नारायणगढ-बुटवल सडक : वर्षाले रोकिएको निर्माण कात्तिक १५ पछि मात्र सुरु हुने


प्रकाशित मिति : श्रावण २०, २०८१ आईतबार

नारायणगढ–बुटवल सडकखण्डको वर्षाले रोकिएको निर्माण आगामी कात्तिक १५ पछि मात्रै सञ्चालन हुने भएको छ । नेपालमा मनसुन सुरु भएपछि सडक विस्तारको काम रोकेको निर्माण पक्षले कात्तिक १५ पछि काम सुरु गर्नेगरी कार्यतालिका सरकारी पक्षलाई उपलब्ध गराएको हो ।

सडक निर्माणका लागि यही साउन १० गते पुनःएक वर्ष म्याद थप भए पनि अहिले सडक विस्तारको काम भने रोकिएको छ । नारायणगढ–बुटवल सडक खण्डअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को गैँडाकोटदेखि दाउन्ने खण्डमा अहिले सामान्य सडक मर्मत कार्यबाहेक अन्य काम ठप्प रहेको छ ।

बर्खाका कारण यो समयमा सडक कालोपत्र र विस्तारको काम नभए पनि पर्खाल निर्माण र मर्मतको काम भइरहेको नारायणगढ–बुटवल सडक आयोजना पूर्वी खण्डका इञ्जिनियर शिव खनालले बताउनुभयो । “सडक विस्तारको काम पूर्ण रूपमा बन्द छ भन्न त मिल्दैन, तर यो समयमा सडक कालोपत्रबाहेकको सामान्य पर्खाल निर्माण र खाल्डाखुल्डी मर्मतका लागि पूर्वी खण्डमा ६४ जना कामदार खटिएका छन्”, उहाँले भन्नुभयो ।

सडक कालोपत्र र विस्तारको काम कात्तिक १५ देखि मात्र सञ्चालन गर्नेगरी समय तालिका निर्माण कम्पनीले सरकारी पक्षलाई उपलब्ध गराएको छ । योबीचमा मर्मत र पर्खाल निर्माण गर्नेगरी कार्यतालिका पेस गरेको भए पनि सोअनुसारको काम पनि अहिले सडकमा भएको देखिएको छैन ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

चिनियाँ ठेकेदार कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन इञ्जिनियरिङ कर्पोरेसन प्रालिले सडक विस्तारको काम मनसुन सुरु भएदेखि नै रोकेको थियो । यसअघि थपिएको म्याद यही साउन ८ गते सकिएपछि सरकारले थप एक वर्षका लागि म्याद थपिदिएको हो । निर्माण कम्पनीले दुई पटक म्याद थप्दा पनि काम नसकेपछि सरकारले तेस्रो पटक म्याद थपेको हो । छोटो अवधिका लागि म्याद थप भए पनि निर्माण प्रगति हेर्दा थप म्यादमा पनि कार्यसम्पन्न हुनेमा आशङ्का गरिएको छ । इञ्जिनियर खनालले भने यो अन्तिम पटकका लागि म्याद थप भएकाले निर्माण पक्षले समयमै कामसक्ने अपेक्षा लिएको बताउनुभयो ।

निर्माण कम्पनीले सरकारी पक्षलाई दिएको जानकारीअनुसार पूर्वी खण्डमा कामदार र कर्मचारीसहित एक सय ९८ जना खटिएका छन् । वर्षाले सडकमा पहिरो जाने र अवरुद्ध हुनसक्ने स्थानमा प्राथमिकता दिएर कामदार खटाएको निर्माण कम्पनीले जनाएको छ । “सरकारले यो पटकको म्यादलाई अन्तिम पटक भनेकाले ठेकेदार कम्पनीले यसलाई अन्तिम अवसर ठानेर काम गर्ने छ भन्ने हामीले ठानेका छौँ”, इञ्जिनियर खनालले भन्नुभयो ।

अघिल्लो वर्ष म्याद थप हुँदा सडकको भौतिक प्रगति ४२ प्रतिशत थियो । सडकको भौतिक प्रगति अहिले पूर्वी खण्डमा ५२ प्रतिशत रहेको इञ्जिनियर खनालले जानकारी दिनुभयो । एक सय १३ किमी सडकमध्ये ७० किमी चार लेन, २९ किमी चार लेनसहित दुवैतर्फ छ/छ मिटरको सर्भिस लेन, दाउन्नेमा १४ किमी तीन लेन, ६४ पुल, चार सय ६२ कल्भर्टलगायत संरचना निर्माण गर्नेगरी ठेक्का सम्झौता भएको यो आयोजनामा हालसम्म २६ दशमलव पाँच किमी चार लेन र २२ किमी दुई लेन सडक कालोपत्र, ४२ पुल र तीन सय ८० कल्भर्ट निर्माण गरिएको छ ।

विसं २०७९ साउन २२ मा सडक विस्तारको काम सम्पन्न गर्नेगरी २०७५ साल चैतमा यस सडक विस्तारको शिलान्यास गरिएको थियो । सडक विस्तारको काम समयमै सम्पन्न नहुँदा यो सडकखण्डको यात्रा निकै कष्टकर हुने गरेको छ । घाम लाग्दा धुलो र वर्षामा हिलोले गर्दा यो सडकखण्डको यात्रा अति कष्टकर हुने गरेको हो । रासस

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com