एकै वर्ष नेपाल भित्रिए १ लाख ११ हजारभन्दा बढी अमेरिकी पर्यटक, दोस्रो ठुलो स्रोत बजार बन्यो अमेरिका
तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा घुम्न आएका विदेशी पर्यटक । तस्वीर : कृष्ण न्यौपाने/रासस
नेपालको पर्यटन क्षेत्र महामारीपछिको पुनरुत्थानबाट माथि उठ्दै दिगो वृद्धितर्फ अघि बढेको छ । आर्थिक वर्ष २०८२/८३ मा उत्साहजनक आगमन दर्ज गर्दै कुल १२ लाख ९ हजार ३५७ विदेशी पर्यटक नेपाल भित्रिएका छन् ।
पर्यटन बोर्डका अनुसार सो आर्थिक वर्षमा अमेरिकी पर्यटकको आगमन उल्लेख्य रूपमा बढेको छ । एक वर्षको अवधिमा १ लाख ११ हजार ३२५ अमेरिकी पर्यटकले नेपाल भ्रमण गरेका छन् । यससँगै अमेरिका नेपालको पर्यटन क्षेत्रमा दोस्रो ठुलो स्रोत बजारका रूपमा स्थापित भएको छ ।
एक वर्षमा कुन देशबाट कति पर्यटक नेपाल भित्रिए ?
नेपाल आउने पर्यटकको अग्रस्थानमा सधैँझैँ छिमेकी मुलुक भारत नै रहेको छ । आर्थिक वर्ष २०८२/८३ मा भारतबाट सबैभन्दा बढी ३ लाख ११ हजार ५३१ पर्यटक नेपाल आएका छन् । जुन कुल आगमनको २५ दशमलव ७६ प्रतिशत हो ।
तेस्रो स्थानमा रहेको चीनबाट १ लाख ९ हजार ८९२ पर्यटक नेपाल भित्रिएका छन् ।
बङ्गलादेशबाट ५८ हजार १६३, बेलायतबाट ५६ हजार ६४९, अस्ट्रेलियाबाट ५३ हजार १९५ र श्रीलङ्काबाट ४३ हजार २११ विदेशी पर्यटकले नेपालको भ्रमण गरेका छन् ।
त्यस्तै, भुटानबाट ३६ हजार २८९, म्यानमारबाट ३० हजार ७३७, जर्मनीबाट २९ हजार २९६, थाइल्यान्डबाट २७ हजार २०१, जापानबाट २५ हजार ७६२ तथा मलेसियाबाट २५ हजार ६४० पर्यटक नेपाल आएका छन् ।
पर्यटकीय सिजन : कात्तिकमा सबैभन्दा बढी चाप
बोर्डका अनुसार वर्षभरिकै सर्वाधिक पर्यटक कात्तिक (अक्टोबर/नोभेम्बर) महिनामा आएका छन् । उक्त महिनामा १ लाख २४ हजार ८२९ विदेशीले नेपाल भ्रमण गरे ।
त्यसपछि चैतमा १ लाख १९ हजार ३९०, फागुनमा १ लाख १४ हजार १५२ र असोजमा १ लाख ११ हजार ७८० पर्यटक भित्रिएको बोर्डले जनाएको छ ।
पर्यटकीय गतिविधिमा सकारात्मक वृद्धि : पर्यटन बोर्ड
अन्तर्राष्ट्रिय बजारमा गरिएको सशक्त प्रवर्द्धन, हवाई पहुँचको विस्तार तथा निजी क्षेत्रसँगको सहकार्यका कारण पर्यटन क्षेत्रमा सकारात्मक वृद्धि सम्भव भएको पर्यटन बोर्डको जिकिर छ । नेपाल पर्यटन बोर्डका निमित्त कार्यकारी प्रमुख हिक्मत सिंह ऐर यो आगमनले पर्यटन उद्योग पुनरुत्थानबाट दिगो वृद्धितर्फ गइरहेको प्रस्ट पारेको उल्लेख गर्छन् ।
“प्रमुख स्रोत बजारसँगै नयाँ सम्भावना भएका बजारमा लक्षित प्रवर्द्धनलाई अझ प्रभावकारी बनाउँदै नेपाललाई वर्षैभरि आकर्षक गन्तव्यका रूपमा स्थापित गर्ने हाम्रो प्रयास जारी छ”, ऐर भन्छन् ।
उनले चीन, अमेरिका, अस्ट्रेलिया र बङ्गलादेशजस्ता बजारमा नियमित ’सेल्स मिसन’ सञ्चालन गर्न आवश्यक रहेको बताउँदै आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत निजी क्षेत्रको सहकार्यमा यस्ता कार्यक्रम विस्तार गरिने जानकारी दिए ।
लक्ष्य :’आरोग्य पर्यटन वर्ष २०२७’ र उच्च खर्च गर्ने पर्यटक
नेपाल सरकारले २०२७ लाई ’आरोग्य पर्यटन वर्ष’का रूपमा घोषणा गरिसकेकाले चालु आर्थिक वर्षमा पर्यटकीय आगमन अझै बढ्ने अपेक्षा गरिएको छ । बोर्डले आगामी दिनमा पर्यटकको बसाइ अवधि बढाउने, उच्च खर्च गर्ने पर्यटकलाई आकर्षित गर्ने र परम्परागतसँगै नयाँ अन्तर्राष्ट्रिय बजारमा प्रवर्द्धन प्रक्रियालाई अझ सुदृढ लैजाने रणनीति बनाएको छ ।





