स्वयंसेवक परिचालनमा नियमन गरेपछि पशुपति दर्शनमा सहज


प्रकाशित मिति : आश्विन १, २०८० सोमबार

पशुपति क्षेत्र विकास कोषले स्वयंसेवक परिचालनमा नियमन गरेपछि विगतका वर्षको तुलनामा यस वर्ष पशुपति क्षेत्रमा हरितालिका (तिज) पर्व व्यवस्थित भएको छ ।

पशुपतिनाथ मन्दिर दर्शन गर्न आउने भक्तजनका लागि स्वयंसेवकमा निगरानी गरेपछि व्रतालु महिलाले सहजरुपमा दर्शन गर्न पाएका हुन् । विगत वर्षमा सयौँको सङ्ख्यामा ज्याकेट एवं परिचय पत्र बोकेका स्वयंसेवकले नै दर्शनार्थीलाई मन्दिर प्रवेशमा असहज वातावरण बनाएको सूचना पाएपछि कोषले यो वर्ष व्यवस्थित गरेको हो ।

विगत वर्षमा स्वयंसेवकले नै लाम बाहिरका मानिसलाई अनियमित रुपमा लामको बीचबाट प्रवेश गराएको सूचना पाएपछि उनलाई बाहिर निकालिएको कोषका प्रवक्ता रेवतीरमण अधिकारीले बताउनुभयो । विगत वर्षमा पशुपतिनाथ मन्दिरको मूल मन्दिर परिसर बाहिर विभिन्न सङ्घ संस्थाको ज्याकेट र परिचय पत्र लगाएर स्वयंसेवा गर्नेकै भीड लाग्थ्यो ।

कोषले स्वयंसेवक परिचालनका लागि ज्याकेटको व्यवस्था नगरेपछि पश्चिम ढोकाअघि व्रतालु महिला, सञ्चारमाध्यमका प्रतिनिधि एवं फोटो पत्रकार सीमित सङ्ख्यामा नेपाल स्काउटका स्वयंसेवक खटिएको देखिन्थ्यो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

कोषले लाम व्यवस्थापन, स्वयंसेवक परिचालन, स्वास्थ्य शिविर एवं निःशुल्क पानी वितरणलगायतमा मात्र सीमित सङ्ख्यामा स्वयंसेवकको पास दिइएको थियो । साउनको सोमबार, तीज, बाला चतुर्दशी, महाशिवरात्रि, अक्षय तृतीया, नयाँ वर्षको दिन वैशाख १ गतेलगायत पर्वमा पशुपति क्षेत्रमा खटिने भक्तजनलाई व्यवस्थित गर्न स्वयंसेवक खटाउने गरिएको थियो ।

पशुपति क्षेत्र रहेको काठमाडौँ महानगरपालिका वडा नं. ८ का अध्यक्ष आशामान सङ्गत कोषले यसवर्ष स्वयंसेवक परिचालनमा नियमन गरेकैले दिउँसोसम्म यस क्षेत्रको सिनामङ्गल–चावहिल क्षेत्रको चक्रपथमा सहज रुपमा सवारी चलेको बताउनुभयो ।

पशुपति क्षेत्रभित्र पनि तीज पर्व व्यवस्थित देखिएको उहाँको अनुभव छ । पशुपति क्षेत्रमा स्वयंसेवकलाई अनावश्यक रुपमा नखटाउन स्थानीय सरकारका तर्फबाट वडा कार्यालयले पनि अनुरोध गरेको वडाअध्यक्ष सङ्गतले सुनाउनुभयो ।

असोज १ गते आज विश्वकर्मा पूजा परेकाले हिजो अस्तिका तुलनामा कम सवारी सडकमा गुडेको देखिन्छ । यसका कारण पनि केही मात्रामा भक्तजन घटेको हो कि भन्ने अनुमान रहेको उहाँले बताउनुभयो ।

जुत्ता चप्पल कक्षमा पर्याप्तमात्रामा झोला
गत वर्षहरुमा लाम बस्नुअघि भक्तजनले जुत्ता राख्नकै लागि झोला खोज्न नै समस्या हुन्थ्यो । तर यसवर्ष भने चार वटै लामबाट पुगिने जुत्ता चप्पल कक्ष नजिक झोलाको थुप्रो राखिएकाले भक्तजनलाई सहज भएको भक्तपुरको कटुञ्जेबाट आउनुभएकी दर्शनार्थी अस्मिता ढुङ्गेलले बताउनुभयो ।

