जन्मथलो सुन्तलाबारीवासीको सम्झनामा नेम्वाङ


प्रकाशित मिति : भाद्र २७, २०८० बुधबार

इलाम नगरपालिका–७ स्थित सुन्तलाबारीमा जन्मनुभएका संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनपछि मङ्गलबार इलामसहित देश नै शोकमग्न बन्यो । मङ्गलबारको अप्रिय खबर सुनेर सुन्तलाबारीका कृष्ण श्रेष्ठ बुधबार बिहानै नेम्वाङको जन्मघर पुग्नुभयो ।

नेम्वाङको छिमेकीसमेत रहनुभएका श्रेष्ठले भन्नुभयो, “हिजो दिनभर घरमै बसे । आज बिहानै उठेर उहाँ जन्मिएको घरमा गएँ । ताल्चा लगाएको सुनसान घरको वरिपरि हेरेँ । विगतका मीठा पल सम्झिएँ । विरक्त लाग्यो ।”

अब फेरि देशले उहाँजस्तो अर्को सुवासचन्द्र पाउन मुश्किल हुने उहाँ बताउनुहुन्छ । “उहाँ हाम्रो देशको गहना हुनुहुन्थ्यो, नेम्वाङले इलाममा सम्झनायोग्य थुप्रै काम गर्नुभएको छ । इलामको मात्र होइन झापा, पाँचथर र ताप्लेजुङको विकासका लागि पनि महत्त्वपूर्ण योगदान पुर्याउनुभएको छ”, श्रेष्ठले भन्नुभयो । इलाम क्षेत्र नं २ को पश्चिमी क्षेत्रमा करिब रु छ अर्बको लागतमा निर्माणाधीन सडक बनाउनुमा नेम्वाङको योगदान अतुलनीय रहेको उहाँको भनाइ छ ।

यस्तै इलामको गहनाका रूपमा सानिमा हाइड्रोबाट सोयाङ हुँदै इलाम जोड्ने बाटो बनाउन नेम्वाङको महत्त्वपूर्ण योगदान रहेको श्रेष्ठले बताउनुभयो । इलामका महत्त्वपूर्ण स्थानको विकासका लागि र व्यापारिक क्षेत्रलाई उक्त सडकले ठूलो टेवा पुर्याउने उहाँको विश्वास छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

नेम्वाङले सहयोग गरेकै कारण इलाममा कोल्डस्टोर, सिटीमार्ट, गौतमबुद्ध सभाहलजस्ता संरचना निर्माण भएको सुन्तलाबारीकी सुशीला नेम्वाङको भनाइ छ । नगरलाई विभिन्न गाउँसँग जोड्ने सडक निर्माणका लागि दातृ निकायसँग सम्पर्क गरेर नेम्वाङले योजना ल्याएको उहाँले सुनाउनुभयो । टेलिफोन विस्तार, विद्युतीय विस्तारमा टेवा पुर्याउनुका साथै इलाम अस्पताललाई गुणस्तरीय अस्पताल बनाउन नेम्वाङले महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुभएको सुशीलाको भनाइ छ ।

सुन्तलाबारी गाउँका ९२ वर्षीय रनबहादुर लिम्बूले विगत सम्झँदै भन्नुभयो, “उहाँको धेरै नबोल्ने गम्भीर स्वभाव थियो । गाउँमा कोहीले झगडा ग¥यो भने ऊ रुन्थ्यो”, राईले भन्नुभयो, “भैझगडा मन नपराउने, धेरै नबोल्ने स्वभाव थियो ।” गएको आम निर्वाचनमा आफूलाई भेटेको स्मरण गर्दै राई भन्नुहुन्छ, “आशीर्वाद चाहियोभन्दा मैले चिताएको पुगोस् भनेको थिएँ । म जीवितै छु ऊ बितेको खबर सुन्दा मेरो भक्कानो छुट्यो ।”

इलामको सुन्तलाबारीमा बाबु रामबहादुर नेम्वाङ र आमा अपिन्द्रकुमारीको कोखबाट २००९ फागुन २८ गते जन्मिनुभएका नेम्वाङले आफ्नो बाल्यकाल त्यहीँ बिताउनुभएको थियो । बुवा अदालतको न्यायाधीश भएकाले नेम्वाङले इलाम सदरमुकामको सुन्तलाबारीस्थित आफ्नै घरमा बसेर विद्यालय र उच्च शिक्षा लिनुभयो । उहाँले कानुनमा स्नातक अध्ययन गर्नुभएको थियो ।

इलाम क्षेत्र नं २ बाट पाँचौँपटक संसदीय निर्वाचनमा निर्वाचित प्रतिनधिसभा सदस्य नेम्वाङको निधनपछि इलाम स्तब्ध बनेको छ । यतिबेला यहाँका सबै राजनीतिक दलका नेता, कार्यकर्ताको एउटै बोली सुनिन्छ, ‘इलामको मियो ढल्यो’ । विसं २०७९ को निर्वाचनमा नेम्वाङ आफ्नै ३० वर्षदेखिको विरासत जोगाउँदै एक सय १४ मतान्तरले विजयी बन्नुभएको थियो । नेम्वाङले ३० हजार २० मत ल्याउँदा कांग्रेस जिल्ला सभापति डम्बर खड्काले २९ हजार नौ सय छ मत ल्याउनुभएको थियो । नेम्वाङले निर्वाचन जितेको इलाम क्षेत्र नं २ मा इलाम र देउमाई नगरपालिका, माङ्सेबुङ, चुलाचुली, फाकफोकथुम गाउँपालिका, माई नगरका वडा ६, ७, ८ पर्छन् ।

विसं २०७४ को प्रतिनिधिसभा निर्वाचनमा नेम्बाङ इलाम–२ बाटै ३६ हजर पाँच सय १७ मत ल्याएर विजयी बन्नुभएको थियो । प्रतिद्वन्द्वी नेपाली कांग्रेसका केशव थापाले २६ हजार आठ सय ६० मत ल्याउनुभएको थियो । २०६४ सालको संविधानसभा निर्वाचनमा नेम्वाङले १७ हजार सात सय ४८ मत ल्याउँदा कांग्रेसका केशव थापाले १४ हजार ४४ मत ल्याउनुभयो । विसं २०७० को संविधानसभा निर्वाचनमा नेम्वाङले १४ हजार नौ सय ३० मत ल्याउँदा कांग्रेसका भेषराज आचार्यले १२ हजार आठ सय २८ मत ल्याउनुभएको थियो । रासस

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com