ट्रम्प प्रशासनले हिराशत बनाउन खरिद गरेका केही गोदाम बिक्री गर्ने तयारी


प्रकाशित मिति : १६ जेष्ठ २०८३, शनिबार

(DHS photo by Tia Dufour)

डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरीटीका अधिकारीहरूका अनुसार ट्रम्प प्रशासनले यसै वर्षको सुरुमा खरिद गरेका केही ठूला गोदामहरू बिक्री गर्ने सम्भावनाबारे अध्ययन गरिरहेको छ। यी गोदामहरूलाई आप्रवासीहरूका लागि ठूला हिराशतका रूपमा प्रयोग गर्ने उद्देश्यले खरिद गरिएको थियो।

होमल्याण्ड सेक्युरीटी र आईसका अधिकारीहरूले यसअघि खरिद गरिएका ११ वटा गोदामहरूमध्ये केहीलाई बिक्रीका लागि पहिचान गरेका छन्। तीमध्ये कतिपय गोदामहरूलाई ८,००० सम्म आप्रवासीहरू राख्न सक्ने गरी पुनर्संरचना गर्ने योजना थियो। यद्यपि, ती सुविधाहरू अझै बजारमा बिक्रीका लागि राखिएका छैनन् र यस विषयमा कुनै अन्तिम निर्णय भइसकेको छैन।

यी गोदामहरू पूर्व होमल्याण्ड सेक्युरीटी सेक्रेटरी क्रिस्टी नोएमको कार्यकालमा देशभर एकै पटक १,००,००० आप्रवासीहरूलाई हिरासतमा राख्ने क्षमता विकास गर्ने योजना अन्तर्गत खरिद गरिएका थिए। पहिलेदेखि नै दशौँ हजार आप्रवासीहरूलाई राख्न सक्ने सुविधाहरू उपलब्ध भएकै अवस्थामा यी थप गोदामहरू किनिएका हुन्। यी गोदाम खरिदको कुल लागत ३८ अर्ब डलरभन्दा बढी अनुमान गरिएको थियो।

होमल्याण्ड सेक्युरीटी अधिकारीहरूका अनुसार, आईसले नोएमको नेतृत्वमा खरिद गरिएका वा भाडामा लिइएका केही विमानहरू पनि बिक्री गर्ने विषयमा विचार गरिरहेको छ, जसमा एउटा विलासी ‘बोइङ ७३७ म्याक्स ८’  विमान पनि सामेल छ। आईसले सामान्यतया देश निकालाका लागि चार्टर्ड विमानहरू प्रयोग गर्ने गर्थ्यो र नोएमको कार्यकालमा खरिद गरिएका यी विमानहरू सरकारको स्वामित्वमा रहेका पहिलो डिपोर्टेसन विमानहरू हुन्।

राष्ट्रपति डोनाल्ड ट्रम्पको ‘सामूहिक देश निकाला’ नीति कार्यान्वयन गर्न खरिद गरिएका यी सम्पत्तिहरूलाई फिर्ता बेच्ने विषयमा भइरहेको छलफलले होमल्याण्ड सेक्युरीटीका नयाँ मन्त्री मार्कवेन मुलिनले नेतृत्व सम्हालेयता एजेन्सीभित्र आएको वैचारिक परिवर्तनलाई स्पष्ट पार्छ। गत जनवरीमा मिनियापोलिसमा अध्यागमन प्रवर्तनका क्रममा दुई अमेरिकी नागरिकको गोली हानी हत्या भएपछि राष्ट्रपति ट्रम्पले पनि अध्यागमन कानुन कार्यान्वयनमा केही ‘नरम दृष्टिकोण’ अपनाउन चाहेको अभिव्यक्ति दिएका थिए।

होमल्याण्ड सेक्युरीटी अधिकारीहरूका अनुसार आईस लाई अब १,००,००० आप्रवासीहरू राख्ने क्षमताको आवश्यकता छैन। मन्त्रालयका प्रवक्ताले एक विज्ञप्ति जारी गर्दै नयाँ नेतृत्व अन्तर्गत होमल्याण्ड सेक्युरीटीले विमान लगायत आफ्ना सबै स्रोतहरूको मूल्याङ्कन गरिरहेको र करदाताहरूको पैसाको सही सदुपयोग गर्दै अमेरिकी नागरिकहरूको सुरक्षा गर्ने राष्ट्रपति ट्रम्पको लक्ष्यलाई निरन्तरता दिने बताएका छन्।

यी ‘मेगा-गोदामहरू’ सार्वजनिक चर्चा र विरोधको विषय बनेका थिए। स्थानीय समुदायहरूमा यसले रोजगारी सिर्जना गर्छ या अर्थतन्त्रलाई धराशायी बनाउँछ भन्नेबारे विवाद उत्पन्न भएको थियो। कतिपय रिपब्लिकन नेताहरूले समेत आफ्ना क्षेत्रमा आईसका गोदामहरू बनाउने योजनाको विरोध गरेका थिए। मेरिल्याण्ड राज्यले हेगर्सटाउन नजिकै आईसको गोदाम निर्माण रोक्न सफल मुद्दा दायर गरेको थियो भने मिसिसिपीका सिनेटर रोजर विकरले पनि बाइहालियामा गोदामलाई बन्दीगृह बनाउने योजनाको आलोचना गरेका थिए।

यदि आईसले यी गोदामहरू बिक्री गरेमा तिनको बजार मूल्यमाथि कडा छानबिन हुन सक्छ। होमल्याण्ड सेक्युरीटीका इन्स्पेक्टर जनरलले आईसको गोदाम खरिद प्रक्रिया लागत-प्रभावी र औचित्यपूर्ण थियो कि थिएन भन्नेबारे लेखापरीक्षण गरिरहेका छन्।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

एटलान्टाको उपनगर सोसल सर्कल ले दायर गरेको मुद्दामा आईसले उक्त सम्पत्तिको वास्तविक मूल्याङ्कन गरिएको मूल्यभन्दा पाँच गुणा बढी रकम तिरेको आरोप लगाइएको छ। सोसल सर्कलका सिटी म्यानेजर एरिक टेलरले आईसको यो योजनाले आफ्नो सानो र शान्त सहरको जनसङ्ख्या रातारात तेब्बर बनाउने र यहाँको खानेपानी तथा ढल पूर्वाधारमा ठूलो चाप पुर्‍याउने भन्दै गोदाम सञ्चालन रोक्न अदालतको ढोका ढकढकाएको बताएका छन्।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com