२० कार्तिक २०८३, शुक्रबार| Friday, November 6, 2026

‘सधैँ अलिकति माथि’ : चुचुरो जितेर हिमालमै विलीन भएका एक नायक निर्मल पुर्जा

विश्वप्रसिद्ध नेपाली पर्वतारोही निर्मल पुर्जा ‘निम्सदाइ’को पाकिस्तानस्थित ‘ब्रोड पिक’ हिमालमा गएको हिमपहिरोमा परी निधन भएको छ । बिहीबार उत्तरी पाकिस्तानको काराकोरम पर्वतशृङ्खलामा रहेको ८,०४७ मिटर अग्लो ब्रोड पिक आरोहणका क्रममा निम्सदाइ नेतृत्वको १० सदस्यीय टोली हिमपहिरोमा परेको थियो । निम्सदाइसँग सम्बद्ध संस्था ‘एलिट एक्सपेड’ले ब्रोड पिकमा गएको विनाशकारी हिमपहिरोमा परी उनको मृत्यु भएको पुष्टि गरेको हो ।

निम्सदाइको हिमालसँगको उनको सम्बन्ध केवल चुचुरोमा पुगेर कीर्तिमान बनाउने यात्रामा मात्र सीमित थिएन, उनी कठिन मोडमा परेका पर्वतारोहीहरूका लागि एक भरोसायोग्य उद्धारकर्ता पनि थिए । विश्वका अग्ला चुचुराहरूमा एकपछि अर्को कीर्तिमान कायम गरेका निम्सदाइले आफ्नो जीवनको ठुलो हिस्सा चुनौतीहरूको सामना गर्दै बिताए ।

तर, उनको यो साहसिक यात्राको सुरुवात हिमालबाट भने भएको थिएन ।

बाल्यकाल र गोर्खा सैनिक बन्ने सपना
नेपालको धौलागिरि क्षेत्र (म्याग्दी)मा जन्मिएका निम्सदाइ चितवनमा हुर्किएका हुन् । हिमालयको काखमा जन्मिए पनि बाल्यकालमा उनको सपना पर्वतारोही बन्ने थिएन । उनको एउटै लक्ष्य थियो – ‘आफ्ना बुबा र दाजुहरूजस्तै बेलायती सेनामा गोर्खा सैनिक बन्ने ।’

सन् २००३ मा १८ वर्षको उमेरमा उनी गोर्खा सैनिकमा भर्ती भए ।

गोर्खा सैनिकका रूपमा ६ वर्ष बिताएपछि उनको सैन्य यात्राले झनै ठुलो मोड लियो । सन् २००९ मा उनी बेलायती विशेष जलसेवा (स्पेशल बोर्ट सर्भिस – एसबीएस)मा प्रवेश गर्ने पहिलो गोर्खा सैनिक बने ।

बेलायती सेनाको कठिन मानिने एसबीएसमा उनले १० वर्ष सेवा गरे । गोप्य तथा जोखिमपूर्ण सैन्य अभियानहरूमा काम गर्दै उनले विषम परिस्थितिमा द्रुत निर्णय लिने, जोखिमको सही मूल्याङ्कन गर्ने र टोलीको सुरक्षालाई प्राथमिकता दिने कला सिके । पछि यही अनुभव उनको पर्वतारोहण यात्राका लागि अमूल्य साबित भयो ।

पहिलो हिमाल र जीवनको नयाँ अध्याय
निम्सदाइ डटकममा उल्लेख भए अनुसार सन् २०१२ को डिसेम्बरमा सैन्य सेवाको बिदामा रहेका बेला निम्सदाइ सगरमाथा आधार शिविरतर्फ पदयात्रामा निस्किए । त्यो यात्रा नै उनको जीवनको निर्णायक मोड बन्यो ।

खसोखासका समाचार नछुटाउनुहोस्Follow Khasokhas for immigration, green card, tax and community news.Facebook मा Follow गर्नुहोस् →

हिमाललाई नजिकैबाट नियालेपछि उनमा आरोहणप्रतिको रुचि झनै बढ्यो । केवल आधार शिविर पुगेर फर्कनुको सट्टा उनले आफ्ना गाइडलाई वास्तविक रूपमै हिमाल चढ्न सिकाउन आग्रह गरे । त्यसपछि उनले ६,११९ मिटर अग्लो लोबुचे पूर्वी हिमालको सफल आरोहण गरे ।

त्यो उनको पहिलो हिमाल थियो, जसले उनको जीवनमा नयाँ अध्यायको सुरुवात गर्‍यो ।

सैन्य सेवामा रहँदै उनले पर्वतारोहणलाई निरन्तरता दिए । चरम चिसो र उच्च हिमाली वातावरणमा काम गरेको पूर्व अनुभवका कारण उनी कठिन परिस्थितिमा पनि आफूलाई पूर्ण नियन्त्रणमा राख्न सक्थे ।

उनको पर्वतारोहण यात्रामा कीर्तिमानसँगै सधैँ मानवीय पक्ष पनि जोडिइरह्यो । सगरमाथाको पहिलो आरोहणपछि फर्कने क्रममा उनले ‘डेथ जोन’मा समस्यामा परेका एक पर्वतारोहीको एक्लै उद्धार गरे । अत्यन्त जोखिमपूर्ण उचाइमा आफ्नो ज्यानको बाजी लगाएर अरूको जीवन बचाउने उनको प्रयासले उनको साहस र मानवताको बेग्लै परिचय दियो ।

