रमेश फुल्लेलले खसोखासका लागि समसामयिक विषयमा रिपोर्टिङ गर्छन्। नेपालका अनलाइन सञ्चारमाध्यममा रिपोर्टिङको अनुभव बटुलेका उनले राजनीति, अध्यागमन लगायतका विषयमा समाचार लेख्दै आएका छन्। साथै, उनले स्थानीय जनसरोकारका विषयमा समेत रिपोर्टिङ र विश्लेषण प्रस्तुत गर्दै आएका छन्।

यस लेखकका थप समाचार →