जनवरी १ अगाडि आएका कागजपत्रविहिनलाई ग्रिनकार्डको बाटोमा लैजाने बिल सार्वजनिक गर्दै बाइडेन


प्रकाशित मिति : माघ ७, २०७७ बुधबार

❒ आज सपथग्रहणपछि नवनिर्वाचित अमेरिकी राष्ट्रपति जो बाइडेनले जनवरी १ अगाडि आएका कागजपत्रविहिनलाई ग्रिनकार्डको बाटोमा लैजाने बिल सार्वजनिक गर्दै

बिल पारित भएमा जनवरी १, २०२१ सम्म अमेरिकामा रहेका आप्रवासीहरु यो बाटोबाट ग्रिनकार्ड हुँदै नागरिकताको बाटोमा जान योग्य हुने

❒  बाल्यकालमा अमेरिका आएका र डाकाले समेटेका कागजपत्रविहिनहरु, टीपीएसले समेटेकाहरु र अत्यावश्यक कामदारहरु यो प्याकेज अन्तरगत ग्रिनकार्ड हुँदै नागरिकताको बाटोमा जान योग्य हुनसक्ने

❒  बृहत अध्यागमन बिल पारित भएमा अमेरिकामा रहेका २५ हजार भन्दा धेरै नेपालीहरु ग्रिनकार्ड हुँदै अमेरिकी नागरिकताका लागि योग्य हुनसक्ने

❒ खसोखासमा थप समाचारहरुका लागि यहाँ क्लीक गर्नुहोला ।

 

आज सपथग्रहणपछि नवनिर्वाचित अमेरिकी राष्ट्रपति जो बाइडेनले जनवरी १ अगाडि आएका कागजपत्रविहिनलाई ग्रिनकार्डको बाटोमा लैजाने बिल सार्वजनिक गर्दैछन् । लाखौं कागजपत्रविहिनलाई ग्रिनकार्ड हुँदै नागरिकताको बाटोमा लैजाने उक्त बिल कार्यान्वयन हुनका लागि संसदका दुबै सदनबाट पारित हुन जरुरी छ ।

बाइडेनले समर्थन गर्ने यो बिल पारित भएमा जनवरी १, २०२१ सम्म अमेरिकामा रहेका कागजपत्रविहिन आप्रवासीहरु यो बाटोबाट ग्रिनकार्ड हुँदै नागरिकताको बाटोमा जान योग्य हुनेछन् ।

डाका र टीपीएसले समेटेकाहरु तथा कृषि कामदारहरु अन्य मापदण्ड पूरा गरेको खण्डमा तत्कालै ग्रिनकार्डका लागि योग्य हुनसक्नेछन् । अरुका लागि ग्रिनकार्ड प्राप्त गर्न ५ बर्ष अस्थायी स्टाटसमा बस्नुपर्ने हुनसक्छ ।

 

नागरिकता पाउन ८ बर्ष

यो प्याकेजको केन्द्रमा रहेको मुख्य लाखौं कागजपत्रविहिनलाई ग्रिनकार्ड हुँदै नागरिकताको बाटोमा लैजाने नै हो । त्यसका लागि ८ बर्षको बाटो बनाइनेछ । अर्थात् उनीहरुले नागरिकता प्राप्त गर्न ८ बर्ष लाग्नसक्छ ।

योग्य आवेदकले सुरुमा ५ बर्षको अस्थायी स्टाटस प्राप्त गर्नेछन् । त्यसका लागि कर तिरेको, अपराध नगरेको लगायतका मापदण्डहरु पूरा गर्नुपर्नेछ ।

 

योग्य कागजपत्रविहिनहरुले ५ बर्षपछि अमेरिकाको ग्रिनकार्ड प्राप्त गर्नेछन् । सामान्यतया अरु व्यक्तिले ग्रिनकार्ड प्राप्त भएको ५ बर्षमा अमेरिकी नागरिकताका लागि आवेदन दिन योग्य हुने भएपनि प्याकेजले समेटेकाहरु भने ३ बर्षमा नै नागरिकताका लागि आवेदन दिन योग्य हुनेछन् । यसरी ग्रिनकार्ड हुँदै नागरिकता प्राप्त गर्दासम्म ८ बर्ष लाग्न सक्नेछ ।

को को योग्य हुनेछन्?

