अमेरिकी राष्ट्रपति ट्रम्पको नयाँ वर्षको सङ्कल्प – ‘पृथ्वीमा शान्ति’


प्रकाशित मिति : पुस १६, २०८२ बिहीबार

नयाँ वर्षको पूर्वसन्ध्यामा बुधबार अमेरिकाको फ्लोरिडास्थित आफ्नो निजी आवास मार-ए-लागो क्लबमा आयोजित समारोहमा बोल्दै राष्ट्रपति ट्रम्प । तस्वीर : एलेक्स ब्रान्डन/एपी-रासस

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नयाँ वर्ष-२०२६ को संकल्प सार्वजनिक गर्दै विश्व शान्तिलाई आफ्नो प्रमुख लक्ष्यका रूपमा अघि सारेका छन्। बुधबार नयाँ वर्षको संकल्प छ कि छैन ? भन्ने प्रश्नको उत्तर दिँदै उनले ‘शान्ति, पृथ्वीमा शान्ति’ भनेका हुन्।

फ्लोरिडास्थित आफ्नो निजी आवास मार-ए-लागोमा प्रथम महिला मेलानिया ट्रम्पसँगै उपस्थित ट्रम्पको उक्त अभिव्यक्तिको भिडियो क्लिप फक्स न्युजमार्फत सार्वजनिक भएको थियो। सोही भिडियो सेयर गर्दै ह्वाइट हाउसको आधिकारिक ‘र्यापिड रेस्पोन्स’ एक्स एकाउन्टले ट्रम्पलाई ‘शान्तिका राष्ट्रपति’ भन्दै प्रशंसा गरेको छ।

ट्रम्पको दोस्रो कार्यकाल सुरु भएको एक वर्ष पूरा हुन अब एक महिनाभन्दा कम समय बाँकी छ। उनले सन् २०२५ जनवरी २० मा दोस्रो कार्यकालका लागि शपथ लिएका थिए।

पदभार सम्हालेयता राष्ट्रपति ट्रम्पले विश्वभर शान्ति प्रवर्द्धन गर्ने नीति अघि सारेको दाबी गर्दै आएका छन्। यसै क्रममा ट्रम्प प्रशासनले युक्रेन–रुस तथा इजरायल–हमासबीच शान्ति स्थापना गर्न कूटनीतिक प्रयास गरिरहेको जनाएको छ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यद्यपि, ट्रम्पको कार्यकालमा विभिन्न सैन्य कारबाहीहरू पनि भएका छन्। सन् २०२५ मा अमेरिकी सेनाले कथित ‘नार्को–आतङ्ककारी’हरूसँग सम्बन्धित जहाजहरूविरुद्ध आक्रमण गरेको थियो। त्यस्तै, परमाणु हतियार विकास रोक्ने उद्देश्यले अमेरिकाले इरानमाथि आक्रमण गरेको र अन्य देशहरूमा आईएसआईएस लक्षित कारबाहीहरू सञ्चालन गरेको बताइएको छ।

गत साता अमेरिकी विदेश मन्त्रालयले एक्समा पोस्ट गर्दै ‘राष्ट्रपति ट्रम्पले शक्तिमार्फत शान्तिको नयाँ युगको सुरुवात गरेका छन्’ भन्दै विश्व मञ्चमा अमेरिकाको सम्मान पुनः स्थापित भएको दाबी गरेको थियो ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com