न्यूयोर्कको हड्सन टनेल परियोजनामा रोकिएको ३० मिलियन डलर कोष फुकुवा
प्रकाशित मिति : फाल्गुन १, २०८२ शनिबार
तस्वीर : विकिपिडिया
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प नेतृत्वको प्रशासनले रोक्का गरेको संघीय कोषमध्ये ३० मिलियन डलर फुकुवा गरेपछि न्यूयोर्क को बहु-अर्ब डलरको हड्सन टनेल परियोजनाले आंशिक राहत पाएको छ। उक्त रकम कुल २०५ मिलियन डलर संघीय कोषको हिस्सा हो।
न्यू जर्सी र न्यूयोर्क राज्यले कोष रोकिएको निर्णयविरुद्ध मुद्दा दायर गरेपछि रकम सार्वजनिक गरिएको हो। दुवै राज्यले अमेरिकी डिपार्टमेन्ट अफ ट्रान्सपोटेसनले कोष उपलब्ध गराउन प्रतिबद्धता नजनाएको भन्दै आकस्मिक सुनुवाइको माग गरेका थिए।
यसअघि अमेरिकी पुनरावेदन अदालतले तल्लो अदालतको आदेश उल्ट्याउन अस्वीकार गरेको थियो। सो आदेशले अक्टोबरमा रोक्का गरिएको कोष उपलब्ध गराउन निर्देशन दिएको थियो, जसका कारण गत हप्ता निर्माण कार्य नै रोकिएको थियो।
गेटवे डेभलपमेन्ट कमिसन ले प्रारम्भिक ३० मिलियन डलर प्राप्त भएको पुष्टि गर्दै बाँकी रकम पनि चाँडै प्राप्त हुने अपेक्षा गरेको जनाएको छ। आयोगले हाल निर्माण कार्य स्थगित अवस्थामा रहेको र कामदारलाई पुनः काममा फर्काउने योजना बनाइरहेको जनाएको छ।
यसअघि न्यायाधीश ज्यानेट वर्गास ले न्यूयोर्क र न्यू जर्सीबीचको महत्वपूर्ण रेल पूर्वाधार सुधारका लागि संघीय सरकारले कोष जारी गर्न आदेश दिएकी थिइन्। सुनुवाइका क्रममा अमेरिकी न्याय विभागले बाँकी रकम पनि केही दिनमै उपलब्ध गराउने जनाएको थियो।
न्यू जर्सीका सिनेटर कोरी बुकर ले कोष फुकुवा हुनु सकारात्मक भएको बताए पनि परियोजनामा फेरि अवरोध नहोस् भन्ने सुनिश्चित गर्न आफू संघर्षरत रहने बताएका छन्। कोष रोकिएपछि करिब एक हजार कामदार कामविहीन भएका थिए।
गत महिना ट्रम्पले कोष फुकुवा गर्ने प्रस्ताव राख्दै डेमोक्र्याटहरूको समर्थनमा वाशिङ्टन डुलेस विमानस्थल र पेन स्टेशन लाई आफ्नै नाममा राख्ने प्रस्ताव गरेका थिए। उक्त प्रस्तावको डेमोक्र्याटहरूले कडा आलोचना गरेका थिए।
हड्सन टनेल परियोजनाले म्यानहट्टन र न्यू जर्सीलाई जोड्ने नयाँ रेल सुरुङ निर्माण गर्नुका साथै दैनिक दुई लाखभन्दा बढी यात्रु र ४२५ रेलले प्रयोग गर्ने सय वर्ष पुरानो सुरुङ मर्मत गर्ने लक्ष्य राखेको छ।
यस परियोजनाका लागि जो बाइडेन नेतृत्वको प्रशासनले करिब १५ अर्ब डलर संघीय सहयोग छुट्याएको थियो। अहिलेसम्म करिब २ अर्ब डलर खर्च भइसकेको जनाइएको छ।