यसै घटनापछि उनले उच्च क्याम्पहरूमा अक्सिजन प्रयोग गर्ने निर्णय गरे । यसको उद्देश्य आफ्नो आरोहण सहज बनाउनु मात्र थिएन, आवश्यक परेको खण्डमा अन्य पर्वतारोहीलाई तुरुन्तै सहयोग गर्न सक्षम रहनु पनि थियो ।

निर्मल पुर्जा ‘निम्सदाइ’ । तस्वीर : उनको फेसबुकबाट

५ दिनमा तीन ८ हजार मिटर अग्ला हिमाल
सगरमाथापछि निम्सदाइको नाम विश्व पर्वतारोहण माझ चर्चामा आउन थाल्यो । सगरमाथाको सफल आरोहण लगतै उनले ल्होत्से र मकालु हिमाल पनि चढे । यी तीन वटै ८ हजार मिटरभन्दा अग्ला हिमाल उनले जम्मा ५ दिनभित्र आरोहण गरे ।

‘प्रोजेक्ट पोसिबल’ : असम्भवलाई सम्भव बनाउने अभियान
सन् २०१९ मा उनले बेलायती विशेष सैन्य बलको सेवा छाड्ने निर्णय गरे । त्यसपछि उनले यस्तो अभियानको घोषणा गरे, जसलाई धेरैले असम्भव ठानेका थिए ।

त्यतिबेलासम्म विश्वका ८ हजार मिटरभन्दा अग्ला १४ वटै हिमाल आरोहण गर्ने कीर्तिमान बनाउन मानिसहरूलाई लगभग ८ वर्ष लाग्ने गर्दथ्यो । तर, निम्सदाइको लक्ष्य थियो – ‘ती १४ वटै हिमाल ७ महिनाभित्र आरोहण गर्ने ।’

उनले यस अभियानको नाम राखे – ‘प्रोजेक्ट पोसिबल’ ।

सबै बाधा–अड्चनलाई पन्छाउँदै उनी एकपछि अर्को चुचुरो चुम्दै गए । अन्ततः ७ महिनाको लक्ष्यभन्दा पनि कम समय (६ महिना ६ दिन) मा उनले विश्वका ८ हजार मिटरभन्दा अग्ला १४ वटै हिमाल सफलतापूर्वक आरोहण गरे । शिशापाङ्माको चुचुरोमा पुगेपछि उनले गर्वका साथ घोषणा गरे – ‘मिसन अचिभ्ड !’

यो केवल एउटा विश्व कीर्तिमान मात्र थिएन, यसले उच्च हिमाली पर्वतारोहणमा मानवीय क्षमता र सीमाको नयाँ परिभाषा नै कोर्यो ।

‘सधैं अलिकति माथि’
निम्सदाइको जीवनको मूल मन्त्र थियो – #AlwaysALittleHigher अर्थात् ‘सधैं अलिकति माथि’ ।

यो केवल हिमालको भौतिक उचाइसँग मात्र सम्बन्धित थिएन, जीवनको हरेक क्षेत्रमा आफूलाई निरन्तर उत्कृष्ट बनाउने उनको दृष्टिकोण थियो ।

गोर्खा सैनिक बन्ने सपना बोकेको चितवनको एक बालकदेखि बेलायती विशेष सैन्य बलको सदस्य हुँदै विश्व पर्वतारोहणको शिखरसम्मको यात्रामा उनले हरेक मोडमा आफ्ना सीमाहरूलाई आफैँ चुनौती दिए ।

निम्सदाइसहित ६ नेपाली पर्वतारोहीकै निधन
ब्रोड पिक आरोहणका क्रममा निम्सदाइ नेतृत्वको १० सदस्यीय टोलीमा ६ जना पर्वतारोही नेपाली थिए । हिमपहिरोमा परी निर्मल पुर्जासहित नेपालका पुरबहादुर गुरुङ ‘युक्ता’, किली पेम्बा शेर्पा ‘किलु’, निमा शेर्पा, नवाङ थिन्डु शेर्पा र ग्यालु शेर्पाको निधन भएको हो । 

प्रधानमन्त्री वालेन्द्र शाहले पाकिस्तानको ‘ब्रोड पिक’को हिम पहिरोमा ज्यान गुमाएका निर्मल पुर्जासहितका नेपाली आरोहीको निधनमा श्रद्धाञ्जली व्यक्त गरेका छन् । 

शनिबार फेसबुकमार्फत शोक सन्देश जारी गर्दै प्रधानमन्त्री शाहले आरोहण केवल शिखर चुम्ने यात्रा नभई साहस, अनुशासन, त्याग र मानवीय सीमालाई चुनौती दिने अदम्य आत्मविश्वासको सर्वोच्च अभिव्यक्ति भएको उल्लेख गरेका छन् ।

उनले लेखेका छन्, “आरोहण केवल शिखर चुम्ने यात्रा होइन । यो साहस, अनुशासन, त्याग र मानवीय सीमालाई चुनौती दिने अदम्य आत्मविश्वासको सर्वोच्च अभिव्यक्ति हो । हिमालले धेरैलाई शिखरको गौरव दिन्छ, कहिलेकाहीँ आफ्नै काखमा सधैँका लागि अँगालेर पनि राख्छ । तर, हिमाल आरोहीहरू आफ्नो साहस र समर्पणका कारण इतिहासमा सधैँ अमर रहन्छन् ।”

“निर्मल पुर्जा लगायत सम्पूर्ण दिवङ्गत आरोहीहरूको भौतिक यात्रा मात्रै रोकिएको हो, तर उहाँहरूको साहस, समर्पण र योगदानको इतिहास सधैँ प्रेरणायुक्त र जीवित रहिरहनेछ ।”, उनले थपेका छन् ।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुँदैन। सबै प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि मात्र देखिन्छन्।