‘ब्रोड पिक’ हिमपहिरो : रहेनन् विश्वप्रसिद्ध पर्वतारोही ‘निम्सदाइ’
विश्वप्रसिद्ध नेपाली पर्वतारोही निर्मल ‘निम्सदाइ’ पुर्जाको पाकिस्तानस्थित ‘ब्रोड पिक’ हिमालमा गएको हिमपहिरोमा परी निधन भएको पुष्टि भएको छ । निम्सदाइसँग सम्बद्ध संस्था ‘एलिट एक्सपेड’ले ब्रोड पिकमा गएको विनाशकारी हिमपहिरोमा परी उनको मृत्यु भएको पुष्टि गरेको हो ।
एलिट एक्सपेडका अनुसार पुर्जाको नेतृत्वमा रहेको आरोहण टोलीमा रहेका अन्य दुई सहयात्रीले पनि उक्त दुर्घटनामा ज्यान गुमाएका छन् । निम्सदाइसँगै उनका विश्वासिला आरोहण सहयात्री तथा गाइडहरू पुरबहादुर गुरुङ (युक्त) र निमा शेर्पाको पनि सोही घटनामा मृत्यु भएको छ ।
“विश्वले पर्वतारोहण क्षेत्रका एक युगान्तकारी र महान् आरोही गुमाएको छ,” एलिट एक्सपेडद्वारा जारी वक्तव्यमा भनिएको छ, “निम्सदाइले आफ्नो अद्भुत साहस, विनम्रता र मानव क्षमताप्रतिको अटल विश्वासमार्फत विश्वभरका लाखौँ मानिसलाई ठूलो सपना देख्न, आफूमा विश्वास गर्न र आफ्ना सीमाहरू तोड्न प्रेरित गर्नुभयो ।”
उनको दूरदृष्टि, सबल नेतृत्व र दृढ संकल्पले नै एलिट एक्सपेड, निम्सदाइ फाउन्डेसन, स्काइडाइभ निम्सदाइ र निम्सदाइ स्टोरजस्ता संस्थाहरू स्थापित हुन सकेको वक्तव्यमा उल्लेख छ ।
अत्यन्तै कठिन र जोखिमपूर्ण मौसमका बीच खोज तथा उद्धार कार्यमा खटिएका टोली र सहयोग गर्ने सम्पूर्ण निकायहरूप्रति संस्थाले आभार व्यक्त गरेको छ ।
अल्पाइन क्लब अफ पाकिस्तान (एसीपी)का अनुसार बिहीबार उत्तरी पाकिस्तानको काराकोरम पर्वतशृङ्खलामा रहेको ८,०४७ मिटर अग्लो ब्रोड पिक आरोहणका क्रममा टोली हिमपहिरोमा परेको थियो । हिमपहिरोपछि विश्वविख्यात पर्वतारोही निर्मल पुर्जा नेतृत्वको सिङ्गो टोलीसँग सम्पर्क विच्छेद भएको थियो ।
४३ वर्षीय पुर्जाले सन् २०१९ मा ८ हजार मिटरभन्दा अग्ला विश्वका १४ वटै हिमाल मात्र ६ महिना ६ दिनमा आरोहण गरेर विश्व कीर्तिमान कायम गरेका थिए । साथै, सन् २०२१ को हिउँदमा पाकिस्तानको के-टु हिमालमा पहिलोपटक सफल शीतकालीन आरोहण गर्ने नेपाली टोलीको नेतृत्व पनि उनले नै गरेका थिए ।





