बेलायती भ्याक्सिनको परीक्षण अमेरिकामा, पहिलो शट कोरोनाबाट ७ जना गुमाएका युवालाई
प्रकाशित मिति : भाद्र १७, २०७७ बुधबार
अक्सफोर्ड युुनिभर्सिटीका शोधकर्ताहरुले अमेरिकामा आष्ट्राजेनेकाले बनाएको भ्याक्सिनको तेश्रो चरणको परीक्षण सुरु गरेका छन् । तेश्रो चरणको बृहत क्लीनिकल परीक्षण आजबाट सुरु गरिएपनि गत शुक्रबार नै ३१ जनालाई फ्लोरिडामा यो भ्याक्सिनको शट दिइसकिएको जनाइएको छ ।
फ्लोरिडामा गत शुक्रबार ३१ जनालाई भ्याक्सिन दिइएकोमा तीमध्ये पहिलो शट दिइएका युवाले ७ जना आफन्तहरु गुमाउने व्यक्ति रहेका छन् । अहिलेसम्म कोरोना महामारीबाट धेरैको ज्यान गइसकेकाले आफूले त्यसो हुन नदिन स्वयंसेवकका रुपमा भ्याक्सिन लिने निर्णय गरेको २३ बर्षका ज्याकोब सेरानोले बताए ।
सेरानो आष्ट्राजेनेका भ्याक्सिनको नियमित वा परीक्षणात्मक डोज लिने पहिलो अमेरिकन भएको जनाइएको छ । आजबाट सुरु गरिएको बृहत क्लीनिकल परीक्षणका क्रममा भने पहिलो डोज विसकन्सिनको मेडिसनमा रहेका स्वयंसेवकहरुलाई दिइएको छ ।
आष्ट्राजेनेकाले बेलायतको अक्सफोर्ड युनिभर्सिटीसँगको सहकार्यमा बनाएको भ्याक्सिन अमेरिकाका दर्जनौं साइटहरुमा परीक्षण गरिने भएको छ, त्यसमध्ये विसकन्सिन युनिभर्सिटी एउटा हो । मोडेर्ना र फाइजरपछि अमेरिकामा कोरोनाबिरुद्धको भ्याक्सिनको तेश्रो चरणको परीक्षण आष्ट्राजेनेकाले सुरु गर्न लागेको हो । यद्यपी मोडेर्ना र फाइजर अमेरिकन कम्पनी हुन् भने आष्ट्राजेनेका बेलायती कम्पनी हो ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नोभेम्बरको चुनाव अगाडि नै भ्याक्सिन ल्याउनका लागि दवाव दिइरहेको बखत आष्ट्राजेनेकाले तेश्रो चरणको बृहत परीक्षण अमेरिकामा सुरु गरेको हो । तर यो भ्याक्सिनको प्राथमिकत तथ्यांक नोभेम्बरको अन्तिमसाताभन्दा अगाडि नआउने अपेक्षा गरिएको छ ।
बुधबार आष्ट्राजेनेकाको पहिलो भ्याक्सिन विसकन्सिन युनिभर्सिटीका प्रमुख क्वालिटी अफिसर तथा आपतकालिन औषधी चिकित्सक डाक्टर जेफ पाथोफलाई दिइएको छ । आफू समस्याको समाधानको हिस्सा हुन चाहेकाले परीक्षणका लागि स्वीकृति दिएको उनले बताएका छन् । आगामी ८ सातासम्म हरेक साता २५० का दरले उक्त भ्याक्सिन दिइने भएको छ ।
परीक्षणका क्रममा झण्डै दुईतिहाईलाई एकमहिनाको अन्तरालमा दुईडोज पूर्ण भ्याक्सिन दिइने भएको छ । बाँकीमा भने परीक्षणमात्र गरिनेछ । भ्याक्सिन दिइसकेपछि एन्टीबडी उत्पादन गर्न झण्डै एकमहिनालाग्ने जनाइएको छ ।
अक्सोफोर्डको भ्याक्सिनमा एडेनो भाइरस नामको चर्चित भाइरसको प्रयोग गरिएको छ, जुन भाइरसका कारण सामान्य रुघाखोकी लाग्ने गर्छ । यसलाई जेनेटिकल्ली परिवर्तन गरिएकाले यसले मान्छेलाई बिरामी नबनाउने जनाइएको छ । यसले मान्छेको इम्युन सिस्टमलाई कोरानाभाइरसबिरुद्ध कसरी एन्टीबडी बनाउने भन्ने सिकाउँछ ।
अमेरिकामा मोडेर्ना र फाइजरले जुलाईको अन्तिम सातादेखि नै तीसतीस हजारमा परीक्षण सुरु गरिसकेका छन् । जोन्सन एण्ड जोन्सनले ६० हजारमा भ्याक्सिनको परीक्षण गर्ने योजना बनाएको छ । आष्ट्राजेनेकाले भने विविध प्रकारका, भिन्न भिन्न क्षेत्रका, भिन्न भिन्न जातीका मान्छेहरुमा परीक्षण गर्ने जनाएको छ ।






