अमेरिकामा मस्जिद गोलीकाण्ड: सुरक्षा गार्डले आफ्नो ज्यान दिएर १४० बालबालिका बचाए


प्रकाशित मिति : ५ जेष्ठ २०८३, मंगलबार

अमेरिकामा एक सुरक्षा गार्डको साहसिक कदमले गर्दा धेरैको ज्यान जोगिएको छ। सान डिएगोस्थित मस्जिदमा भएको गोलीकाण्डमा ज्यान गुमाएका सुरक्षा गार्ड अमिन अब्दुल्लाहको साहसिक कदमले ठूलो क्षति हुनबाट जोगिएको प्रहरीले जनाएको हो।

सान डिएगोका प्रहरी प्रमुख स्कट वाहलका अनुसार अब्दुल्लाहले आक्रमणकारीहरूविरुद्ध तत्काल प्रतिक्रिया जनाउँदै मस्जिदमा ‘लकडाउन’ प्रक्रिया लागू गरेका थिए। जसका कारण धेरैको ज्यान बच्न सफल भएको हो।

उक्त घटनामा अब्दुल्लाहसहित मन्सुर काजिहा र नादेर अवादको मृत्यु भएको थियो। प्रहरीले दुई जना किशोर आक्रमणकारीहरूले गोली चलाएको र त्यसपछि उनीहरूले आत्महत्या गरेको जनाएको छ।

प्रहरीका अनुसार मस्जिदको प्रवेशद्वारतर्फ दौडिँदै आएका संदिग्धहरूमाथि अब्दुल्लाहले पहिलो गोली चलाएका थिए। त्यसपछि आक्रमणकारीहरूले जवाफी फाइरिङ गरेका थिए।

अब्दुल्लाहले मस्जिदसँगै रहेको विद्यालयमा लकडाउन लागू गराएका कारण त्यहाँ रहेका करिब १४० बालबालिकासहित धेरै व्यक्तिको ज्यान जोगिएको प्रहरीले जनाएको छ। प्रहरी प्रमुख वाहलले अब्दुल्लाहको कदमकै कारण आक्रमणकारीहरू घटनास्थलबाट भाग्न बाध्य भएको बताएका छन्।

मृतक मन्सुर काजिहा र नादेर अवादले पनि पार्किङ क्षेत्रमा आक्रमणकारीहरूको ध्यान आफूतर्फ तानेर थप क्षति हुनबाट जोगाएको प्रहरीको भनाइ छ।

सान डिएगोको इस्लामिक समुदायले अब्दुल्लाहलाई समुदायको सुरक्षाका लागि अन्तिम क्षणसम्म खटिने एक साहसी व्यक्तिका रूपमा स्मरण गरेको छ। काउन्सिल अन अमेरिकन–इस्लामिक रिलेसन्स सान डिएगोकी प्रवक्ता ताजहिन निजामले अब्दुल्लाह सबैका प्रिय व्यक्ति भएको बताइन्।

प्रहरीले यस घटनालाई घृणाजन्य अपराधका रूपमा अनुसन्धान गरिरहेको जनाएको छ। अनुसन्धानका क्रममा संदिग्धहरूसँग सम्बन्धित घरहरूबाट ३० भन्दा बढी बन्दुक तथा अन्य हतियारहरू बरामद गरिएको छ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

एफबीआई का अनुसार संदिग्धहरूबाट धार्मिक तथा जातीय घृणा झल्किने दस्तावेजहरूसमेत फेला परेका छन्।

सान डिएगोका मेयर टड ग्लोरियाले मुस्लिम समुदायप्रति ऐक्यबद्धता जनाउँदै ती आक्रमणकारीहरूले सहरको प्रतिनिधित्व नगर्ने बताएका छन्।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com