नेपाल पढ्न आउने विदेशी विद्यार्थीलाई निःशुल्क भिसा
प्रकाशित मिति : जेष्ठ १५, २०८२ बिहीबार
नेपाल सरकारले नेपाल पढ्न आउने विदेशी विद्यार्थीलाई निःशुल्क प्रवेशाज्ञा (भिसा) उपलब्ध गराउने भएको छ ।
उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आज सङ्घीय संसद्मा प्रस्तुत गरेको आर्थिक वर्ष २०८२/८३ को बजेटमा सो प्रस्ताव गरिएको हो ।
नेपाल पढ्न आउने विदेशी विद्यार्थीलाई निःशुल्क प्रवेशाज्ञा सहजीकण गरिने उल्लेख भए पनि भिसा निःशुल्कको प्रबन्ध पहिलो पटक हुन लागेको हो । यसबाट नेपालमा पढ्न आउने विदेशी विद्यार्थीलाई प्रोत्साहन मिल्नेछ ।
विश्वविद्यालयमा विदेशी विद्यार्थीसमेत आकर्षित गर्ने सरकारको नीति रहेको छ ।
बजेटमा भनिएको छ, “विश्वविद्यालयहरूमा विदेशी विद्यार्थी समेत आकर्षित गर्ने नीति लिइनेछ । शैक्षिक क्यालेण्डर अवधिभरको लागि विदेशी विद्यार्थीलाई निःशुल्क भिसा उपलब्ध गराइनेछ । त्यस्ता विद्यार्थीका अभिभावकलाई बहु प्रवेश भिसाको व्यवस्था मिलाइनेछ ।”
नेपाल सरकारले सेवाको प्रकृतिका आधारमा सार्वजनिक निकायमा इन्टर्नलाई परिचालन गरिने जनाएको छ । उद्यमशीलतामैत्री शिक्षालाई प्रोत्साहन गर्न हप्तामा २० घण्टा कामको न्यूनतम ज्याला सहित कमाउँदै पढ्दै कार्यक्रम सञ्चालन गरिने बजेटमा उल्लेख गरिएको छ ।
“सेवाको प्रकृतिका आधारमा सार्वजनिक निकायमा इन्टर्नलाई परिचालन गरिनेछ । उद्यमशीलतामैत्री शिक्षालाई प्रोत्साहन गर्न हप्तामा २० घण्टा कामको न्यूनतम ज्याला सहित कमाउँदै पढ्दै कार्यक्रम सञ्चालन गरिनेछ”, बजेटमा भनिएको छ ।
सरकारले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको लागि २ खर्ब ११ अर्ब १७ करोड विनियोजन गरेको छ ।
तस्बिर : एआई/ग्रोक








