बाइडेनले बेलुका ५:१५ मा कार्यकारी आदेश र राष्ट्रपतीय कदमहरुमा हस्ताक्षर गर्ने
प्रकाशित मिति : माघ ७, २०७७ बुधबार
अमेरिकी राष्ट्रपति जो बाइडेनले बेलुका ५:१५ बजे ह्वाइटहासमा कार्यकारी आदेश र राष्ट्रपतीय कदमहरुमा हस्ताक्षर गर्ने भएका छन् । राष्ट्रपतिले आज अध्यागमन र जलवायु सम्बन्धित कार्यकारी आदेशहरु जारी गर्ने अपेक्षा गरिएको छ ।
आजै बाइडेनले कागजपत्रविहिनलाई ग्रिनकार्ड हुँदै नागरिकताको बाटोमा लैजाने बिल पारित गराउनका लागि संसदसमक्ष पठाउनेछन् । त्योबाहेक अन्य कैयन बिलका लागि समेत बाइडेनले समर्थन जनाउनेछन् ।

आज बाइडेनले संघीय विद्यार्थी ऋण भएका अमेरिकन विद्यार्थीको ऋण पेमेन्ट र ब्याज स्थगित गर्न शिक्षा मन्त्रालयलाई आग्रह गर्नेछन् । साथै पेरिस जलवायु सम्झौतामा पनि अमेरिकालाई पुनस् सहभागी गराउनेछन् ।
जनवरी १ अगाडि आएका कागजपत्रविहिनलाई ग्रिनकार्डको बाटोमा लैजाने बिल सार्वजनिक गर्दै बाइडेन
डोनाल्ड ट्रम्पले विभिन्न मुस्लिम बाहुल्य देशहरुमाथि लगाएको प्रतिबन्ध बाइडेनले हटाउनेछन् । राज्यहरुबीच यात्रा गर्दा र संघीय भूभागमा मास्क अनिवार्य गर्ने नियमको घोषणा गर्नेछन् । देशब्यापी रुपमा घरनिकालामा र घर लिलामीमा रोकलाई थप गर्नेछन् ।
बाइडेन अब केहीबेरमा ह्वाइटहाउस प्रवेश गर्नेछन् । बाइडेनका साथमा उपराष्ट्रपति कमला ह्यारिस पनि ह्वाइटहाउस प्रवेश गर्नेछिन् ।
बाइडेनका १० दिने योजना सार्वजनिक: ११ मिलियनलाई कागजपत्रको बिलदेखि दर्जनौं कार्यकारी आदेश
आज बेलुका ५ बजेर ४५ मिनेटमा बाइडेनले आफूले नियुक्त गरेका कर्मचारीहरुलाई सपथग्रहण गराउनेछन् । भर्चुअल रुपमा उनीहरुलाई सपथग्रहण गराउने कार्यक्रम छ ।
बेलुका ७ बजे ह्वाइट हाउस प्रेस सेक्रेटरीको पहिलो पत्रकार सम्मेलन आयोजना गरिदैछ ।





