नेपालमा सूचीकरण नभएका फेसबुकसहितका सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णय
प्रकाशित मिति : भाद्र १८, २०८२ बिहीबार
नेपाल सरकारले सूचीकरण नभएका फेसबुकसहितका सामाजिक सञ्जाल आजैबाट बन्द गर्ने निर्णय गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा बिहीबार बसेको मन्त्री पृथ्वीसुब्बा गुरुङसहित बसेको बैठकले उक्त निर्णय गरेको हो ।
सरकारको निर्णयसँगै फेसबुक, युट्युबसहित २६ वटा सामाजिक सञ्जाल बन्द हुनेछन् ।
सरकारले सामाजिक सञ्जाल प्लेटफर्महरूलाई सूचीकरण हुन दिएको एक हप्ताको म्याद बुधवार सकिएको थियो । सरकारले दिएको म्यादसम्म फेसबुक लगायतका सामाजिक सञ्जालहरू सूचीकरण नभएपछि बन्द गर्ने निर्णयमा सरकार पुगेको हो ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को निर्णय बमोजिम सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले भदौ १२ गते सूचना नै जारी गरेर नेपालमा सञ्चालनमा रही हालसम्म सूचीकरण नभएका सबै सामाजिक सञ्जाल प्लेटफर्महरूलाई ७ दिनभित्र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा अनिवार्य रूपमा सूचीकरण गर्न निर्देशन दिएको थियो । साथै, मन्त्रालयले नेपालभित्र सम्पर्क बिन्दु (पोइन्ट अफ कन्ट्याक) आवासीय गुनासो सुन्ने अधिकारी तथा स्वनियमन परिपालनको निगरानी गर्ने अधिकारी तोक्न समेत सूचित गरेको थियो ।
मन्त्रालयले ७ दिनभित्र सूचीकरण नगर्ने वा सूचीकरणको प्रयोजनका लागि सम्पर्कमा समेत नआउने सामाजिक सञ्जाल प्लेटफर्महरूलाई क्रमशः नेपालभित्र निष्क्रिय गराउने चेतावनी दिँदै सूचीकरण गरेमा सोही क्षणदेखि पुनः सक्रिय गराउने गरी नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिइएको बताएको थियो ।
मन्त्रालयले सूचीकरण नभएका सामाजिक सन्जालहरु आजबाट क्रमशः बन्द गर्न नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिएकोे छ । मन्त्रालयका अनुसार सूचीकरण गरेमा सोही क्षणदेखि पुनः सक्रिय हुनेछन् ।
नेपालमा अहिले टिकटक, भाइबर, विटक, पोपो लाइभ र निम्बज गरी ५ वटा मात्रै सामाजिक सञ्जाल प्लेटफर्महरू दर्ता छन् । सरकारले केही समयअघि टेलिग्राममाथि प्रतिबन्ध लगाएपछि टेलिग्रामले पनि दर्ता प्रक्रियालाई अगाडी बढाएको बुझिएको छ ।








