राष्ट्रपति पौडेलद्वारा तीनजना नवनियुक्त मन्त्रीलाई पद तथा गोपनीयताको शपथ
प्रकाशित मिति : फाल्गुन २१, २०८० सोमबार
राष्ट्रपति रामचन्द्र पौडेल राष्ट्रपति कार्यालय शितलनिवासमा सोमबार नवनियुक्त बिना विभागीय मन्त्रीहरू हितबहादुर तामाङ, पदम गिरी र डोरप्रसाद अर्याललाई पद तथा गोपनियताको सपथग्रहण गराउनुहुँदै । उपराष्ट्रपति रामसहायप्रसाद यादव, , प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलगायत । तस्बिर ः रत्न श्रेष्ठ / रासस
राष्ट्रपति रामचन्द्र पौडेलले तीनजना नवनियुक्त मन्त्रीलाई पद तथा गोपनीयताको शपथ गराउनुभएको छ । राष्ट्रपतिले नेपालको संविधानका धारा, ७६ को उपधारा ९ बमोजिम प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सिफारिसमा मन्त्रीमा नियुक्त हुनुभएका तीनजनालाई राष्ट्रपति कार्यालय शीलत निवासमा आज आयोजित विशेष समारोहमा सोही संविधानको धारा, ८० अनुसार पद तथा गोपनीयताको शपथ गराउनुभएको हो ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) का तर्फबाट पदम गिरी, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का तर्फबाट हितबहादुर तामाङ र राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट डोलप्रसाद अर्यालले शपथ लिनुभएको हो । उहाँहरुको कार्यभार तोकिएको छैन । राष्ट्रपति कार्यालयका अनुसार उहाँहरुको कार्यभार पछि तोकिनेछ ।
प्रधानमन्त्रीको सिफारिसमा आज गठन भएको मन्त्रिपरिषद् र त्यसको कार्यविभाजनअनुसार प्रधानमन्त्री दाहालले नै अर्थ, उद्योग, वाणिज्य तथा आपूर्ति, ऊर्जा, जलस्रोत तथा सिँचाइ, कानुन न्याय तथा संसदीय मामिला, कृषि तथा पशुपन्छी विकास, खानेपानी, गृह, परराष्ट्र, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण, भौतिक पूर्वाधार तथा यातायातलगायत नेपाल सरकार सबै मन्त्रालयको कार्यभार सम्हाल्नुहुनेछ ।
समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, सभामुख देवराज घिमिरे, प्रधानन्यायाधीश विश्वम्भर श्रेष्ठलगायत विशिष्ट व्यक्तिहरूको उपस्थिति थियो ।