तिजका अवसरमा चारै वटा सुरक्षा निकायले समन्वयात्मक रुपमा पशुपति क्षेत्रमा सुरक्षा दिएका छन् । आज पशुपतिनाथको दर्शनमा आउने व्रतालु भक्तजनका लागि सहज बनाउन चार स्थानबाट लामको व्यवस्था गरिएको छ ।

कोटेश्वर–तीनकुने –सिनामङ्गल क्षेत्रबाट आउने भक्तजनका लागि तिलगङ्गा पर्यटक टिकट काउन्टर क्षेत्रबाट प्रवेश गरी राममन्दिर–आर्यघाट क्षेत्र हुँदै पूर्वी ढोकाबाट पशुपतिनाथ मन्दिर प्रवेश गरेका छन् । यो पहिलो लाम हो । यो मार्गबाट प्रवेश गर्ने भक्तजनको जुत्ता चप्पल आर्यघाट जाने वाग्मती नदीमाथिका दुई पुल पार गरेपछिको मध्य क्षेत्रमा राखिएको छ ।

दोस्रो लाम मित्रपार्क क्षेत्रबाट प्रवेश गरेका छन् । यहाँबाट प्रवेश गर्ने भक्तजनको जुत्ता चप्पल शङ्कराचार्य मठअघिको क्षेत्रमा राखिएको छ ।

तेस्रो लाम गौशाला–पिङ्गलस्थान–पञ्चदेवल क्षेत्रबाट अघि बढ्ने व्यवस्था मिलाइएको छ । यहाँबाट प्रवेश गर्ने भक्तजनको जुत्ता चप्पल बज्रघरअघिको भागमा राखिएको कोष संस्कृति संरक्षण महाशाखा प्रमुख गौरीशङ्कर पराजुलीले बताउनुभयो ।

चौँथो लाम गुह्येश्वरी–उमाकुण्ड–कैलाश दक्षिण भाग हुँदै पशुपतिनाथ मन्दिरमा प्रवेश गरिरहेको छ । यो मार्गबाट प्रवेश गर्ने भक्तजनको जुत्ता चप्पल गुरु मन्दिरअघिको खुला भागमा राखिएको छ ।

दर्शनार्थीको मोबाइल कोषको नियन्त्रणमा
पशुपतिनाथ मूल मन्दिर र त्यस परिसरको तस्बिर एवं भिडियो खिचेमा मोबाइल जफत गरी नगद जरिवाना गर्ने गरी कोषले नियम बनाएको थियो । यो नियमअनुसार करिब आज मात्रै एक सयभन्दा बढी दर्शनार्थीले खल्तीबाट मोबाइल निकाल्ने बित्तिकै कोषका कर्मचारी र सुरक्षाकर्मीले नियन्त्रणमा लिएका छन् । तस्बिर र भिडियो नखिची निकालेको अवस्थामा नियन्त्रणमा लिइएको मोबाइल दर्शनार्थी दर्शन गरेर फर्कने क्रममा फिर्ता गरिएको कोषका कार्यकारी निर्देशक डा घनश्याम खतिवडाले राससलाई जानकारी दिनुभयो ।

दिउँसो तीन बजेसम्म कुनै पनि भक्तजनको मोबाइलबाट पशुपतिनाथ मूल मन्दिरको तस्बिर खिचिएको छैन । तस्बिर नै खिचेका मोबाइल भने फिर्ता नगरिने कोषले जनाएको छ । तस्बिर मोबाइलबाट मेटाउँदा पनि प्रविधिका माध्यमबाट त्यसलाई पुनस्र्थापित गर्न सकिने भएकाले तस्बिर र भिडियो खिच्ने भक्तजनको मोबाइल फिर्ता नगर्ने गरी कोषले नियम बनाएको हो । पशुपतिनाथको मूल मन्दिर परिसरको तस्बिर र भिडियो सनातनकालदेखि नै खिच्न नपाउने नियम छ ।

हालै सामाजिक सञ्जालमा पशुपतिनाथ मूल मन्दिरको भिडियो र तस्बिर भाइरल गराइएकाले कोष यो वर्षको तिजमा कडा रुपमा प्रस्तुत भएको हो । यसलाई आगामी पर्व एवं दैनिक दर्शनार्थीका लागि लागू गरिने भएको छ । पछिल्लो समय सबैका हातमा मोबाइल हुने भएकाले चलाएजसरी तस्बिर खिच्ने क्रम बढ्न थालेपछि नगद जरिवानासहित कारबाही सुरु गरिएको हो ।

