अमेरिकामा चिनियाँ गुप्तचर अपरेसनमाथि ठुलो प्रहार, दर्जन बढी वेबसाइट बन्द


प्रकाशित मिति : २७ जेष्ठ २०८३, बुधबार

अमेरिकामा चिनियाँ गुप्तचर निकायसँग सम्बन्धित रहेको आशंका गरिएका व्यक्तिहरूले सञ्चालन गरेका १२ भन्दा बढी वेबसाइटमाथि कारबाही थालिएको छ। संघीय अधिकारीहरूले ती वेबसाइटहरूलाई नियन्त्रणमा लिएको बताएका छन्।

ती वेबसाइटहरू अमेरिकी सुरक्षा स्वीकृति प्राप्त वर्तमान तथा पूर्व सरकारी अधिकारीहरूलाई जिम्मेवारी दिएर संवेदनशील तथा गोप्य सूचना संकलन गर्न प्रयोग गरिएको आरोप लगाइएको छ। अमेरिकी संघीय अनुसन्धान ब्युरो (एफबीआई) ले अदालतमा पेस गरेको पत्रअनुसार ती वेबसाइटहरू नक्कली परामर्शदाता कम्पनीका रूपमा सञ्चालन गरिएका थिए।

वेबसाइटमार्फत अमेरिकी नागरिकहरूलाई विभिन्न आकर्षक रोजगारीको प्रलोभन दिई संवेदनशील तथा सम्भावित रूपमा गोप्य जानकारीको बदलामा रकम प्रदान गर्ने योजना बनाइएको थियो।

ती वेबसाइटहरूमा ‘अन्तर्राष्ट्रिय मामिला विश्लेषक (घरबाटै काम गर्न सकिने)’, ‘रक्षा विश्लेषक’, ‘पूर्व सैनिकका लागि रोजगारी’ लगायतका पदका लागि विज्ञापन प्रकाशित गरिएको थियो। साथै सामान्य परामर्शदाता सेवासम्बन्धी रोजगारीका अवसरहरू पनि देखाइएका थिए।

एफबीआईका अनुसार कम्तीमा सात जना व्यक्तिलाई ती वेबसाइटमार्फत नियुक्त गरिएको थियो। नियुक्तिपछि उनीहरूलाई चीन–अमेरिका सम्बन्ध, इरान, तथा इजरायल–प्यालेस्टाइन युद्धजस्ता विषयमा अनुसन्धानात्मक प्रतिवेदन तयार गर्न लगाइएको थियो। यस क्रममा नियुक्त गर्ने पक्षले गोप्य, विशेष वा भित्री स्रोतबाट प्राप्त जानकारी उपलब्ध गराउन निरन्तर दबाब दिएको शपथपत्रमा उल्लेख छ।

एफबीआईले यो योजनाको सञ्चालन विदेशमा रहेका व्यक्तिहरूले गरेको र उनीहरू चिनियाँ सरकारका लागि प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा काम गरिरहेको विश्वास व्यक्त गरेको छ। यद्यपि, अमेरिकी न्याय मन्त्रालयले जारी गरेको विज्ञप्तिमा वेबसाइट सञ्चालकहरूले भने आफूहरूको कुनै पनि विदेशी सरकारसँग सम्बन्ध नरहेको दाबी गरेको जनाइएको छ।

अनुसन्धानबाट ती वेबसाइटहरूको खर्च डिजिटल मुद्रासहित विदेशी बैंक खातामार्फत भुक्तानी गरिएको खुलेको छ। एफबीआईका अनुसार संलग्नहरूले अमेरिकाभित्र रहेका बैंक खाताहरूमा रकम पठाएर नियुक्त गरिएका व्यक्तिहरूलाई भुक्तानी गर्ने गरेका थिए। उक्त रकमको स्रोत भने विदेशस्थित खाताहरू नै रहेको पाइएको छ।

इसअघि गत वर्ष अमेरिकी नौसेना अपराध अनुसन्धान सेवाले सार्वजनिक गरेको एक प्रतिवेदनमा विदेशी शक्तिहरूले संघीय सरकारी कर्मचारीहरूलाई लक्षित गरी भर्ती अभियान सञ्चालन गरिरहेको उल्लेख गरिएको थियो।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अमेरिकी अधिकारीहरूले यस घटनालाई विदेशी गुप्तचर निकायहरूले अमेरिकी सुरक्षा संरचनाभित्र पहुँच बनाउन प्रयोग गरिरहेको नयाँ र परिष्कृत रणनीतिको उदाहरणका रूपमा व्याख्या गरेका छन्। उनीहरूले सरकारी तथा पूर्व सरकारी कर्मचारीहरूलाई अनलाइन रोजगारीका प्रस्तावहरूप्रति सतर्क रहन आग्रह गरेका छन्।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com