विदेशस्थित नियोगलाई ‘डिजिटल’ र ‘ब्रान्ड नेपाल’ अभियानको केन्द्र बनाउने सरकारको तयारी
तस्वीर : एआई निर्मित
नेपाल सरकारले विदेशस्थित नेपाली नियोगहरूबाट प्रदान गरिने राहदानी तथा कन्सुलर सेवालाई डिजिटलाइज गर्ने योजना प्रस्तुत गरेको छ । सरकारले आगामी आर्थिक वर्ष ०८३/८४ को नीति तथा कार्यक्रममार्फत यस्तो योजना अघि सारेको सोमबार सङ्घीय संसद्को संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले जानकारी गराएका हुन् ।
यस्तै, विदेशमा रहेका नेपालीको सुरक्षा र अधिकार संरक्षण गर्न परराष्ट्र मन्त्रालयमा सातै दिन तथा चौबिसै घण्टा ‘सेन्ट्रल रेस्पोन्स युनिट’ र नियोगहरूमा ‘द्रुत उद्धार टोली’ स्थापना गरी सञ्चालन गर्ने सरकारको योजना छ ।
“विदेशस्थित नेपाली नियोगहरूबाट प्रदान गरिने राहदानी तथा कन्सुलर सेवालाई डिजिटलाइज गरिनेछ ।” राष्ट्रपति पौडेलले भने, “विदेशमा रहेका नेपालीको सुरक्षा र अधिकार संरक्षण गर्न परराष्ट्र मन्त्रालयमा सातै दिन चौबिसै घण्टा “सेन्ट्रल रेस्पोन्स युनिट र नियोगहरूमा द्रुत उद्धार टोली स्थापना गरी सञ्चालन गरिनेछ ।”
सरकारले नेपालको मौलिक पहिचान, भाषा, कला र सम्पदालाई विश्व मञ्चमा स्थापित गर्दै सौम्य शक्ति विस्तार गरिने जनाएको छ । साथै, विदेशस्थित नियोगमार्फत नेपाली वस्तु, सेवा, संस्कृति र पर्यटनको विश्वव्यापी प्रवर्धन गर्दै ‘ब्रान्ड नेपाल अभियान’ सञ्चालन गरिने सरकारको तयारी छ ।
सरकारले प्रवासमा रहेका नेपालीको पूँजी, सिप, अनुभव र प्रविधिलाई राष्ट्रिय विकाससँग जोड्न ‘डायस्पोरा विज्ञ सञ्जाल’ तथा ‘ज्ञान बैङ्क’ स्थापना गर्ने योजना अघि सारेको नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।
“गैर आवासीय नेपालीको लगानी आकर्षित गर्न कानुनी सुरक्षा, सहज वित्तीय व्यवस्था र प्रतिफल फिर्ता प्रणाली सुनिश्चित गरिनेछ ।”, नीति तथा कार्यक्रममा भनिएको छ, “गैर आवासीय नेपालीको सहभागिता सुदृढ गर्न नागरिकता, लगानी, वित्तीय पहुँच र लोकतान्त्रिक अधिकारसम्बन्धी नीतिगत तथा कानुनी व्यवस्था सुदृढ गरिनेछ ।”
परम्परागत कूटनीतिलाई आर्थिक कूटनीतिमा रूपान्तरण गर्दै नेपाललाई सूचना प्रविधि र नवप्रवर्तन एवम् शिक्षा र स्वास्थ्य सेवा क्षेत्रका लागि अन्तर्राष्ट्रिय गन्तव्य बनाउन पर्यटन पूर्वाधार, ऊर्जा, सूचना प्रविधि जस्ता क्षेत्रमा विदेशी लगानी प्रवर्धन गरिने सरकारले योजना प्रस्तुत गरेको छ ।
त्यस्तै, सरकारले वैदेशिक सहायता, लगानी र विकास सहकार्यलाई नेपालको सार्वभौमसत्ता र दीर्घकालीन राष्ट्रिय हित अनुकूल परिचालन गरिने जनाएको छ । साथै, नीति तथा कार्यक्रममा उल्लेख भएअनुसार नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता र राष्ट्रिय हितलाई केन्द्रमा राख्दै संयुक्त राष्ट्र सङ्घको बडापत्र, असंलग्नता र पञ्चशीलका सिद्धान्तमा आधारित सन्तुलित कूटनीति अवलम्बन गरिने छ भने छिमेकी तथा मित्र राष्ट्रहरूसँग पारस्परिक लाभ, सम्मान र बहुपक्षीय सहकार्यमा आधारित सम्बन्ध विस्तार गरिनेछ ।