सनातनकालदेखि तस्बिर खिच्न मनाही गरिएको स्थानको तस्बिर खिची सामाजिक सञ्जालमा राख्ने, टिकटक बनाउने गर्ने क्रम बढ्न थालेपछि कोषले यसरी कडा नियम बनाएर सशक्त रुपमा कार्यान्वयन गरेको हो । कोषले गत वर्षदेखि नै गर्भगृहको तस्बिर खिचेमा रु दुई हजार एक सय, मुख्य मन्दिरको तस्बिर खिचेमा रु एक हजार एक सय र मूल मन्दिर परिसरको तस्बिर खिचेमा रु पाँच सय जरिवाना गर्न सुरु गरिसकेको छ ।
पशुपपतिनाथ मूल मन्दिर क्षेत्रमा मोबाइलले तस्बिर खिचे नखिचेको अनुगमन गर्न कोषका कर्मचारी समूहले सूक्ष्म अनुगमन गरिरहेका छन् । यसमा कोषलाई चार वटै सुरक्षा निकायले पनि साथ दिएको छ ।

तीन बजेसम्म दुई लाख दर्शनार्थी पुगे मूल मन्दिरमा
आज दिउँसो तीन बजेसम्म तीन लाख दर्शनाथी मूल मन्दिर प्रवेश गरेको कार्यकारी निर्देशक खतिवडाले बताउनुभयो । पशुपति क्षेत्र प्रवेश गरी गजुरको दर्शन गर्ने भक्तजनको सङ्ख्या भने पाँच लाख नाघेको कोषले जनाएको छ ।

पशुपति क्षेत्र गई मूल मन्दिरभित्र प्रवेश गरी दर्शन गर्न नसकिने भएमा गजुरको दर्शन गरेर पनि फर्कन सकिने शास्त्री नियम रहेको धर्मशास्त्रविद् प्रा डा देवमणि भट्टराईले बताउनुभयो । तीन बजेपछि पशुपति क्षेत्रमा भक्तजनको चाप बढ्न थालेको छ । कोषले आज बेलुकी सात बजेसम्म मूल मन्दिरभित्र महिला व्रतालुलाई मात्र दर्शनका लागि प्रवेश गर्न दिने नियम बनाएको छ ।

नित्य दर्शन गर्न आउने पुरुष दर्शनार्थीलाई भने कोषले बिहान छ बजेअघि नै दर्शन गराएको थियो । आज बेलुकी लाममा आउनेजति सबैलाई दर्शन गर्न दिने कोषले जनाएको छ । महिलालाई भने सुरक्षाका कारण राति नौ बजेपछि मन्दिर क्षेत्रमा नआउन कोषले अनुरोध गरेको छ ।

दर्शनार्थीको रुचि सेल्फी, टिकटकमा
तिजका अवसरमा पशुपति क्षेत्रमा दर्शन गर्न आउने महिला व्रतालुमा पशुपति क्षेत्रको पृष्ठभूमि आउने गरी सेल्फी, टिकटक लोभ देखिएको छ । सामाजिक सञ्जालनमा तीजका बेलामा पशुपति क्षेत्रमा खिचिएका सेल्फी, टिकटक पोष्ट गर्ने चलनले सेल्फी र टिकटक बनाउनेको सङ्ख्या धेरै देखिएको दक्षिणकालीबाट आउनुभएकी दर्शनार्थी रश्मी बस्नेतले बताउनुभयो ।

दर्शनार्थी महिलाहरु नाचगानमा पनि उत्तिकै रमाएको देखिन्छ । साउण्ड सिस्टममा बजिरहेका गीतमा नाचगान गर्ने भक्तजनको सङ्ख्या पनि धेरै छ । त्सैले यस पर्वका अवसरमा निराहार अर्थात् पानी नपिई व्रत बस्ने गरेपनि पानी र जुस खानेका लागि भने पशुपति क्षेत्रका धेरै ठाउँमा यस्तो व्यवस्था गरिएको छ । निःशुल्क रुपमा गरिएको यो व्यवस्थामा सहभागी हुने भक्तजन पनि छन् ।

पशुपति क्षेत्रमा नेपाली सेना, शान्ति सेवा गृहलगायत संस्थाले निःशुल्क स्वास्थ्य शिविर पनि आयोजना गरेका छन् । यहाँबाट लाभ लिने भक्तजन पनि धेरै छन् । रासस

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com