यो प्याकेज अनुशार ग्रिनकार्ड हुँदै नागरिकताको बाटोमा जानका लागि को को व्यक्ति योग्य हुनेछन् भन्नेबारे अहिलेसम्म स्पष्ट छैन । तर बाल्यकालमा अमेरिका आएका र डाकाले समेटेका कागजपत्रविहिनहरु, टीपीएसले समेटेकाहरु र अत्यावश्यक कामदारहरु यो प्याकेज अन्तरगत ग्रिनकार्ड हुँदै नागरिकताको बाटोमा जान योग्य हुनसक्ने जनाइएको छ ।

जनवरी १ सम्म अमेरिकामा आइसकेकाहरुलाई बिलले समेट्ने भएकाले सिमाबाट अमेरिका छिर्न अब हतार गर्नेहरुलाई कुनै फाइदा हुनेछैन ।

फोटो: अधिकार

निश्चित अवधिभन्दा अगाडि अमेरिका आएका कागजपत्रविहिनहरु पनि यो प्याकेज अन्तरगत ग्रिनकार्ड हुँदै नागरिकताका लागि योग्य हुनसक्नेछन् । त्यसो भएमा जनवरी १ भन्दा अगाडि अमेरिका आएका एसाइलम पेन्डिंग रहेका लगायत सबै कागजपत्रविहिनहरु ग्रिनकार्ड हुँदै नागरिकताका लागि योग्य हुनसक्नेछन् ।

को हुन् अत्यावश्यक कामदार ?

कुन कुन श्रेणीका अत्यावश्यक कामदारहरु यो प्याकेजमा समेटिनेछन् भन्ने प्याकेजको पूर्ण पाठ सार्वजनिक भएपछिमात्र थाहा हुनेछ । तर अहिले डेमोक्रेटिक सांसदहरुले खेतीपाती र कृषि उत्पादनमा काम गर्ने, मासु उद्योगहरुमा काम गर्ने लगायतलाई ग्रिनकार्ड हुँदै नागरिकताको बाटोमा लैजानुपर्नेमा जोड दिएका छन् ।

यदि यो प्याकेज पारित भएमा अमेरिकाको इतिहासमा सन् १९८६ यताकै बृहत प्याकेज हुनेछ । सन् १९८६ मा राष्ट्रपति रोनाल्ड रेगनका पालामा अध्यागमन सुधार तथा नियन्त्रण ऐन १९८६ ल्याइएको थियो । उक्त बिलले ३० लाख कागजपत्रविहिनलाई वैद्य स्टाटस प्रदान गरेको थियो ।

को हुन् ११ दशमलव ९ मिलियन कागजपत्रविहिन?

अमेरिकी सरकारको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले सन् २०१८ को डिसेम्बरमा निकालेको एउटा तथ्यांक अनुशार अमेरिकामा सन् २०१५ को जनवरी १ अगाडि अमेरिका आएका ११ दशमलव ९६ मिलियन कागजपत्रविहिनहरु रहेका छन् । डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीको तथ्यांक सन् २०१५ पछाडिको सार्वजनिक भएको छैन ।

झण्डै ११ मिलियन कागजपत्रविहिनहरुमध्ये झण्डै ५ मिलियन मेक्सिकनहरु रहेका छन् । झण्डै २ मिलियन मध्य अमेरिकनहरु रहेका छन् भने झण्डै डेढ मिलियन एसियनहरु रहेका छन् । कागजपत्रविहिन ११ मिलियनमध्ये झण्डै दुई तिहाई १० बर्षभन्दा बढी अमेरिकामा बस्दै आएकाहरु छन् । ५ बर्षभन्दा कम समयदेखि अमेरिकामा बसेका कागजपत्रविहिनहरु २० प्रतिशत रहेका छन् ।

झण्डै ८ लाख कागजपत्रविहिनलाई डाकाले समेटेको छ । झण्डै ४ लाखलाई टीपीएसले समेटेको छ । डाकाले समेटेका नेपालीहरु झण्डै ५ दर्जन रहेका छन् भने टीपीएसले समेटेकाहरु झण्डै ९ हजार छन् । अध्यागमन अदालतमा एसाइलम पेन्डिंग रहेका नेपालीहरु झण्डै ४ हजार रहेका छन् । यदि बृहत अध्यागमन बिल पारित भएमा अमेरिकामा रहेका २५ हजार भन्दा धेरै नेपालीहरु ग्रिनकार्ड हुँदै अमेरिकी नागरिकताका लागि योग्य हुनसक्नेछन् ।

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com