तरकारी बेचेर आत्मनिर्भर बन्दै महिला


प्रकाशित मिति : श्रावण २७, २०८० शनिबार

म्याग्दीको बेनी नगरपालिका–२ खबराकी ५४ वर्षीया पवित्रा कार्कीको दैनिकी दुई किलोमिटरको दूरी पार गर्दै आफ्नै बारीमा फलेको तरकारी लिएर बेनी बजारमा बेच्नमै व्यस्त हुन्छ । प्रत्येक साँझ बारीमा फलेको तरकारी टिपेर घरको छानामाथि शीतमा राख्ने र भोलिपल्ट बिहानै ती तरकारीलाई डोकोमा बोकेर बजारसम्म पुर्‍याएर बिक्री गर्ने उहाँको दैनिकी नै बनेको छ ।

उहाँले मौसमअनुसार तरकारी खेती गर्नुभएको छ । दैनिक कति किलो तरकारी बिक्री हुन्छ यसको कुनै हिसाब नै छैन उहाँसँग । “आफ्ने बारीमा फलाएको तरकारीको के हिसाब राख्नु र ? बारीबाट टिप्यो, डोकोमा हाल्यो, भोलिपल्ट बिहानै बजार ल्यायो, बेच्यो, सिद्धियो”, कार्कीले भन्नुभयो, “अन्तबाट खरिद गरेर बेच्ने भए पो यति किलो खरिद गरेँ भन्ने हिसाब हुन्छ । यी सबै आफ्नै बारीमा फलाइएका हुन् ।”

कार्कीले १० वर्षदेखि यसैगरी डोकोमा बोकेर तरकारी बेच्दै आउनुभएको छ । बेनी बजारमा उहाँलाई ‘तरकारी आमै’ भनेर चिन्ने र बोलाउने गरेका अनुभव सुनाउनुभयो । प्रत्येक बिहान बेनी बजारका घरघरमा तरकारी पु¥याउने कार्काीले दैनिक एक डोका तरकारी बिक्री गरेर रू दुई हजारदेखि रू तीन हजारसम्म कमाउने गरेको बताउनुभयो । उहाँका अनुसार गत जेठदेखि साउनको तेस्रो सातासम्म बर्खे तरकारी बेचेर रू दुई लाख बढी कमाइ भएको छ ।

मौसम अनुसारका तरकारी बढी बिक्री गरे पनि साग र धनियाँ भने कहिल्यै नछुट्ने कार्कीले बताउनुभयो । “दैनिक थोरै भनेको रू दुई हजार आम्दानी हुन्छ । प्रायः तीन हजार पाँचसयसम्म भइरहन्छ । बर्खे तरकारी बेचेर रू दुई लाख ६५ हजार कमाएछु”, उहाँले भन्नुभयो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

तरकारीबाट कमाएको पैसाले कार्कीले म्याग्दीको पर्यटकीय स्थल लभ्लीहिलमा चारतले पक्की घर बनाउनुभएको छ । कार्कीका पति चन्द्रबहादुर र छोरा नारायणले गाउँमा नै तरकारी खेती गर्नुहुन्छ । चन्द्रबहादुर जिल्लाकै अगुवा कृषक हुनुहुन्छ ।

कार्कीले झैँ आफ्नै बारीमा फलेको तरकारी बेचेर विगत पाँच वर्षदेखि घर चलाउँदै आउनुभएको छ मंगला गाउँपालिकाकी चन्द्रमाया सापकोटाले पनि । ३८ वर्षिया सापकोटाको दैनिक रू सात सयदेखि एक हजारसम्म आम्दानी हुने गर्दछ । उहाँले बर्खे बालीभन्दा हिउँदे बालीबाट बढी आम्दानी गर्ने गरेको बताउनुभयो ।

“हिजोआजको समयमा फलेको तरकारीबाट भन्दा हिउँदे बाली चना, केराउ, साग, जाँतोमा पिसेको दाल र अन्य गेडागुडीबाट मैले दिनको रू एक हजार पाँच सयसम्म आम्दानी गरेको छु”, उहाँले भन्नुभयो ।

कार्की र सापकोटा जस्तै जिल्लाका धेरै महिला पछिल्लो समय तरकारी खेतीबाट आत्मनिर्भर बन्दै गएका छन् । जिल्लाका कृषकले अहिले गोलभेँडा प्रतिकिलो रू एक सय ५० सम्ममा बिक्री गर्दै आएका छन् । वर्षाको समयमा यहाँका किसानले आलु, प्याज, बर्खे खुर्सानी, भेन्टा रायोको सागलगायत हरियो तरकारी बेच्ने गर्दछन् ।

साथीले गरेको देखेर आफूले पनि सकिँदो रहेछ भनेर तरकारी खेती सुरु गरेको स्थानीय अप्सरा घिमिरेले बताउनुभयो । बारीमा फलेको तरकारीलाई नजिकको बजारसम्म ल्याएर बेच्न सुरुसुरुमा लाज लागेको भन्दै उहाँले अहिले त उमेरले साथ दिएसम्म यही व्यापार गर्ने बतानुभयो ।

“बजारका घरघरमा डुलाएर बेच्न मलाई पहिला त लाज लागेको थियो । अहिले आफ्नो पेसारव्यापार हो भन्ने बुझेको छु । अब सकुञ्जेल यही काम गर्ने हो”, अप्सराले भन्नुभयो । उहाँका अनुसार बेनी बजारमा प्रत्येक बिहान अग्र्यानिक तरकारी किन्ने ग्राहकको भीड देख्न सकिन्छ । प्रायः ‘मर्निङ वाक’ गर्नेले तरकारी किनेर लैजाने गर्दछन् । रासस

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com