विदेशको दुःखले गाउँमा उद्यमी बनेका बलबहादुर


प्रकाशित मिति : आश्विन १४, २०८० आईतबार

गाउँमा काम गर्ने जनशक्ति नहुँदा खेतीयोग्य जमिन वनमाराले ढाक्दै गएको छ । दिनप्रति दिन गाउँ छोड्नेको सङ्ख्या बढ्दै छ ।

बागलुङको काठेखोला गाउँपालिका–२ भीमापोखराका बलबहादुर केसी भने गाउँमै व्यावसायिक बाख्रापालन गर्दै आउनुभएको छ । उहाँ पनि एक दशक बढी विदेशमा पसिना बगाएर स्वदेश फर्किनुभएको हो । उहाँले भन्नुहुन्छ “जीवनको ऊर्जाशील समय विदेशमा बित्यो । अहिले आफ्नै गाउँठाउँ र पाखापखेरा प्यारो लाग्न थालेको छ । ” बिहान उठेदेखि राति नसुतुञ्जेलसम्म बाख्राको स्याहारसुसारमा देखिने केसीसँग १२ वर्ष साउदी अरबमा दुःख गरेको अनुभव छ । साउदीमा साहुको भेडा चराउने काम गर्नुभएका उहाँ अहिले आफैँ मालिक बन्नुभएको छ ।

अनेक आवश्यकता र पारिवारिक जिम्मेवारीले सानै उमेरमा परदेशिनुपरेको दुःख सुनाउने केसी अहिले धेरै युवाका लागि प्रेरणाको स्रोत बन्नुभएको छ । स्वदेशै कामको खोजी गरेर पनि नपाएपछि विदेशिनुभएका केसीले अहिले गाउँमा थुप्रै सम्भावना देख्नुभएको छ ।

उहाँ भन्नुहुन्छ, “पशुपालन होस् या व्यावसायिक तरकारी खेती युवाका लागि प्रसस्त आयआर्जनको स्रोत यही छ । ” चार वर्षदेखि बाख्रापालनमा लाग्नुभएका केसीले गाउँमा गर्ने कामले आत्मसम्मान मिल्ने बताउनुहुन्छ । विभिन्न परिस्थितिका कारण विदेश जानुपरेको जनाउँदै अब विदेश नजाने सोच बनाएको उहाँको भनाइ छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

“पहिले पारिवारिक आर्थिक अवस्थाका कारण विदेश गइयो, विदेशमा गरेको दुःख अहिले सम्झिँदा पनि आँसु झर्छ, आफ्नो गाउँघरमा गाईभैँसी, भेडाबाख्राको गोठालो गर्दा, खेती किसानी गर्दा सानो मान्छे भइने, इज्जत नहुने भन्ने सोच साउदी पुगेपछि फेरियो, अहिले मलाई त्यस्तो लाग्दैन, जहाँ भए पनि काम सानो ठूलो हुँदैन भन्ने लाग्छ”, उहाँ भन्नुहुन्छ, “विदेश गएर केही सीप भने सिकियो, त्यहाँ सिकेको सीपले अहिले गाउँमा बाख्रापालनमा सजिलो भएको छ, अरु युवा पनि विदेशमा सीप सिकेर यहाँ आएर केही गरे हुन्थ्यो, अहिले त गाउँ सुनसान बन्न थाल्यो ।”

उहाँले गाउँमै आधुनिक खोर निर्माण गरी व्यावसायिक बाख्रापालन गर्नुभएको छ । स्थानीय र बोयर जातका गरी हाल केसीको खोरमा ४५ व बाख्रा छन् । खोर निर्माण तथा बाख्रा खरिद गर्दा करिब रु १५ लाख लगानी उहाँले गर्नुभएको छ । अहिले वार्षिक २० वटासम्म बोका बिक्री गर्दै आएको उहाँले बताउनुभयो । एउटा बोकाको रु २० देखि ३० हजारसम्म बिक्री हुने उहाँको भनाइ छ ।

उहाँले ‘केसी कृषि तथा पशुपालन फार्म’ दर्ता गरेर सञ्चालन गर्नुभएको छ । खसी बोका उत्पादन गर्नसके बजारको कुनै समस्या भएको उहाँ बताउनुहुन्छ । कुनै पनि कामलाई सम्मान गर्नसके त्यसले जीवन जिउने कला सिकाउने केसीको भनाइ छ ।उहाँले बाख्रापालनसँगै मल प्रयोग गर्ने गरी तरकारी, गोलभँेडा खेती सुरु गर्नुभएको छ । वडा कार्यालय र गाउँपालिका कार्यालयले रु ५०/५० हजार अनुदानसमेत दिएको जनाउँदै उक्त रकमबाट खोर व्यवस्थापन तथा तारबार गरेको केसी बताउनुहुन्छ । अहिले बाख्राको सङ्ख्या बढाउनेतर्फ ध्यान केन्द्रित गरेको केसीको भनाइ छ । करिब दुई सय बाख्रा पाल्ने लक्ष्य रहेको उहाँ बताउनुहुन्छ ।

उहाँ भन्नुहुन्छ, “विदेशमा यहाँको भन्दा धेरै दुःख गर्नुपर्छ, मलाई विदेशले परिश्रमको महत्व बुझायो, गाउँको माटो चिनायो, त्यहाँ जति कमाए पनि इज्जत हुँदैन, गाउँमा परिवारसँग बस्न पाइएको छ, सञ्चो बिसञ्चो हुँदा तातोपानी तताएर दिने, खाने दिने मान्छे साथमै हुन्छ, विदेशमा कसैले हेर्दैन, अहिलेका युवाले गाउँमै केही गर्नुपर्छ, यहाँ लगानी र परिश्रम गर्ने हो भने विदेशमा भन्दा बढी कमाउन सकिन्छ, राज्यले पनि सोहीअनुसारको वातावरण तयार गरि दिनुपर्छ, बजारलाई व्यवस्थापन गर्न सके यहाँ धेरै सम्भावना देखेको छु ।” रासस

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com